१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ बैशाख १० बुधबार ०६:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

उदयपुरमा कोरोनाका ११ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२ पुग्याे

Read Time : > 1 मिनेट
२०७७ बैशाख १० बुधबार ०६:१९:००

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका ११ जनामा मंगलबार एकैदिन कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । भुल्केमै गत शुक्रबार १२ संक्रमित भेटिएका थिए । मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा आठ र काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालाको परीक्षणमा तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धरानमा पुष्टि भएकाहरूको त्यसअघि विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा पनि पोजेटिभ नतिजा आएको थियो । तर, त्यहाँ नयाँ मेसिन भएकाले थप पुष्टि गर्न धरान ल्याइएको थियो । 

नयाँ संक्रमित गत साता संक्रमण देखिएका व्यक्तिकै संसर्गमा गएकाहरू भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । गत साताका सबै संक्रमित कोसी अस्पतालको आइसोलेसनमा उपचाररत छन् । मंगलबारका आठ संक्रमितलाई धरानकै बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र तीनजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । 

एकै स्थानका २३ जनामा संक्रमण देखिएपछि जोखिम बढेको छ । मंगलबारको ११ नयाँ केससँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् । 

स्वास्थ्य मन्त्रालयले हालसम्म पिसिआर र आरडिटी प्रविधिमार्फत ३६ हजार सात सय १९ जनाको परीक्षण भएको जनाएको छ । पिसिआरमार्फत आठ हजार सात ६३ र आरडिटीमार्फत २७ हजार नौ सय ५६ जनाको परीक्षण भएको छ । २४ घन्टामा पिसिआरमार्फत तीन सय २४ र आरडिटीमार्फत दुई हजार आठ सय आठ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

देशभर सात हजार ६७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै, आइसोलेसनमा काठमाडौंमा ६ र बाहिर एक सय एकजना छन् । मन्त्रालयका अनुसार दुई सय ६७ जना संक्रमणको रेडजोनमा छन् । 

उता आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदिक औषधिबाट कोभिड– १९ निको पार्ने दाबी गर्दै आएका प्रचारहरू भ्रमपूर्ण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले कोभिड उपचारबारे जनतालाई भ्रमित नपार्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

‘हाम्रो देश जडीबुटीले भरिपूर्ण छ । घरभित्र र बाहिर बहुमूल्य जडीबुटी छन् । यी जडीबुटीले रोगसँग लड्ने क्षमता राख्छन्,’ उनले भने, ‘तर, त्यसको अर्थ यो होइन कि कोभिड– १९ लाई ठीक पार्छ । रोगसँग लड्ने क्षमता विकास गर्न मात्रै यी जडीबुटी प्रयोग गर्न सकिन्छ ।’