मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ९ मंगलबार २२:२६:००
Read Time : > 1 मिनेट
समाचार

पार्टीलाई सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेता–कार्यकर्तालाई प्रचण्डको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ९ मंगलबार २२:२६:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसको अवसरमा प्रचण्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,  'पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।'

यस्तो छ प्रेस विज्ञप्ति 

प्रेस वक्तव्य

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिस्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको छ । यस ऐतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता र घाइते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिस्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ । कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मुख संविधान, सामाजिक न्यायलगायतका महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।

परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो । पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको छ । तसर्थ, सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरूले सुझाएका सुरक्षाका उपायहरूलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड– १९ विरुद्ध एकताबद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आमजनसमुदायमा हार्दिक अपिल गर्दछु । अन्त्यमा नेकपाको ७१औँ स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा–श्रमजीवी वर्ग र आमजनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

९ वैशाख, २०७७ 

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष