१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
साझना तोलांगे
२०७७ बैशाख ११ बिहीबार ०८:५०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कोरोनाको मनोसामाजिक प्रभाव

Read Time : > 3 मिनेट
साझना तोलांगे
२०७७ बैशाख ११ बिहीबार ०८:५०:००

के मनमा लागेको चोट निको हुन्छ ? मनभित्रको चोट निको बनाउने कुनै औषधि बनेको छ त ? मनलाई कुँडाएर, दिमाग र शरीरका कोष–कोषलाई रिंखाएर पीडा दिने पिरमर्काको भारी कहाँ गएर बिसाउने ? मनमा लागेका घाउ देख्न सकिन्न, जबकि शरीरमा लागेका घाउ सजिलै देख्न सकिन्छ । किनकि यसका प्रमाण खुला आँखाले देख्न सकिने हुन्छन् र यस्ता घाउलाई निको बनाउने मलम बनेका छन् । तर, मनमा लागेको चोट निको पार्ने औषधि के हो, कसैले ठ्याक्कै बताउन सक्दैनन् । मनमा परेको पिर हटाउन कतिपयले मनोपरामर्शदाताको सेवा लिएको देखिन्छ भने कतिपयले डाक्टरको परामर्शमा डिप्रेसन कम गर्ने औषधि लिइरहेका हुन्छन् । हामीमध्ये धेरैजना यस्तो समूहभित्र पर्छौं, जो धेरैजसो आफ्ना दुःख आफैँभित्र लिएर बाँचिरहेका हुन्छौँ । 

मानवजातिले उत्पत्तिकालदेखि नै अकल्पनीय घटना, प्राकृतिक प्रकोप, युद्ध, महामारीजस्ता विपत् भोग्दै आइरहेको छ । नेपालमा पनि यस्ता बज्रपातबाट हजारौँ परिवार पीडित हुँदै आएका छन् । विगतमा नेपालले भोगेको गृहयुद्धले निम्त्याएको मानसिक पीडा, भौतिक क्षति र सामाजिक उथलपुथलका अवशेष अझै पनि बाँकी छन् । जाति, लिंग र भूगोलको आधारमा निर्मित सामाजिक, आर्थिक असमानता र यसले जनताको मनमा उब्जाएको नैराश्यको हल अहिलेसम्म भएको छैन । वि.सं. ०७२ को भूकम्पले धेरैको घरबार उजाड बनायो, धेरैका आफन्त घाइते भए । झन्डै आठ हजार मानिसको ज्यान गयो । सबैको वासस्थानको ठेगान भई नसक्नु, आफन्तजनसँग टाढिनु, घाइते र अपांग हुनु पीडितहरूको चिन्ताको विषय हो, जसले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाइरहन्छ । 

लिजा कियाङ, स्टिभ फोल्मर र त्रिस्टेन जेन्ट्री (सन् २०१८) ले नेपालमा गरेको अध्ययनले भूकम्पपछि बाहुन र अरू जनजाति समूह (गुरुङ)को तुलनामा दलित समूहका युवाले बढी चिन्ता, उदासीनता र न्यून आत्मसम्मान महसुस गरेको देखाएकोे छ । पिछडिएका वर्ग र समुदाय, महिला, बालबालिका दिनानुदिन हुने प्राकृतिक प्रकोप, महामारीलगायत समस्या र यसबाट उत्पन्न हुने सामाजिक, आर्थिक, राजनीतिक र मानसिक प्रभावको बढी सिकार बन्छन् । मिचाइल मारमोट र क्रिक लन्डका अनुसार आमजनसंख्यामा देखिने डिप्रेसन र एन्जाइटीजस्ता मानसिक स्वास्थ्य समस्या त्यस समाजमा विद्यमान सामाजिक र आर्थिक असमानताको प्रतिबिम्ब हो । कोरोना महामारीको असर पनि सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका वर्गमै धेरै देखिन थालिनु यसकै उदाहरण हुन सक्छ । विश्वव्यापी कोरोना महामारीले गर्दा सामाजिक, राजनीतिक, आर्थिक समस्या देखिएको छ नै, मानसिक समस्या पनि देखिन थालेको छ । नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा मानिसहरू उदासीन र त्रसित हुने क्रम बढ्दो छ । महामारीले जनजीवनमा निम्त्याइरहेको त्रास अन्त्य गर्न सरकारले यस कठिन घडीमा महत्वपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । जनताले पनि कठिन परिस्थितिमा पनि आफ्नो व्यक्तिगत र समुदायको मनोवैज्ञानिक ‘रेजिलियन्स’मा कसरी सबल बनाउने भनेर सोच्न जरुरी देखिन्छ ।

