१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टेकराज थामी नुवाकोट
मुना कुँवर काठमाडौं
जीवनाथ दाहाल सिन्धुपाल्चोक
२०७७ बैशाख १० बुधबार ०६:४३:००
Read Time : > 14 मिनेट
मुख्य समाचार

भूकम्पले भत्काएको घरको ऋण तिर्न गएको छोरा बाकसभित्र  चिरनिद्रामा : ७६ वर्षीया आमा फेसबुकबाट भिडियो कल गर्ने प्रयासमा

Read Time : > 14 मिनेट
२०७७ बैशाख १० बुधबार ०६:४३:००

युएईको अबुधाबीमा ३० दिनअघि बितेका ३६ वर्षीय हरिशरण डोटेलको शव उतै छ । काकाको अन्त्येष्टि गर्न नपाएकोमा नुवाकोटको बेलकोट– १२ मदानपुरका २३ वर्षीय अश्विन बेचैन छन् । पीडाले विक्षिप्त काकीको हेरचाह गर्ने मात्र होइन, अन्जान हजुरआमालाई यो खबर कसरी सुनाउने ? यी युवालाई सिंगो पृथ्वीको भार टाउकोमा परेजस्तो भएको छ । 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

वैदेशिक श्रमबजारमा पसिना बेच्न गएका युवाको मृत्यु यो पहिलो वा अन्तिम घटना होइन । एक युवाको मृत्युले सिंगो परिवारको भाग्यरेखा कसरी भाँडिन्छ भन्ने रिपोर्टिङ गर्न केही दिनअघि हामी हरिशरणको गाउँ पुग्यौँ । काठमाडौंबाट करिब तीन घन्टाको यात्रापछि मदनपुर, डोटेलगाउँको उकालोमा अश्विन भेटिए । उनैले आफ्नो परिवारको व्यवस्था बयान गरे । 

वैदेशिक रोजगारीका क्रममा हरिशरण अबुधाबी गएका हुन् । गत ९ चैतमा उनको मृत्यु भएको खबर आयो । काठमाडौं नेपालटारस्थित डेरामा बस्दै आएकी ३४ वर्षीया श्रीमती सुशीला खबर सुनेर ढलिन् । 

हरिशरण बिरामी थिएनन्, अचानक उनको मृत्युको खबर आयो । तर, मृत्युको कारण के हो ? अहिलेसम्म खुलेको छैन । उनको शव कहिले आउने हो, त्यो त अनुमान गर्न पनि गाह्रो छ । ‘सुरुमा मृत्युको खबरले परिवारलाई विचलित बनायो, अहिले शव अड्कियो भनेर पीडा छ, जुन दिन शव आउँछ त्यो दिन फेरि परिवारको हालत के हुने हो भन्ने सम्झेर अहिले नै छाती फुलेर आउँछ,’ अश्विन भन्छन्, ‘एउटै घटनाले हामीलाई पटकपटक विक्षिप्त बनाउने भयो ।’

विपतको यस्तो बज्रपात उनलाई पहिलोपटक परेको होइन । आर्थिक रूपमा विपन्न भए पनि एक छोरा र एक छोरीलाई असल शिक्षा दिने प्रयासमा थिए सुशीला र हरिशरण । तर, चार वर्षअघि भूकम्पले घर भत्कायो । भित्रै पुरिएर ६ वर्षीय छोराको ज्यान गयो । बालक छोराको वियोगमा छटपटाएका दम्पतीले अब छोरीलाई पढाउने र बढाउनेमा ध्यान केन्द्रित गर्ने निधो गरे । 

पुरिएको छोरालाई उठाउन सकेनन्, तर ढलेको घर उनीहरूले फेरि ठड्याए । तर, ठूलो ऋण लाग्यो । घर बनाउँदाको ऋण र परिवारको गर्जो टार्न वर्ष दिनअघि मात्रै हरिशरण अबुधाबी गएका थिए । तर, विदेश जाँदा लागेकोसमेत ऋण तिरिनसक्दै उनको मृत्यु भयो । पुत्रवियोग भुल्न नसकेकी सुशीलालाई पतिवियोग थपिएको छ । 

सुशीला र उनकी १३ वर्षीया छोरी सन्ध्यालाई लिएर अश्विन लकडाउनको अघिल्लो दिन नै गाउँ पुगेका हुन् । घर आएकी बुहारीको विक्षिप्त अवस्था देखेर ७६ वर्षीया लक्ष्मी अवाक भइन् । बुहारीको अवस्था किन यस्तो भयो भनेर सोध्न थालिन् । ‘वास्तविकता बताउन हामीलाई हिम्मत भएन । काकीको अवस्था त्यस्तो थियो, त्यसमाथि हजुरआमाको हालत के होला भनेर हामी डरायौँ,’ अश्विन भन्छन् । 

अहिले वृद्धा आमालाई वास्तविकता लुकाउन गाउँलेबीच सल्लाह भयो । कमाउन गएको छोरा एक महिनाअघि नै चिरनिद्रामा गइसके, उनी बाकसमा बन्द छन् भन्ने आमा लक्ष्मीलाई छनकसम्म पनि छैन । काकाको मृत्यु भएकै दिनबाट परिवारका सबै सदस्यले एक छाक नुन खान छाडेका छन् । तर, शंका होला भनेर वृद्धा हजुरआमाको खानामा तरकारी टुटेको छैन । अझ उनलाई नुन हालेको कालो चिया त पेटभरि खान मन पर्छ । 

सबेरै उठ्नासाथ उनी अँगेनोमा दाउरा जोरेर कालो चिया बनाउँछिन् । ‘अँगेनोको छेउमा बसेर चिया खाएपछि हजुरआमा आँगनमा निस्कनुहुन्छ । कहिले पँधेरोबाट पानी ओसार्नुहुन्छ, कहिले गोठ सफा गर्नुुहुन्छ,’ अश्विनले हजुरआमाको दैनिकी बयान गरे । हामी उनको घरमा पुग्दा हजुरआमा मकै खोस्लाइरहेकी थिइन् । 

लक्ष्मी आफ्नै धुनमा हराउँछिन् । तर, जब उनले बुहारीको फुंग उडेको अनुहार देख्छिन्, बेचैन भएर नातिलाई सोध्छिन् । तर, काकीलाई सन्चो छैन, डाक्टरलाई देखाएर ल्याएको भन्दै अश्विनले हजुरआमालाई फुल्याउँछन् । 

बुहारी यता बिरामी छिन्, उता छोरालाई पत्तो छैन भन्ने लागेर वृद्धा पिरोलिन्छिन् । नातिको खल्तीबाट आफँै फोन निकालेर फोन गर्न भन्छिन् । तर, नातिको हात हिउँजस्तै चिसो हुन्छ जब ती विवश वृद्धाले विदेशमा रहेको छोरासँग फेसबुकको भिडियो कलमा कुरा गर्न खोज्छिन् । ‘फेसबुकमा भिडयो कल गर, म आफैँ भन्छु भनेर जिद्दी गर्नुहुन्छ,’ अश्विन भन्छन्, ‘कहिले मोबाइलमा ब्लालेन्स सकियो भन्छु, कहिले काका ड्युटीमा हुनुहुन्छ भनेर टार्छु ।’ बुहारी यत्रो बिरामी हुँदा एक कल फोन पनि गरेन भनेर वृद्धा आफ्नै छोरासँग पनि गुनासो गर्छिन् । 

उनले गुनासो अरू कोसँग गर्ने ? उनका तीन छोरा थिए, दुईजनाको यसअघि नै मृत्यु भइसकेको थियो । ‘मेरो बुबा र एकजना काका पहिल्यै बित्नुभयो, हजुरआमालाई सान्त्वना दिने मात्र होइन, हाम्रो परिवार सम्हाल्ने काका मात्र हुनुहुथ्यो,’ अश्विन भन्छन्, ‘अब काका पनि बित्नुभयो भन्ने सुनेको क्षण त हजुरआमाको लागि धर्ती नै फाट्छ ।’

युवा नातिले जे अनुमान गरिरहेका छन्, वृद्धा हजुरआमाले छनक पनि पाएकी छैनन् । बारीको छेउमा काम गरिरहेकी उनको ध्यान भंग हुन्छ भनेर हामी नजिक पनि गएनौँ । नातिको अनुमतिमा टाढैबाट क्यामेराको लेन्स सोझ्यायौँ । फोटो खिचेर हामी बिदा भइहाल्यौँ ।

केही तल एक घरमा गाउँले जम्मा भएका थिए । उनीहरूले कोरोनाले कुन देशमा कति बिरामी भए, कतिको मृत्यु भयो भनेर अपडेटमाथि गफ गरिरहेका थिए । हामी पनि अलग्गै उभिएर छलफलमा सहभागी थियौँ । 

त्यहीबीचमा लौरो टेक्दै ती हजुरआमा त्यहीँ आइपुगिन् । उनले अपरिचित हाम्रो अनुहार नियालिन् । भेला भएका छिमेकीतर्फ हेरिन् । फेरि फिस्स हाँस्दै ‘घरको फुटो लिनुभयो त ? ऋण तिरेर सकिएको छैन, राहत पाइन्छ कि ?’ उनले हामीलाई भूकम्पपछि बनेका घर अनुगमन गर्न आएका सरकारी अधिकारी सम्झिछिन् । हामीले हो अथवा होइन भनेर निधो दिन सकेनौँ । 


८२ नेपाली मजदुरको शव विदेशमा लकडाउन : पाँच वर्षयता ४,१५३ मजदुरको निधन

घटना १ : धनुषाका २२ वर्षीय वीरेन्द्र दास गत भदौमा लेबर भिसामा दुबई उडेका थिए । आमा देवकी दासले विभिन्न ठाउँबाट दुई लाख कर्जा लिएर उनलाई पठाउने जोहो गरेकी थिइन् । गत ६ चैतमा वीरेन्द्रले फोन गरेर आउने दसैँमा छुट्टी मिलाएर घर आउने बताएका थिए । त्यतिखेर उनको विवाह पनि गरिदिने आमाको योजना थियो । तर, देवकीको यो इच्छा कहिल्यै पूरा नहुने भएको छ । किनभने त्यसको दुई दिनपछि अर्थात् ८ चैतमा वीरेन्द्रले संसार छाडे । ९ चैतमा यस्तो पीडादायी खबर सुनेपछि अचेत बनेकी देवकी अझै राम्ररी ठीक भएकी छैनन् । ‘छोरोको मृत्युको खबरपछि न बोल्छिन् न हाँस्छिन् । जसलाई देखे पनि छोरो आयो मात्रै भन्छिन्,’ बुबा राम दासले भने । 

