१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी बार्सिलोना
२०७७ बैशाख १० बुधबार १०:२३:००
Read Time : > 1 मिनेट
खेलकुद

बार्सिलोनाले आफ्नो रंगशालाको नामकरण अधिकार बेच्ने

Read Time : > 1 मिनेट
एजेन्सी बार्सिलोना
२०७७ बैशाख १० बुधबार १०:२३:००

स्पेनिस क्लब बार्सिलोनाले कोरोना भाइरस महामारीविरुद्धको लडाइँका लागि आर्थिक सहयोग जुटाउन आफ्नो स्टेडियम क्याम्प नाउको नामकरण अधिकार (टाइटल राइट्स) बेच्ने भएको छ । क्लबको कार्यकारी बोर्डले मंगलबार आगामी एक वर्षसम्मका लागि स्टेडियमको नामकरण अधिकार बेच्ने निर्णय गरेको हो । 

क्लबले नामकरण अधिकार बिक्रीमार्फत उठेको सबै रकम कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि खर्च गर्ने जनाएको छ । ९९ हजार सिट क्षमताको क्याम्प नाउ विश्वकै ठूलामध्येको स्टेडियम हो । सन् १९५७ देखि सञ्चालनमा आएको क्याम्प नाउ स्टेडियमले पहिलोपटक अर्काे नाम पनि प्रयोग गर्ने भएको छ । ‘हामी विश्वव्यापी सन्देश दिन चाहन्छौँ । पहिलोपटक क्याम्प नाउमा कसैले आफ्नो नाम पनि राख्न पाउँदै छ,’ मंगलबार भएको बैठकपछि क्लबका उपाध्यक्ष जार्दी कोर्डाेनरले भने, ‘त्यसमार्फत उठेको सबै रकम हामी कोरोना भाइरस रोकथाम र उपचारमा खर्च गर्नेछौँ ।’

कोर्डाेनर क्लबको यो प्रयास साँच्चिकै फलदायी बन्ने विश्वासमा छन् । ‘हामीले संकटको समयमा यो निर्णय लिएका छौँ । हामीलाई विश्वास छ कि यसमा राम्रो प्रतिक्रिया आउनेछ र उत्तिकै धेरै रकम पनि जुट्नेछ,’ उनले भने । कोर्डाेनर आफैँ पनि कोरोना भाइरस संक्रमित भई निको भएका व्यक्ति हुन् । 

नामकरण अधिकार बिक्रीसँगै क्लबले थप प्रायोजनका लागि पनि प्रयास गर्ने कोर्डाेनरले बताए । ‘बार्सिलोना कम्पनी र निजी फाउन्डेसनको प्रस्ताव सुन्न चाहन्छ,’ उनी भन्छन्, ‘त्यसका साथै इच्छुक केही प्रायोजकसँग पनि क्लबले कुरा गर्नेछ, जो सँगै मिलेर स्टेडियममा आफ्नो नाम प्रयोग गर्न चाहन्छन् र त्यसबाट हामीले अझ धेरै रकम उठ्ने अपेक्षा गरेका छौँ ।’

विश्वकै चर्चित खेलाडी लियोनल मेसीको टोली बार्सिलोनाको स्टेडियम क्याम्प नाउ संसारकै प्रतिष्ठितमध्येको खेलकुद ‘भेन्यु’ हो । नामकरण अधिकार बिक्री गरे पनि स्टेडियममा क्याम्प नाउ पनि लेखिनेछ । स्टेडियमको नामकरण अधिकार बिक्रीबारेको सम्पूर्ण प्रक्रिया कोर्डाेनरले नै हेर्नेछन् । बार्सिलोनाको अर्काे सहयोगी निकाय बार्सिलोना फाउन्डेसनका प्रमुखसमेत रहेका कोर्डाेनरले उठेको रकमको खर्च पनि हेर्नेछन् । क्लबको फाउन्डेसनले स्पेनसहित अन्य ५८ देशमा विभिन्न कारणले समस्यामा परेका युवा र शरणार्थीबारे कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

क्लबले आगामी साता नै यसबारे निर्णय भइसक्ने जनाएको छ । सो निर्णय क्लबको साधारणसभामार्फत पारित गर्नुपर्ने हुन्छ, जसमा क्लबका एक लाख ४० सदस्य सहभागी हुनेछन् । क्लबको साधारणसभा अहिलेलाई आगामी अक्टोबरका लागि तय गरिएको छ