मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी मेलबर्न
२०७७ बैशाख ११ बिहीबार ०६:२२:००
Read Time : > 2 मिनेट
खेलकुद

कर्मचारीका लागि सुपरमार्केटमा जागिर खोज्दै क्रिकेट अस्ट्रेलिया

Read Time : > 2 मिनेट
एजेन्सी मेलबर्न
२०७७ बैशाख ११ बिहीबार ०६:२२:००

कोरोना भाइरस महामारीका कारण खेलकुद क्षेत्रमा आर्थिक संकट देखापर्न थालेको छ । सोही कारण क्रिकेट अस्ट्रेलियाले वैकल्पिक (अस्थायी) जागिरको व्यवस्थासहित आफ्नो कर्मचारी कटौती गर्ने तयारी गरेको छ । क्रिकेट अस्ट्रेलियाले कटौतीमा पर्ने कर्मचारीका लागि जागिरको व्यवस्था गर्न अस्ट्रेलियाको एक सुपर मार्केट वुलवर्थस्लाई अनुरोध गरेको छ ।

अस्ट्रेलियाका ठूलो सुपरमार्केटमध्येको वुलवर्थस् क्रिकेट अस्ट्रेलियाको प्रायोजक कम्पनीसमेत हो । क्रिकेट अस्ट्रेलियाले आगामी जुन महिनाको अन्त्यसम्मका लागि आफ्ना केही कर्मचारीलाई जागिरबाट हटाउने जनाएको छ । उनीहरूलाई सोही अवधिसम्मका लागि अस्थायी रूपमै भए पनि जागिर दिन वुलवर्थस्लाई अनुरोध गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

क्रिकेट अस्ट्रेलियाले आगामी जुन महिनाको अन्त्यसम्मका लागि आफ्ना केही कर्मचारीलाई जागिरबाट हटाउने जनाएको छ । उनीहरूलाई सोही अवधिसम्मका लागि अस्थायी रूपमै भए पनि जागिर दिन वुलवर्थस्लाई अनुरोध गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

‘यस सम्बन्धमा मैले वुलवर्थस्का प्रमुख कार्यकारी अधिकृत ब्राड बान्डुस्सीलाई इमेल लेखेको छु । उनले हाम्रो समस्या समाधान गर्न सक्नेछन् । किनभने वुलवर्थस्लाई यो समय धेरै कर्मचारीको समेत आवश्यकता छ,’ क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्टस्ले अस्ट्रेलियाको सेन रेडियोलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘त्यसका साथै हामीले छोटो अवधिका लागि कर्मचारी आवश्यक पर्ने अन्य संस्था वा उद्योगमा समेत अनुरोध गरिरहेका छौँ ।’

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण नियमित आम्दानी हुने प्रतियोगितासमेत रोकिँदा आर्थिक रूपमा ठूलो असर परेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । कोरोना भाइरस महामारीका कारण खेलकुद प्रतियोगिता रोकिनुअघि खेलिएका केही प्रतियोगितासमेत खाली रंगशालामा खेल्नुपर्दा क्रिकेट अस्ट्रेलियालाई आर्थिक रूपमा ठूलो घाटा लागेको उनले बताए ।  ‘सिजनमा टिकट बिक्रीबाट मात्रै हामी चारदेखि पाँच करोड अस्ट्रेलियन डलर आम्दानी गर्थ्यौै। जुन हाम्रा लागि साँच्चिकै ठूलो रकम थियोे, त्यसबाट हामी आफ्नो योजनाअनुसार काम गर्न सक्थ्यौँ,’ रोबर्टस् भन्छन्, ‘त्यही रकम रोकिँदा हामी यो कदम उठाउन बाध्य छौँ ।’

उनले कति कर्मचारी कटौती हुनेबारे भने केही खुलाएनन् । उनले अत्यावश्यक पर्नेबाहेकका कर्मचारी कटौतीमा पर्ने जनाए । ‘यसको निर्णय अहिले के काम भइरहेको छ र बाँकी कामका लागि कस्ता कर्मचारी आवश्यक पर्छन् भन्ने हेरेर हुनेछ,’ उनले भने । यो निर्णय लागू गर्दा राष्ट्रिय प्रशिक्षकहरूसमेत आंशिक कामदार बनेको उनले बताए ।

उनले अस्ट्रेलियन क्रिकेटलाई थप आर्थिक भारबाट जोगाउन मात्रै होइन, आफ्ना कर्मचारीको सहयोगका लागि पनि यो काम गर्नुपरेको बताउँछन् । ‘हामीले यो काम गर्नुका दुई उद्देश्य छन् । पहिलो, यो कामबाट क्रिकेट अस्ट्रेलियाले थप आर्थिक भार व्यहोर्नुपर्नेछैन,’ उनी भन्छन्, ‘त्यसका साथै क्रिकेट अस्ट्रेलिया आर्थिक संकटमा पर्दा समस्यामा परेका हाम्रा कर्मचारी पनि यो समयमा नियमित आम्दानी गर्न सक्षम हुनेछन् ।’

क्रिकेट अस्ट्रेलियाले अहिले आफ्ना कर्मचारीले नियमित तलबको २० प्रतिशत मात्रै पाइरहेको जनाएको छ । कार्यकारीहरूले भने ८० प्रतिशतसम्म तलब लिइरहेको जनाइएको छ । प्रमुख कार्यकारी रोबर्टस्ले यो तथ्यको खण्डन गरेका छन् । कामको जिम्मेवारीअनुसार तलब पाइरहेको उनले बताए । कोरोना भाइरस महामारी सुरु भएपछि क्रिकेट अस्ट्रेलियाले गरेका प्रायः निर्णयमा राज्य संघ र क्रिकेट खेलाडीको संघ (एसिए)ले फरक मत राख्दै आएका छन् ।

यद्यपि, प्रमुख कार्यकारी रोबर्टस् आफ्नो यी निर्णयमा बहुमत सरोकारवालाको साथ रहेको बताउँछन् । ‘हामीलाई थाहा छ कि कहिल्यै शतप्रतिशत मान्छे तपाईंसँग हुन्नन् । एउटा निश्चित समयमा शतप्रतिशत सरोकारवाला खुसी हुन्नन् । यद्यपि, यो संकटको समयमा हामीले जसरी काम गरिरहेका छौँ, त्यसमा ठूलो संख्याका मानिस, हाम्रा सदस्य र हाम्रा सरोकारवालाले सहजता महसुस गरेका छन्,’ उनी भन्छन्, ‘वास्तवमा यो भनिएको कुरा र वास्तविकताबीचको फरक मात्रै हो ।’