  • मृतककी आमा देवकी दास र बाबु रामआशिष दास

लकडाउनका कारण वीरेन्द्रको शव अहिलेसम्म उतै छ, उनको मृत्यु कसरी भएको हो भन्ने अहिलेसम्म परिवारलाई थाहा छैन । उनीसँगै रहेका साथीहरूले आत्महत्या गरेको बताउँछन् । तर, आधिकारिक जानकारी केही छैन । ‘छोरालाई जिउँदो देख्न नपाए पनि एकपटक मुख हेर्न मन छ । नत्र उसकी आमा पनि बाँच्दिनँ,’ राम दासले भने ।

घटना २ : झापा अर्जुनधारा–५ की ३३ वर्षीया नीता चौधरीलाई एकतले पक्की घर बनाउँदा पाँच लाख ऋण लाग्यो । सशस्त्र प्रहरीका जागिरे श्रीमान्को तलबले घरखर्च चलाउनु कि ऋण तिर्नु ? त्यही भएर गत भदौमा श्रीमान्सँग सल्लाह गरेर उनी क्लिनरको भिसामा दुबई उडिन् । रोजगारीका सिलसिलामा श्रीमान् पिसिकुमार धिमाल बाहिर हुने भएकाले ३ र ६ वर्षका दुई छोरीलाई माइतीको जिम्मा लगाइन् । पाँच लाख घरको ऋण थियो, बिर्तामोडको मिमोसा म्यानपावरलाई एक लाख ३६ हजार बुझाएपछि ऋण बढेर ६ लाख ३६ हजार पुग्यो । 

  • दुबईमा मृत्यु भएकी श्रीमती नीताको तस्बिर देखाउँदै श्रीमान् पिसिकुमार धिमाल

तर, ऋण तिर्न श्रीमान्लाई सघाउन भन्दै दुबई पुगेकी नीता कहिल्यै नफर्कने भइन् । १९ फागुनमा अप्रत्यासित श्रीमतीको मृत्युको खबर सुनेपछि पिसिकुमार उजाडिएका छन् । ‘अघिल्लो दिन कुरा भएको थियो । सबै राम्रै छ भन्थिन् । भोलिपल्ट मृत्युको खबर सुन्दा पाताल भासिएझैँ भयो,’ उनले भने ।

जे नहुनु थियो त्यही भयो, परिवारले लास मात्रै हेर्न पाउँभन्दा पनि नपाउने स्थिति बनेको छ । म्यानपावरले दुबईमै अन्त्येष्टिका लागि दबाब दिएपछि मञ्जुरी दिने बाध्यतामा परिवार पुगेको छ । गत बिहीबार सासू–ससुरासँग समेत सल्लाह गरेर पिसिकुमारले जिल्ला प्रशासन कार्यालयमा श्रीमतीको दुबईमै अन्त्येष्टिका लागि मञ्जुरी दिएका छन् । 

घटना ३ : उदयपुर कटारीका ४० वर्षीय टुकबहादुर बुढाथोकी असार ०७५ मा वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । एक लाख पाँच हजार लिएर अञ्जली ओभरसिजले कृषि मजदुरका रूपमा उनलाई पठाएको थियो । तर, भनेअनुसार पारिश्रमिक नदिई काममा लगाएको भन्दै उनले आउँदो असारमा घर फर्किने योजना पत्नी पुष्पालाई सुनाएका थिए । तर, असार आउन तीन महिना बाँकी हुँदै गत २३ चैतमा टुकबहादुरको मृत्युको खबर घर पुग्यो । श्रीमान् आउने दिन गन्दै बसेकी पुष्पाको संसार उजाडियो । 

टुकबहादुरकी आमा तोपकुमारी ६५ वर्षकी छिन् । छोराको मृत्युको खबरले उनी बेचैन छिन् । एकपटक मृत अनुहार हेरेर भने पनि चित्त बुझाउन मन छ बुढाथोकी परिवारलाई । आफ्नो रीतिअनुसार काजकिरिया गर्न चाहन्छन् । तर, कोरोनाको कारण भन्दै शव ल्याउन सम्बन्धित पक्षले तत्परता देखाएका छैनन् । बरु, म्यानपावर कम्पनीका मान्छेले फोन गरेर उतै दाहसंस्कार गर्न दबाब दिइरहेका छन् । 
                                                                                                                ००००
यी प्रतिनिधि घटना मात्रै हुन् । रोजगारीका लागि बिदेसिएका र उतै ज्यान गुमाएका ८२ नेपाली मजदुरको शव परदेशमै अड्किएको छ । कोरोना संक्रमणका कारण विश्व लकडाउन हुँदा उनीहरूको शव सरकार र परिवारले चाहेर पनि ल्याउन सकिरहेको छैन । 

