मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १० बुधबार ११:०४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

पिपिई माग्ने स्वास्थ्यकर्मीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जागिरबाट निकाल्यो

Read Time : > 1 मिनेट
२०७७ बैशाख १० बुधबार ११:०४:००

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीलार्ई पिपिई मागेको भन्दै जागिरबाट निकालेको छ । प्रतिष्ठानले डाक्टर र स्टाफ नर्स गरी दुईजनालाई जागिरबाट हटाएको हो । प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीबाट आजित हुँदै डा.सृष्टि चौधरी र स्वास्थ्यकर्मी सिमेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन् । यो संकटको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो अनावश्यक रूपमा धम्क्याउने, स्वास्थ्य सामग्री माग्दा जागिरबाटै हटाइदिने गर्न थालेपछि बाध्य भएर डा.चौधरी र खड्काले राजीनामा दिएको प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए । 

प्रतिष्ठानमा कार्यरत चिकित्सक डा.अमृता श्रेष्ठलाई पिपिई मागेको भन्दै जागिरबाट हटाइएको छ । पिपिई माग गर्दा पनि नपाएपछि डा.श्रेष्ठले बिरामी जाँचिरहेको तस्बिर खिचेकी थिइन् । उनले प्रतिष्ठानको इमर्जेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मीले खोलेको फेसबुक ग्रुपमा यस्तो संवेदनशील अवस्थामा सुरक्षाका लागि पिपिई माग गर्नुपर्ने लेखेकी थिइन् । प्रतिष्ठानले यही विषयलाई आधार बनाएर भदौ महिनायता कार्यरत श्रेष्ठलाई १ वैशाखबाट लागू हुने गरी कामबाट हटाएको हो । ‘माग गर्दा पनि नपाएपछि मैले पिपिई नलगाई बिरामी जाँचिरहेको तस्बिर खिचेकी थिएँ । त्यो तस्बिर एउटा फेसबुक पेजमा सार्वजनिक भयो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘त्यति गर्दा पनि नपाएपछि हाम्रो इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीको फेसबुक ग्रुपमा पिपिई माग गर्नुपर्ने कुरा लेखेकी थिएँ । यही निहुँमा मलाई जागिरबाट हटाइयो ।’ 

यस्तै, घोराही–१५ घर भएकी स्टाफ नर्स प्रकृति डिसीलाई प्रतिष्ठानले पिपिई माग्दा जागिरबाट हटाएको छ । १६ महिनादेखि प्रतिष्ठानमा कार्यरत उनलाई १ वैशाखदेखि काममा नआउन भनी पत्र थमाइएको छ । सरकारले प्रतिष्ठानमै कोरोना संक्रमित बिरामीको परीक्षण गर्ने ल्याब स्थापना गरेको छ । चैतको पहिलो साता प्रतिष्ठानमा कोरोनाको आशंका गरिएका बिरामी भर्ना भएका थिए । बिरामी भर्ना भएपछि मेडिकल वार्डमा कार्यरत डिसीले प्रतिष्ठानसँग पिपिई माग गरेकी थिइन् ।

तर, प्रतिष्ठानले पिपिई उपलब्ध नगराएपछि उनले आफ्नो फेसबुकमा ‘कमजोर प्रशासन’ भनेर लेखिन् । ‘नेपालमा सुरक्षा सामग्रीविना चिकित्सकलाई कोरोनाको बिरामी उपचारका लागि खटाउनु भनेको सिपाहीलाई हतियारविना युद्धमा खटाउनु हो,’ उनले लेखेकी थिइन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको यस्तै लाजमर्दो अवस्था छ ।’ 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने करारको म्याद सकिएकाले स्वास्थ्यकर्मीलाई हटाएको बताएको छ । प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाश देवले म्याद सकिएकाले हटाएको बताए । ‘करारको म्याद सकिएकाले डाक्टर र स्टाफ नर्सलाई हटाएको हो । केहीले आफैँले राजीनामासमेत दिनुभएको छ,’ उनले भने, ‘सरकारले कार्यरत कर्मचारीलाई बिदा नदिने भनेको छ । तर, म्याद सकिएकालाई थप्ने भनेको भए हामीलाई थाहा छैन ।’