१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सिकार गरेपछि नाउरसँग फोटो खिचाउँदै सिकारी (फाइल तस्बिर)
२०७७ बैशाख १० बुधबार २१:४६:००
Read Time : > 1 मिनेट
समाचार

ढोरपाटन सिकार आरक्षमा दोस्रो सिजनको सिकार रोकियो

Read Time : > 1 मिनेट
२०७७ बैशाख १० बुधबार २१:४६:००

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा हुने दोस्रो सिजनको सिकार यसपटक रोकिएको छ ।

सिकार आरक्षमा हरेक वर्ष दुईपटक असोज–मंसिर र फागुन–वैशाखमा विभिन्न सिकार एजेन्सीमार्फत सिकार गर्नका लागि अनुमति प्रदान गर्ने गरिन्छ । यस वर्ष पहिलो सिजनमा सिकार भए पनि दोस्रो सिजनको सिकार रोकिएको हो ।

कोरोना भाइरस (कोभिड– १९) संक्रमण विश्वभर महामारीको रूपमा फैलिएपछि दोस्रो सिजनको सिकार रोकिएको हो । दोस्रो सिजनको सिकार रोकिएपछि ढोरपाटनमा साहसिक सिकार खेल्ने कार्य अनुमतिमै सीमित भएको छ ।

दश नाउर र पाँच झारलको अनुमति
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो सिजन (फागुन–वैशाख)का लागि खुला बोलपत्र आह्वानमार्फत ६ कम्पनीलाई दश नाउर र पाँच झारलको सिकार गर्न अनुमति दिएको थियो । ढोरपाटन सिकार आरक्ष कार्यालय बाग्लुङका निमित्त प्रमुख तथा सहायक संरक्षण अधिकृत रमेश यादवका अनुसार उनीहरूले टेन्डरमार्फत अनुमति पाएर कुल राजश्वकोे तीन प्रतिशत धरौटी रकमसमेत बुझाइसकेका थिए ।

कोरोना संक्रमण फैलन नदिन विश्वका अधिकांश देश लकडाउनमा छ । त्यसैले दोस्रो सिकार रोकिएको हो । विभागका व्यवस्थापन अधिकृत श्यामकुमार शाहका अनुसार कोरोना संक्रमण र लकडाउनका कारण सिकारी नआएको भन्दै कम्पनीहरूले अनुमति रद्द गर्न निवेदन दिएका थिए । उनीहरूको निवेदन वन मन्त्रालयमा पठाइएको र मन्त्रालयले सकारात्मक निर्णय गर्ने उनको भनाइ छ ।

सिकार अनुमति पाएकाहरूले १५ दिनको अवधिमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा एक भाले नाउर वा एक झारलको मात्र सिकार गर्न पाउने व्यवस्था छ । सिकारमा आउनेहरू आरक्षको निश्चित भूभागसम्म हेलिकोप्टरमा पुगेपछि पैदल सिकारमा जानुपर्ने नियम छ ।

ट्रफी जित्न सिकार
विभागका अनुसार विश्वभर कोरोना फैलन थालेपछि यसपटक कम राजश्वमै कम्पनीहरूले सिकारको अनुमति पाएका थिए । यसअघिसम्म एक नाउर र झारलको सिकारका लागि १२ लाख रुपैयाँसम्म राजस्व बुझाएका कम्पनीहरूले यस सिजनमा एक लाख ७५ हजार रुपैयाँमै सिकार अनुमति पाएका थिए ।

ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार विश्वकै साहसिक काम भएकाले ट्रफी जित्न सिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ । ०४२ सालमा स्थापना गरिएको आरक्षमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका सिकारी आउने गर्छन् ।