सम्बन्धित मुलुकस्थित नेपाली दूतावास र वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार साउदी अरबमा २८ नेपाली श्रमिकको शव रोकिएको छ । त्यस्तै, मलेसियामा २१, कतारमा १५, युएईमा ११, कुवेतमा ६ र साइप्रसमा एक शव रोकिएका छन् । सबै मुलुकमा लकडाउन हुँदा शव स्वदेश ल्याउन नसकिएको नेपाल वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । 

यसबाहेक लकडाउनकै अवधिमा तीन नेपाली मजदुरको शव भने परिवारको सहमतिमा सम्बन्धित देशमै दाहसंस्कार गरिएको छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सेसल्स, दक्षिण कोरिया र युएई रोकिएका एक–एक शवको उतै दाहसंस्कार गरिएको हो । अहिलेको विषम परिस्थितिमा शव नेपाल ल्याउन सहज नहुने भन्दै बोर्डले दाहसंस्कारका लागि अन्य परिवारसँग पनि सहमति मागिरहेको छ । 

दुवै मुलुकमा लकडाउन भएकाले शवहरू नेपाल पठाउन नसकिएको सम्बन्धित देशका नेपाली राजदूतहरूले बताएका छन् । विभिन्न मुलुकमा लकडाउनअगाडि नै मृत्यु भएका तर प्रक्रिया नपुगेर रोकिएका शव पनि छन् । ‘लकडाउनपछि अन्तर्राष्ट्रिय उडान नै बन्द भएका कारण शव पठाउन सकिएको छैन,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने । उनका अनुसार परिवारले मृत्यु भएको स्वीकार नगर्दा एउटा शव लकडाउनअघिदेखि नै मलेसियामा रोकिएको छ । 

कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले मृतकहरूको परिवारको सहमति पाइए कतारमै दाहसंस्कार गरिने बताए । ‘सबै शव अस्पतालमा सुरक्षित छन् । परिवारको सहमति पाए यहीँ दाहसंस्कार गर्छौँ, नत्र अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पठाउने प्रक्रिया सुरु गर्छौँ,’ उनले भने । भारद्वाजका अनुसार कतारमा रोकिएका शवमध्ये एकमा कोरोना पोजेटिभ भेटिएको छ । 

पाँच वर्षमा चार हजार एक सय ५३ मजदुरको परदेशमै गयो ज्यान
नेपाल वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार विगत पाँच वर्षमा चार हजार एक सय ५३ नेपाली मजदुरले विदेशी भूमिमा ज्यान गुमाएका छन् । मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, दक्षिण कोरिया, बहराइन र जापानमा धेरै मजदुरको मृत्यु भएको छ । पाँच वर्षमा मलेसियामा मात्रै एक हजार पाँच सय ३७ नेपाली मजदुरको मृत्यु भएको छ । त्यस्तै, साउदी अरेबियामा एक हजार एक सय ४७, कतारमा सात सय सात, युएईमा तीन सय ३७, कुवेतमा एक सय ४५, दक्षिण कोरियामा ७६, बहराइन ४८ र जापानमा १२ जना मजदुरले ज्यान गुमाएको बोर्डले जनाएको छ । गत आर्थिक वर्ष ०७५÷७६ मा मात्रै सात सय ५३ मजदुरले परदेशमा ज्यान गुमाएका थिए । 

मानसिक पीडामा छन् मजदुर : दुर्गाप्रसाद भण्डारी
राजदूत, कुवेत

कोरोना भाइरसका कारण कुवेतका रोजगारदाता कम्पनी धरायसी हुने अवस्थामा छन् भने मजदुर जागिर जाने मानसिक पीडामा । कम्पनीको प्रकृतिअनुसार केही मजदुर बेतलबी बिदामा छन् । अधिकांश साना र मझौला कम्पनी बन्द हुने अवस्थामा पुगिसकेका छन् । ठूलै त्रासको अवस्था त आइसकेको छैन, तर यो अवधि अझै लम्बियो भने समस्या आउन सक्छ । 

खोटाङका दुई जनाको शव विदेशमै : न ऋण तिर्न सकियो, न लास ल्याउन नै 

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका खोटाङका दुईजनाको शव लकडाउनका कारण उतै अड्किएको छ । ऐँसेलुखर्क गाउँपालिका– ३ ओढारेका सुदीप तामाङको युएई र साकेला गाउँपालिका– ३ खिदिमाका कुलबहादुर खत्रीको मलेसियामा मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरूको शव स्वदेश ल्याउन सकिएको छैन ।

२५ चैतमा मृत्यु भएका कुलबहादुर तीन वर्षअघि मलेसिया गएका थिए । साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्ने उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । कोठाबाट एकछिनका लागि भनेर निस्किएका कुलबहादुर नहरमा मोटरसाइकलसहित डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । उनको शव कुवाला पिला अस्पतालमा राखिएको छ । 

