मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०६:२९:००
Read Time : > 2 मिनेट
खेलकुद

सी डिभिजन लिग : प्रतियोगिता अनिश्चित तर एन्फाको निर्देशनमा तयारी थाल्दा समस्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०६:२९:००

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले युरोपलाई नराम्रोसँग अत्याइसकेको थियो । त्यसको प्रभाव नेपालमा पनि देखिइसकेको थियो । सरकारले कुनै ठूला कार्यक्रम नगर्न निर्देशन जारी गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफूअन्तर्गतका सबै खेल संघलाई प्रतियोगिता आयोजना नगर्न निर्देशन दिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने सरकार र राखेपको निर्देशनको बेवास्ता गर्दै सी डिभिजन लिगको नयाँ मिति तय ग-यो । गत २५ फागुनमा क्लबहरूलाई बैठकमा बोलाएर एन्फाले २८ चैतबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय ग-यो । 

कोरोना त्रासबीच मोफसलका प्रतियोगिता र आफैँले घोषणा गरेको महिला फुटबल प्रतियोगिता स्थगित गरेको एन्फा सी डिभिजन लिग भने जुनसुकै अवस्थामा पनि गरिछाड्ने तयारीमा जुटेको थियो । अध्यक्ष कर्मा छिरिङ शेर्पाले खाली स्टेडियममै भए पनि प्रतियोगिता गरी छाड्ने भन्दै क्लबहरूलाई तयारी थाल्न निर्देशन दिए । अध्यक्षकै निर्देशन आएपछि तयारी थालेका क्लबहरू अहिले समस्यामा परेका छन् । 

आफ्नो कुनै आर्थिक स्रोत नै नभएको सी डिभिजनका १४ क्लबले ऋण खोजेरै तयारी अगाडि बढाए । विभिन्न ठाउँबाट खेलाडी ल्याएर प्रशिक्षण सुरु गरे । तर, भाइरस संक्रमण तीव्र बनेपछि सरकारले ११ चैतबाट लकडाउनको घोषणा ग-यो । 

एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘अझै केही ढिला भए यो सिजन  बाँकी प्रतियोगिता सम्पन्न गर्न मुस्किल हुनेछ । यद्यपि, यसबारे अवस्था सामान्य भएपछि छलफल हुनेछ ।’

त्यससँगै प्रतियोगिता पनि स्थगित भयो । तेस्रोपटक थपिएको लकडाउन अझै जारी छ । भाइरस संक्रमणको अवस्था हेर्दा लकडाउनको अवधि अझै बढ्ने सम्भावना छ । एन्फाले सी डिभिजन लिगका लागि १४ चैतसम्म खेलाडी दर्ताको मिति तोकेको थियो । लकडाउन सुरु भएपछि प्रतियोगिता पनि स्वतः रोकिएको छ । यद्यपि, एन्फाले यसबारे क्लबहरूलाई जानकारीसमेत गराएको छैन । 

‘प्रतियोगिताको मिति तय गर्दा नै अवस्था असामान्य बनिसकेको थियो । त्यसवेला नै थाहा भइसकेको थियो कि एन्फाले घोषणा गरेको मितिमा प्रतियोगिता गर्न मुस्किल छ,’ महावीर स्टडिज एन्ड एथलेटिक एसोसिएसनका अध्यक्ष दिवाकर घले भन्छन्, ‘तर, अध्यक्षले नै जसरी पनि हुन्छ भनेपछि सबै क्लबले तयारी सुरु गरे । सी डिभिजनका कुनै पनि क्लबको स्थायी आयस्रोत छैन । ऋण गरेर तयारी सुरु गरेका थियौँ । तर, अब प्रतियोगिता नहुँदा हाम्रो लागेको खर्च एन्फाले दिनुपर्छ ।’

एन्फाले प्रत्येक टोलीलाई प्रतियोगिताको तयारी गर्न ७ लाख दिने गर्छ । तर, अहिले प्रतियोगिता नै नहुने सम्भावना पनि बढ्दै छ । लकडाउनको अवधि बढ्दै जाँदा र वर्षायाम नजिकिँदै गर्दा यो सिजन  सी डिभिजन लिग नहुने सम्भावना बढ्दै गएको छ । 

भाइरस संक्रमण चाँडै नियन्त्रणमा आइहालेको अवस्थामा समेत बी डिभिजनकै बाँकी खेल सकाउनुपर्ने छ । सोही कारण यो सिजन  प्रतियोगिता हुने सम्भावना क्षीण बन्दै गएको एन्फा पदाधिकारी नै बताउँछन् । ‘अवस्था अहिले पनि उस्तै छ । यो अवस्थामा अहिले नै केही भन्न मुस्किल छ,’ एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘अझै केही ढिला भए यो सिजन  बाँकी प्रतियोगिता सम्पन्न गर्न मुस्किल हुनेछ । यद्यपि, यसबारे अवस्था सामान्य भएपछि छलफल हुनेछ ।’

प्रतियोगिता नै सम्भव नभए एन्फाले सो तयारी रकमसमेत दिनेछैन । प्रतियोगिता आयोजना गर्न मुस्किल देखिँदादेखिँदै तयारी गर्न लगाएर क्लबहरूलाई आर्थिक समस्यामा पारेपछि त्यसको क्षतिपूर्ति दिनुपर्ने एन्फा केन्द्रीय सदस्यसमेत रहेका प्लानिङ ब्वाइज युनाइटेडका अध्यक्ष दावा लामा बताउँछन् । 

दवाकर घले, अध्यक्ष, महावीर स्टडिज एन्ड एथलेटिक एसोसिएसन

कोरोना भाइरस महामारीका कारण प्रतियोगिता हुने अवस्थै थिएन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठक बोलाएर प्रतियोगिता जसरी पनि गरिछाड्ने भन्दै तयारी थाल्न क्लबहरूलाई निर्देशन दिए । प्रतियोगिताबारे छलफल गर्न बोलाएको बैठकमा अहिलेको अवस्थामा सम्भव छैन भनेर विरोध गर्ने महावीर क्लब एक्लो भयो ।

हामीले अहिलेको अवस्थामा प्रतियोगिता घोषणा गर्दा क्लबहरू समस्यामा पर्छन् भनेका थियौँ । तर, त्यसवेला बैठकमा हाम्रो आवाजलाई कसैले साथ दिएनन् । अध्यक्षकै निर्देशन र बाँकी क्लबहरू तयार भएपछि हामीले पनि तयारी सुरु ग-यौँ । दुर्भाग्यवश कोरोना भाइरसका कारण देशमा लकडाउनको घोषणा गर्नुपरेको छ । त्यससँगै प्रतियोगिता पनि रोकिएको छ । लकडाउनको अवधि लम्बिने सम्भावना र वर्षायाम सुरु हुनै लाग्दा यो सिजन  प्रतियोगिता सुरु हुने सम्भावना पनि क्षीण बन्दै गएको छ ।

अब कोरोना भाइरस चाँडै नियन्त्रणमा आएर लकडाउन समाप्त भए पनि यो सिजन  सी डिभिजन लिग हुने सम्भावना न्यून छ । चाँडै नै वर्षायाम सुरु हुँदै छ । वर्षायाम सुरु भएपछि प्रतियोगिता खेल्न सम्भव हुँदैन । यसअघि पनि वर्षायाममा सी डिभिजन लिग आयोजना गर्दा त्यसको विरोध भएको थियो । यसपटक पनि त्यो दोहोरिन सक्छ । प्रतियोगिताबारे अवस्था सामान्य बनेपछि फेरि छलफल होला । तर, यो अवधिमा तयारी थालेर आर्थिक क्षति व्यहोरेका क्लबहरूका लागि एन्फाले क्षतिपूर्ति रकमको व्यवस्था गर्नुपर्छ ।