१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सुनिता खनाल काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार १०:००:००
Read Time : > 1 मिनेट
साहित्य

क्वारेन्टाइनबाट  कवितावाचन

Read Time : > 1 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार १०:००:००

कवि रामगोपाल आशुतोष साँझ पाँच बजेपछि फेसबुक लाइभमा झुल्किन्छन् । र, ४५ मिनेट कवितावाचन गर्छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन लागू गरिएयता उनले सयभन्दा बढी कवितावाचन गरिसकेका छन् । लकडाउनको यो समयमा उनी स्वदेश–विदेशका अझै धेरै कविताप्रेमीका नजरमा परेका छन् । १३ चैतदेखि उनी नियमित छन् आफ्नो समयमा ।

फेसबुक लाइभमा वाचन गर्ने कविता चयन गर्दा अग्रज, समकालीन र युवा पुस्ताको क्रम मिलाउँछन् उनी । ‘त्यसमा पनि हल्ला र गुटदेखि टाढा बसेर कविता लेख्नेलाई प्राथमिकतामा राखेको छु,’ आशुतोष भन्छन्, ‘जात, लिंग, वर्ग, पद, प्रतिष्ठा वा दलभन्दा माथि उठेर कविता रोज्छु ।’ यसबीचमा उनले राम्रो प्रतिक्रिया पाएका छन्, दर्शकबाट । युवा र समकालीन पुस्तामाझ उनी प्रशंसाका पात्र बनेका छन् । दुवै पुस्ताका प्रशंसकले आपूmलाई मन पर्ने कविका कविता सिफारिस पनि गर्छन् । लकडाउन अवधिभर यसलाई निरन्तरता दिने उनको सोच छ ।

कविहरू रामगोपाल आशुतोष, सञ्जीव राई, सरू गुरागाईंलगायत स्रष्टा लकडाउनको पट्यारलाग्दो दैनिकीमा रहेका साहित्यानुरागीलाई कवितावाचनमार्फत मनोरञ्जन दिलाउन लागिपरेका छन् ।

देशव्यापी लकडाउनका कारण स्रष्टा र साहित्यानुरागी सबै फुर्सदमा छन् । र, उनीहरूलाई जोडिदिएको छ, फेसबुक लाइभले । यही अवसरको सदुपयोग गरिरहेका छन्, कवि सञ्जीव राईले पनि । उनी पनि दैनिक फेसबुक लाइभमा आउँछन् र कवितावाचन गर्छन् । पुरानो र नयाँ पुस्ताले एक–अर्कालाई सुनून् एवं उनीहरूका सिर्जना पाठकसम्म एकसाथ पुगून् भन्ने चाहन्थे उनी ।

सुरुमा कुनै योजनाविनै फेसबुक लाइभमा कवितावाचन गर्न थालेका हुन् उनले । हालसम्म सबै पुस्ताका कविका दुई सयभन्दा बढी कवितावाचन गरिसकेका छन् । कहिलेकाहीँ एकै दिन दुई दर्जन कविता पनि वाचन गर्छन् उनी । सोही कारण दर्शकमाझ लोकप्रियता कमाएका छन् राईले ।

‘मैले चाहेको भए आफूलाई मन परेका कविका मात्र कविता छानेर वाचन गर्थेँ, तर त्यसो गरिनँ,’ उनी भन्छन्, ‘प्लेटफर्मबाट टाढा रहेकाहरूलाई पनि उत्तिकै स्थान दिएको छु ।’ उनलाई कविता संकलनमा सुमन पोखरेल, उषा शेरचन, सिजन श्रेष्ठ, रुमानी कुलुङ, मनोज बोगटीलगायत कविले सघाएका छन् ।

देशव्यापी लकडाउनका कारण स्रष्टा र साहित्यानुरागी सबै फुर्सदमा छन् । र, उनीहरूलाई जोडिदिएको छ फेसबुक लाइभले ।

कवि सरू गुरागाईंले पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत दर्शकको ध्यान तानिरहेकी छिन् । कवि देवी नेपालको ‘निस्कन्नँ भो बाहिर’ कवितावाचनपछि उनको चर्चा चुलिएको छ । अमेरिका बस्दै आएकी उनी कविता लेखनभन्दा वाचनमा बढी रुचि राख्छिन् । उनको शैली केही भिन्न छ । बढी छन्द कवितावाचन गर्छिन् । छन्दमा रचना गरिएका पूर्ण कृति नै पनि वाचन गर्छिन् उनी ।

पहिले अडियोवाचन मात्र सामाजिक सञ्जालमा राख्थिन्, अहिले भिडियोसहित आइरहेकी छिन् । उनको रुचि बढी शार्दुलविक्रिडित छन्दमा छ । तथापि, सबै छन्दमा वाचन गर्ने दखल राख्छिन् गुरागाईं । सामाजिक सञ्जालमा उनले वाचन गरेका ‘घटनैघटना’ ‘छोरीको बिदाइ’, ‘परदेशमा म’ ‘विज्ञानको दुर्दिन’, ‘कर्मघरको यात्रा’जस्ता कविता उपलब्ध छन् । सुन्नेभन्दा हेर्ने जमाना आएकाले आफू भिडियोमा पनि देखिन थालेको उनी बताउँछिन् ।