त्यस्तै, तीन महिनाअघि दुबई गएका २२ वर्षीय सुदीपको गत ३० फागुनमा हृदयाघातबाट मृत्यु भएको थियो । परिवारका एक्ला छोरा उनी तीन लाख ऋण काढेर वैदेशिक रोजगारीमा गएका थिए । तर, ऋणसमेत तिर्न नपाउँदै ज्यान गुमाएका छन् । अहिले उनको शव दुबईस्थित रसिदिया अस्पतालमा राखिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए । 

अस्पताल प्रशासनले चाँडो शव लैजान दबाब दिइरहेको छ । मृतकका परिवार पनि ‘लास भएप नि एकपल्ट हेर्ने’ भन्दै स्वदेश ल्याइदिन विभिन्न निकायसँग याचना गरिरहेका छन् । ‘एक्लो छोरो थियो । धन कमाउँछु भनेर विदेश गयो, उत्रै ज्यान गुमायो । हाम्रो बुढेसकालको लाठी नै भाँचियो, लास मात्रै भए पनि हेर्न पाए हुन्थ्यो,’ सुदीपका बुबा बिने तामाङले नयाँ पत्रिकासँग भने । 

तर, खोटाङ समाजका अध्यक्ष गुरुङले लकडाउनका कारण सुदीपको दुबईमै अन्त्येष्टि गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘अस्पतालबाट सुदीपको शव तत्काल लैजान फोन आएकोआयै छ, तत्काल लकडाउन खुल्ने सम्भावना पनि नभएका कारण दुबईमै अन्त्येष्टि गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने । ऐँसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले पनि सुदीपको दुबईमै अन्त्येष्टि गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको बताए ।

दुबईमै काम गरिरहेका स्थानीय गणेश बस्नेतले सुदीपलाई काममा लगाइदिने भन्दै तीन लाख धरौटी लिएर दुबई लगेका थिए । सुदीपको मृत्युपछि उनी अहिले सम्पर्कमा समेत आउन छाडेको बुबा बिनेले बताए । दुबई गएपछि सुदीपले एक पटक ८० हजार घर पठाएका थिए । बाँकी ऋणको ब्याजको मिटर बढेकोबढ्यै छ । ‘न ऋण फिर्ता गर्न सकियो न त छोरोको लास नै नेपाल ल्याउन सकियो,’ बिनेले भने ।

कुलबहादुरको शव पनि नेपाल ल्याउन समस्या भएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुरले बताए । विपन्न परिवारमा जन्मिएका कुलबहादुर वैदेशिक रोजगारीकै क्रममा यसअघि दुई वर्ष बिताएर घर फर्किएका थिए । त्यसको केही समयपछि उनी मलेसिया गएका थिए । उनका श्रीमती, पाँच छोरी र दुई छोरा छन्।

कमाएर खुवाउने घरमुली कुलबहादुरको विदेशै ज्यान गएपछि परिवारको बिचल्ली भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । कुलबहादुरको शव नेपाल फर्काउन तथा परिवारको व्यवस्थापनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने काम भइरहेको उनले बताए ।
 
झापा : ‘लास पनि हेर्न नपाउने कस्तो अवस्था ?’ 

झापाको अर्जुनधारा– ५ मा एकतले पक्की घर बनाउँदा पाँच लाख ऋण लाग्यो । सशस्त्र प्रहरीका जागिरे श्रीमान्को तलबले घरखर्च चलाउनू कि ऋण तिर्नू ? ३३ वर्षकी नीता चौधरीलाई सधैँ यही प्रश्नले घोच्न थाल्यो । आफू पनि केही गर्ने निर्णयमा पुगिन् । 

श्रीमान्सँग विदेश जाने सहमति मागिन् । तीन र ६ वर्षका दुई छोरीप्रतिको वात्सल्य थाँती राखेर नीता गत भदौमा दुबई उडिन् । पाँच लाख घरको ऋण थियो, बिर्तामोडको मिमोसा म्यानपावरलाई एक लाख ३६ हजार बुझाएपछि ऋण बढेर ६ लाख ३६ हजार पुग्यो । 

तर, केही थिएन, काम राम्रै पाएकी थिइन् । दुबईको रोयल क्याटरिङ सर्भिस कम्पनीले स्थानीय एक अस्पतालमा क्लिनरको रूपमा खटाएको थियो । ७३ हजार त कमाएर घर पठाइसकेकी थिइन् । ‘सबै राम्रै छ भन्थिन् । समयमा पैसा पनि पठाउँथिन् । तर...’ श्रीमान् पिसिकुमार धिमालको गला रोकियो । 

१९ फागुनमा श्रीमतीको मृत्युको अप्रत्यासित खबर सुनेपछि पिसिकुमार उजाडिएका छन् । धिमालले भने, ‘अघिल्लो दिन कुरा भएको थियो । एटिएमबाट पैसा निस्किएन, भोलि ट्राई गर्छु भनेकी थिइन् । भोलिपल्ट मृत्युको खबर सुन्दा पाताल भासिएझैँ भयो ।’ 

नीताको मृत्युमा पिसिकुमारलाई अझ बिझेको छ, पोस्टमार्टम रिपोर्टले । ‘पोस्टमार्टम रिपोर्टले आत्महत्या गरेको देखाएको छ, म कसरी पत्याऊँ,’ उनले भने, ‘उनले कहिल्यै निराश कुरा गरेकै थिइनन् । बरु नआत्तिन भन्दै मलाई नै सम्झाउँथिन् । तर, सुतिरहेकै अवस्तामा मृत भेटिएकी उनले आत्महत्या गरेको रिपोर्ट आयो रे !’

