मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १० बुधबार १०:५२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

चीनबाट सवा दुई अर्बको स्वास्थ्य सामग्री खरिद

भारतसँग औषधिको मूल्यसूची र रकम भुक्तानी मोडालिटी अझै टुंगिएन 

Read Time : > 1 मिनेट
२०७७ बैशाख १० बुधबार १०:५२:००

नेपाली सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनबाट तीन सय ४२ टन औषधि, स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने टुंगो लगाएको छ । चीन सरकार नियन्त्रित साइनो फर्म इन्टरनेसनल कर्पोरेसनलाई सेनाले सोमबार एक करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलर (दुई अर्ब २४ करोड ६६ लाख रुपैयाँ) भुक्तानी गरिसकेको छ । एक साताभित्र करिब ४० टन सामग्री चीनको ग्वान्जाओबाट हवाईजहाजबाट आपूर्ति गर्ने सेनाको तयारी छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सामान खरिदको मूल्यसूचीका आधारमा अर्थ मन्त्रालयले निकासा गरेको रकम भुक्तानी गरिएको जानकारी दिए । ‘चीनबाट औषधि खरिद प्रक्रिया टुंगिएको छ । एक सातामा अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउँछौँ । कथंकदाचित् नेपालमा कोरोनाको संक्रमण बढ्यो भने हवाई माध्यमबाट ल्याउँछौँ, नभए गाडीबाट सामान ल्याउँछौँ । त्यसका लागि आपूर्तिकर्ताको खोजी गरिरहेका छौँ,’ पाण्डेले भने ।

औषधि खरिदमा चीनको वाणिज्य मन्त्रालयअन्तर्गत विभागका अधिकारीलाई खटाएको थियो भने चीनमा नेपाली सैनिक सहचारी सहायक रथी विनोद पाण्डेले समन्वय गरेका थिए । सरकारले सेनालाई एकमुस्ट रकम नदिएर सामान खरिदका लागि लागेको रकम दिएको हो । सेनाले भुक्तानी गरेको ढुवानीबाहेकको रकम हो ।

सरकारले स्वास्थ्य सामग्री, उपकरण र औषधि किन्ने जिम्मा दिएपछि सेनाले पत्राचार गरेका पाँच देशमध्ये चीनसँग मात्रै सामग्री खरिदको सम्झौता भएको हो । भारतको सरकारी कम्पनीले ५३ प्रकारका औषधि बेच्न सकिने जानकारी दिए पनि अहिलेसम्म मूल्यसूची तथा उसलाई रकम भुक्तानीको मोडालिटीसम्बन्धी जानकारी गराएको छैन । भारतले स्वास्थ्य सामग्री र उपकरण भारतकै लागि अभाव भएको भन्दै नेपाललाई औषधि मात्रै बेच्न सक्ने जवाफ दिएको थियो । चीन र भारतमा औषधि, स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि सैनिक सहचारीहरूले समन्वय गरेका छन् । 

सरकारले १६ चैतमा रक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालसँग समन्वय गरेर सेनामार्फत जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो । रक्षाले सेनालाई १९ चैतमा चिठी लेखेर सरकारी निर्णयको जानकारी दिएको थियो । सरकारले गठन गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन सय ९८ वटा औषधिको सूची तयार गरेर २३ चैतमा सेनालाई दिएको थियो । सेनाले चिनियाँ अधिकारीसँग भएको संवादका क्रममा ६७ प्रकारका सामान मात्रै दिन सक्ने जानकारी पाएको थियो । भारतीय कम्पनीले ५३ थरीका औषधि दिने भनेको थियो । भारतीय कम्पनीको नाम भने सेनाले खुलाएको छैन । भारतीय कम्पनीसँग अब थप छलफल गर्ने सेनाले जनाएको छ । नेपालमा संक्रमण नबढिसकेका कारण पहिलो चरणमा कोरोना जाँच्ने उपकरण र सामग्री खरिद प्राथमिकतामा परेको सैनिक प्रवक्ता पाण्डेको भनाइ छ । 

भारतबाट अनुदानमा औषधि आउँदै 
भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनुदानमा औषधि दिन लागेको छ । भारतले दिन लागेको औषधि सेनाले खरिद गर्न लागेकोभन्दा अलग हो । भारतले हाइड्रोक्सिक्लोरोकिन (एचसिक्यु) २०० एमजीका अढाई लाख ट्याब्लेट्स, ३२५ एमजी प्यारासिटामोल र डाइक्लोमाइनएचसिएल २० एमजी ट्याब्लेट ६ लाख तथा प्यारासिटामोल सस्पेन्सनआइपी १२५ एमजी तीन लाखसमेतका १५ प्रकारका औषधि दिन लागेको छ । नेपालले भारतसँग पिसिआर टेस्ट किट्स मागेको थियो । तर, उसले उपलब्ध गराउन सकेन । भारतले अन्य विभिन्न प्रकारका औषधि पाँच लाख ८९ हजार ट्याब्लेट उपलब्ध गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।