महामारी र यसको सामाजिक–मानसिक प्रभाव : कोरोनाको महामारीको मारमा सबैभन्दा बढी मात्रामा ज्यालादारी गरेर खाने समूह, सडक बालबालिका, बेघर, वृद्धवृद्धा परेका छन् । सरकारले लकडाउन गरेर जनतालाई घरभित्रै बस्न आग्रह गरेको छ । अकस्मातको लकडाउनले कोरोना महामारीको संक्रमण फैलन त रोकेको छ, तर पिछडिएका र गरिबीको पिँधमा रहेको गरिब, मजदुर र श्रमिक वर्ग आर्थिक संकट र खाद्यान्नको अभावबाट गुज्रिँदै छन् । 

महिलाका अलग दुःख छन् । उनीहरूलाई घर व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । कामकाजी महिलाहरूलाई घरायससी जीवन र पेसागत कामको सन्तुलन मिलाउन कठिन भइरहेको छ । घरायसी धन्दा र बालबच्चा स्यहार्नुपर्ने अवस्थामा उनीहरूले ‘घरबाटै काम गर्ने’ कार्यालयको नीतिमा शतप्रतिशत योगदान दिन सकिरहेका छैनन् । बच्चाहरूको स्कुल बन्द भएकाले उनीहरू मोबाइलको अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । साथीहरूसँग खेल्न जान पाउँदैनन् । यसले उनीहरूको मानसिक विकासमा नकारात्मक समस्या परिरहेको हुन्छ । यसैगरी वृद्धवृद्धाहरू छिमेकीसँग मनको बह पोख्न सक्दैनन्, जसले गर्दा सामाजिक सम्बन्ध टुटेको छ । इन्टरनेट र टिभीबाहेक अरूसँग कमै जोडिन सकेका छौँ हामीहरू ।

घरभित्र बसे पनि सरकारको तयारी, हाम्रो स्वास्थ्य क्षेत्र र त्यसले प्रदान गर्ने सेवा देखेर जनताहरू त्रसित छन् । महामारीजस्तो संवेदनशील परिस्थितिमा भइरहेको कालोबजारी, सामग्री अभावको सिर्जना र भ्रष्टाचारले जनतामा असन्तुष्टि बढाएको छ । देश पूरै बन्द गरे पनि आवश्यक परेका वेला जनतालाई राहत दिने सरकारले हिँडडुलदेखि खाद्यान्नसम्मको व्यवस्थापन पर्नुपर्छ । जीवनमा धेरै पक्षबाट हुने असन्तुष्टिले जनतालाई मानसिक, भौतिक र सामाजिक रूपमा कमजोर बनाइराखेको हुन्छ । जनतालाई त्रसित बनाउने माध्यममध्ये एउटा हो– सामाजिक सञ्जालका विभिन्न पोस्टले कोरोना सम्बन्धमा फैलाइरहेको अफवाह । 