श्रीमान्को जागिर पहाडमा भएकाले नीताले छोरीहरूलाई सुनसरीको खनारस्थित बहिनी सीताको घरमा राखेकी थिइन् । ऋणमुक्त भएर तिनै लालाबालाको भविष्य चम्काउन दुबई गएकी नीताको उद्देश्य आधा संघर्षमै तुहियो । आमाको मृत्युको खबर छोरीहरूलाई थाहा दिइएको छैन । 

जे नहुनु भयो, परिवारले लास मात्रै हेर्न पाऊँ भन्दा पनि नपाउने स्थिति बनेको छ । म्यानपावरले दुबईमै अन्त्येष्टिका लागि दबाब दिएपछि मञ्जुरी दिने बाध्यतामा परिवार पुगेको छ । बिहीबार सासूससुरासँग समेत सल्लाह गरेर जिल्ला प्रशासन कार्यालयमा पिसिकुमारले दुबईमै अन्त्येष्टिका लागि मञ्जुरी दिएका छन् । 

‘कोरोनाका कारण बन्द छ, शव ल्याउन राज्य, सम्बन्धित कम्पनी र म्यानपावरले पहल गरिदिए हुन्थ्यो नि, परिवारको पीडा कसले बुझ्ने ?’ पिसिकुमारले भने,’ ‘उतै अन्त्येष्टि होलाजस्तो भयो । बाध्यतामा परियो ।’ 

नीताका बुबा एकानन्द चौधरी दुबईमै जलाउने अनुमति दिन दबाब आएपछि बाध्यतामा परेको बताउँछन् । ‘मृत्यु हुनेबित्तिकै पठाउँदैन रहेछ । रिपोर्ट आउनै एक हप्ताभन्दा धेरै लाग्दोरहेछ । रिपोर्ट आइसक्दा कोरोनाले बन्द भयो,’ उनले भने, ‘अहिले कि नेपाल ल्याउनू कि दुबईमै दाहसंस्कार गर्न अनुमति दिनू भनेर दबाब दिन थाले । कम्तीमा लास त हेर्न पाइयोस् भन्दा पनि कसैले सुनेन । बन्द खुलेपछि नेपाल ल्याउने भए पनि लास यताउता हुन सक्ने त्रास देखाए ।’ 

दुबईमा अन्त्येष्टि गर्न नदिँदा क्षतिपूर्ति रोकिने चिन्ताले पनि परिवार समस्यामा परेको हो । ‘उतै अन्त्येष्टि गर्नेभन्दा हामीले मानेनौँ । तर, त्यहीकारण क्षतिपूर्ति त रोकिनेजस्तो कुरा पनि आयो,’ नीताकी आमा रमाले भनिन्, ‘क्षतिपूर्ति आए कम्तीमा नातिनीहरूको पढाइखर्च त हुन्छ ।’  जिल्ला प्रशासनमा बाध्यताले मञ्जुरीनामा दिएको परिवार अझै पनि नीताको शव नेपाल झिकाइदिए हुन्थ्यो भन्ने आशामै छन् । 

उदयपुर : ‘छोराको मुख हेर्न मन छ, म्यानपावरका मान्छे उतै जलाइदिऊँ भन्दै मञ्जुरीका लागि दबाब दिइरहेका छन्’

उदयपुरको कटारी– २ खोक्साका ४० वर्षीय टुकबहादुर बुढाथोकी ०७५ असारमा जुन उद्देश्य बोकेर संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए, सोचेअनुसार भएन । एक लाख पाँच हजार लिएर अञ्जली ओभरसिजले कृषि मजदुरका रूपमा उनलाई अबुधाबी पठाएको थियो । तर, म्यानपावरले भनेअनुसार पारिश्रमिक नदिई काममा लगाएको भन्दै आउँदो असारमा घर फर्किने योजनामा थिए । तर, उनका लागि त्यो असार आउनै पाएन । 

‘म्यानपावरले भनेअनुसार पारिश्रमिक मिलेन, असारमा घर फर्किन्छु भन्नुहुन्थ्यो । २३ चैतको दिउँसो ३ बजे फोनमा कुरा हुँदा पनि त्यसै भन्नुभयो । म आउँदा आमालाई काठमाडौं लिएर आउनु भन्नुभएको थियो,’ श्रीमती पुष्पाकुमारी खड्काले भनिन्, ‘तर, त्यो फोन–संवाद भएको आधा घन्टा नबित्दै दुर्घटनामा पर्नुभएछ।’ 

आमा तोपकुमारी ६५ वर्षकी छिन् । छोरोको मृत्युको खबरले उनी बेचैन छिन् । जे भयो, एकपटक मृत अनुहार हेरेर भने पनि चित्त बुझाउन मन छ बुढाथोकी परिवारलाई । आफ्नो रीतिअनुसार काजकिरिया गर्न चाहन्छन् । तर, कोरोनाको कारण भन्दै शव ल्याउन सम्बन्धित पक्षले तत्परता देखाएका छैनन् । बरु, म्यानपावर कम्पनीका मान्छेले फोन गरेर आबुधाबीतिर जलाइदिनुपर्‍यो भन्दै मञ्जुरी दिन दबाब दिइरहेको परिवारको गुनासो छ । 

‘म्यानपावरले त्यत्रो पैसा लिएर काममा पठायो, तर कामअनुसार पैसा दिएन भन्थ्यो । जवान छोरोले संसार छाडेको खबर यो बुढीआमाको काममा पर्दा कति मनु दुखेको होला,’ तोपकुमारीले दुःख बिसाइन्, ‘तर, यस्तोवेला पनि म्यानपावरका मान्छे लास उतै जलाउनुप¥यो मञ्जुरी चाहियो भन्दै दबाब दिइरहेका छन् । कस्ता निर्दयी ! जे नहुनु भयो, छोराको अनुहार एकपटक हेर्न मन छ नि । सकेअनुसार काजकिरिया गरिदिन पाए स्वर्गमा शान्ति मिल्थ्यो कि ?’

म्यानपावरको दबाबप्रति दाइ कृष्णबहादुरको पनि चित्तदुखाइ छ । कृष्णबहादुर भन्छन्, ‘आबुधाबीमा भाइलाई म्यानपावरले भनेअनुसार पारिश्रमिक मिलेन । त्यत्रो पैसा लिएर अन्याय गर्‍यो । अहिले फेरि यत्रो पीडामा शव ल्याउने जिम्मेवारीबाट पन्छिन खोज्दै छ ।’ टुकबहादुरको मृत्युसँगै परिवारमा आर्थिक संकट थपिएको छ । दुई कट्ठा ऐलानी जग्गा र एउटा घर मात्रै छ । कमाउने टुकबहादुर नै थिए । घरको मियो ढलेपछि परिवार नै समस्यामा परेको छ । 

जनकपुर  : मृत छोराको अनुहार हेर्ने प्रतीक्षामा एक महिनादेखि 

‘बुबा म घर फर्किन चाहन्छु, यहाँ काम गर्न मन छैन, गाउँमै कमाएर नयाँ घर बनाउँछु, अनि कान्छी बहिनीको विवाह गर्छु,’ ६ चैतमा छोरा वीरेन्द्रले दुबईबाट इमोमा भनेका कुरा सम्झिँदै बुबा रामअशिष दास भक्कानिए । बुबासँग यस्तो भनेको दुई दिनपछि अर्थात् ८ चैतमा धनुषाको सबैला नगरपालिका– ८ माठीका वीरेन्द्रले संसार छाडेका थिए । 

‘मैले हुन्छ, साहुमहाजनको कर्जा पैँचोको बढी चिन्ता नगर, भगवान्ले कुनै न कुनै रूपमा समस्या समाधान गर्छन् भनेर सम्झाएँ, तर मलाई के थाहा भगवान्ले नै यति ठूलो अन्यया गर्लान्,’ ६ चैतमा छोरासँग भएको संवाद सम्झिँदै रामअशिष शिथिल भए । 

परिवारमा कमाउने एक्लो शरीर २२ वर्षीय वीरेन्द्र नै थिए । साहुको २० लाख ऋण चुक्ता गर्ने लक्ष्य बोकेर गत जेठमा वीरेन्द्र दुबई हानिएका थिए । दुई लाख ऋण काढेर छिमेकी गाउँ मखनाहाका एजेन्ट अरविन्द यादवमार्फत दुबई गएका थिए । रामअशिषका अनुसार एजेन्टले कुनै फ्याक्ट्रीभित्रको काम लगाइदिने बताए पनि वीरेन्द्रले प्लम्बरको काम गर्नुपरेको थियो । 

‘न छोराको जीवन रह्यो, न साहुको ऋण घट्यो,’ रामअशिष फेरि भक्कानिए । वीरेन्द्रको मृत्युमा परिवार उजाडिएको छ । पहिल्यै ऋणमा थिचिएको परिवार कमाउन सक्ने छोराको मृत्युले झन् गलेको छ । जेठी छोरीको विवाह भइसकेको छ । कान्छी छोरी विवाह गर्ने उमेरकी भएकी छिन्, कान्छो छोरा पाँच कक्षामा पढ्दै छन् । ‘दुई कट्ठा खेत बेचेर जेठी छोरीको विवाह गरेँ । अहिले सम्पत्तिको नाममा घर मात्रै हो । अरूको खेतमा काम गरेर जसोतसो छाक टार्ने जोहो गर्दै आएको छु,’ रामअशिषले भने । 

वीरेन्द्रको मृत्युको खबर उनीसँगै कम्पनीमा काम गर्ने गाउँकै एक साथीले गरिदिएका थिए । तर, मृत्युको कारण अहिलेसम्म परिवारलाई थाहा छैन । बेहोस आमा देवकी अझै अचेत छिन् । कोरोनाका त्रास र लकडाउनका कारण दास परिवारलाई सम्झाउन गाउँ–समाजका मान्छे पनि आउन सकेका छैनन् । सबैला नगरपालिकाका मेयर विजयशंकर साह गाउँलेको नाताले एकपटक भेटघाट गर्न गएका थिए । त्यसपछि कुनै ढाडस र राहत दास परिवारले पाएको छैन । 

दास परिवार छोराको शव कुरेर बसेको छ । तर, लकडाउनका कारण कहिले आउने पत्तो छैन । के कारण मृत्यु भयो जान्ने र अन्तिमपटक मृत छोराको अनुहार हेर्ने दुःखद प्रतीक्षामा छन् रामअशिष । 

सिन्धुपाल्चोक : ‘छोराको शव मेरै देशमा देख्न पाऊँ’

हेलम्बु गाउँपालिका– ३ रैथानेघ्याङका दावा लामा ऋणको बोझले रन्थनिएकै वेला भूकम्पले घर ढल्यो । ऋणको भारीले बुबाको साहस खस्केको र घर ढलेको दुई दृश्यले २६ वर्षीय पेमानोर्बु लामालाई मुटुमै भाला रोपेझैँ भयो । 

बुबाको शिर र ढलेको घर उठाउन उनी विदेश जाने निर्णयमा पुगे । जस्तापाताको टहरोमा बुबा, आमा, दिदी र बहिनीलाई बस्ने मेसो मिलाएर ०७२ जेठमा उनी दुबई उडे । 

दुबईमा जागिर राम्रै पाए, पिज्जा रेस्टुरेन्टमा । ०७४ मा छुट्टी मिलाएर घर आए । विवाह पनि गरे । परिवारमा खुसीको बहार छरेर केही समयमै दुबई गए । ०७५ को अन्तिमतिर उनी अझै खुसी बोकेर घर आए । साहुको ऋण मात्रै चुक्ता गरेनन्, परिवारलाई जस्तापाताको टहरोबाट घरमा उठाए । 

तर, दुबई फर्किँदासम्म फेरि परिवारमा बेखुसी भित्रियो । त्योबीचमा श्रीमतीसँग नोर्बुको सम्बन्धविच्छेद भयो । जे भयो, भाग्यको खेल सम्झेर उनी केही समयमै फेरि रोजगारीमा फर्किए । परिवारमा खुसी थप्न फेरि संघर्षको मैदानमा डटे । 

विश्वमहामारीको रूपमा कोरोना फैलिन थालेपछि दावालाई फेरि छोराको चिन्ता लाग्न थाल्यो । भएको एउटा छोरो परदेशमा, दावाको मन पोल्न थाल्यो । नोर्बुले नआत्तिन सम्झाइरहन्थे । तर, महिना दिनअघि नोर्बुले घरमा फोन गरेर आफू हल्का बिरामी भएको खबर सुनाए । प्रेसरको बिरामी भएकाले छोराको खबर दाबाले श्रीमती माइलीलाई भनेनन् । तर, केही दिनपछि त छोराको मृत्युको खबर नै आयो । 

‘२२ चैतमा छोराको साथीले नोर्बु बेहोस भएर अस्पताल भर्ना गरेको जानकारी फोनमा गराए । ब्रेनट्युमर भएको रहेछ,’ दाबाले भने, ‘२८ चैतमा उसले संसार छाडेछ, हामीलाई भोलिपल्ट जानकारी आयो ।’ छुट्टीमा आउँदा स्वस्थ रहेका नोर्बुले मृत्युको एक महिनाअघि आफू बिरामी भएको जानकारी गराए पनि ज्यानै जाने समस्या नहोलाजस्तो लागेको दाबाले बताए । 

ऋणमा डुबेको व्यवहार उठाउने छोराकै प्राण गयो । परिवार शोकमा छ । छोराको मृत्यु सुनेपछि बेहोस माइलीको होस एक सातासम्म खुलेको छैन । दुःखको सहारा ढलेपछि दाबाका आँखा ओभाएका छैनन् । संसार छाडेर गएको छोरालाई अंगालो हालेर रुन मन छ, दाबालाई । ‘मेरो छोराको शव मेरै देशमा देख्न पाऊँ, मेरो नोर्बुको शव मातृभूमि ल्याउन पहल गरोस्,’ सरकारसँग दाबाको अनुनय छ, ‘छोराको मृत शरीर र मुख हेरेर हामी बुढाबुढी चित्त बुझाउँछौँ ।’ तर, यो महामारीमा सरकार न विदेशमा आत्तिएका नागरिक उद्धार गर्ने योजनामा छ, न मृत लास । 

नोर्बुकी दिदीको विवाह भइसकेको छ । बुबाआमा र बहिनी नोर्बुकै कमाइमा बाँचेका थिए । घरमा कमाउने अरू कोही छैन । माइलीलाई नियमित औषधि सेवन गर्नुपर्छ । बल्लबल्ल ऋणबाट उठेका दाबालाई फेरि ऋणमै डुबिएला भन्ने चिन्ता पनि छ ।