रेजिलियन्स र हाम्रो भूमिका : पिछडिएको समुदायको परिवारमा कुनै वज्रपात पर्दा तिनले त्यो स्थितिसँग जुधेर भौतिक र मानसिक रूपमा माथि उठ्नु अर्थात् ‘रेजिलियन्ट’ हुनु सजिलो कुरा होइन । रेजिलियन्सलाई दुःखद् परिस्थतिबाट माथि उठ्नुको रूपमा बुझिन्छ । यस शब्दको प्रयोग कसरी गर्ने भन्नेमा विविधता छ । वेरनर र अन्य मनोवैज्ञानिकले तीन परिस्थितिमा यसको प्रयोग गर्छन् भनी व्याख्या गरेका छन्, उच्च जोखिम स्थितिमा पनि राम्रो विकासको परिणाम, चिन्तामा पनि निरन्तर क्षमता प्रदर्शन गर्न सक्नु र आघातबाट माथि उठ्नु । रेजिलियन्स मापन गर्न समुदायका मानिससँग केही प्रश्न सोधिन्छन् । जस्तै– नकारात्मक प्रभाव पार्ने कस्तो खालको घटना र आघातको सामना गर्नुपर्‍यो ? त्यो आघातबाट निको हुन कस्तो खालका कदम चाल्नुभयो ? त्यो घटनाबाट माथि उठ्न तपाईलाई कति समय लाग्यो ? आघातबाट माथि उठ्न कसले सहायता गर्‍यो ? यसैगरी लुथरले रेजिलियन्स दुई तत्व सकारात्मक अनुकूलन र महत्वपूर्ण कठिनाइबाट निर्माण हुन्छ भनेका छन् । त्यसैले यो कठिन परिस्थितिमा आइपरेका समस्या र प्राप्त कम सुविधालाई सहज रूपले स्विकार्दै यो कठिनाइबाट माथि उठ्नका लागि सबैले जुध्नुपर्छ । 

घरभित्र बसेर पनि भौतिक रूपमा दूरी कायम गर्दै, सामाजिक रूपमा दूरी कम गरी यो समस्या समाधान गर्न रचनात्मक र सिर्जनात्मक योजना बनाई त्यसलाई कार्यान्वयन गर्नेतिर ध्यान दिऔँ । आफूवरपरका असहायलाई सघाउ र वृद्धवृद्धा तथा बालबालिकासँग समय बिताऊँ । रेजिलियन्स वा कठिन परिस्थितिबाट माथि उठ्न अवरोध गर्ने तत्व कमजोर पूर्वतयारी पनि हो । कसैलाई पनि कोरोना महामारी आउला भन्ने थाहा थिएन, त्यसैले पूर्ण पूर्वतयारीको अपेक्षा गलत हो । तर, सबैजसो रोगसँग लड्ने गरी सामाजिक, आर्थिक र राजनीतिक विकास सही ढंगबाट हुन्थ्यो भने एक खालको पूर्वतयारी हुन सक्छ । स्वास्थ्य क्षेत्रको विकास पूर्ण रूपमा हुनु पनि पूर्वतयारीको पाटो हुन सक्थ्यो । विकास र आर्थिक उन्नतिले गरिब, पिछडिएका र श्रमिक वर्गलाई पनि समेटिएको हुन्थ्यो भने ‘कोरोनाले भन्दा पनि भोकले मर्ने भइयो’ भन्ने नागरिक अभिव्यक्ति सुन्न पर्दैनथ्यो । पूर्वतयारी नगर्ने सरकारप्रति जनताको आशा र गुनासो हुनु स्वाभाविकै हो । त्यसमाथि पनि जिम्मेवार मन्त्री नै महामारीलाई अवसर ठान्दै भ्रष्टाचारबाट व्यक्तिगत ढुकुटी भर्न लागेपछि जनतामा चोट, पिर, मर्काजस्ता मानसिक असर पर्छ र संकटबाट माथि उठ्ने शक्ति रेजिलियन्स कमजोर बन्न सक्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपमा पछाडि परेका र पारिएका समुदायलाई महामारीले अझ धेरै विचलित बनाउन सक्छ । तिनको स्थितिलाई मध्यनजर गर्दै, उनीहरूलाई दयनीय अवस्थाबाट माथि उठाउन सहयोग गरौँ ।