१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ बैशाख ९ मंगलबार १९:१३:००
Read Time : > 5 मिनेट
विश्व

कोरोना भाइरसको महामारी भोगिरहेको अमेरिकामा गाँजा व्यापार खुला गर्ने बहस 

Read Time : > 5 मिनेट
एजेन्सी
२०७७ बैशाख ९ मंगलबार १९:१३:००

०३३ मा तत्कालीन सरकारले नेपालमा लागुऔषध (नियन्त्रण) ऐन ल्यायो । ऐनले चिकित्सा प्रयोजनका लागि बाहेक गाँजालाई लागुऔषधको रूपमा परिभाषित गऱ्यो । र, यसको खेती, उत्पादन, खरिद, बिक्री–वितरण, निकासी–पैठारी, ओसार–पसार, सञ्चय वा सेवन गर्न सो ऐनमार्फत निषेधित गरियो ।    

गाँजालाई लागुऔषधको रूपमा परिभाषित गर्दै सरकारले सो ऐनमार्फत विभिन्न सजायसमेत निर्धारण गरेको थियो । अधिकतम सजाय ‘दुई वर्षदेखि दश वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना’को व्यवस्था सो ऐनमा गरिएको छ ।  

भियतनाम युद्धका कारण निराश अमेरिकी युवाहरू आफ्नो निराशा मेट्न हिप्पीको रूपमा नेपाल आउँथे, नेपालमा गाँजा सर्वसुलभ भएकाले गाँजाको सर्को तानेर मदहोस हुन्थे ।  

उत्पादनशील काममा लाग्नुपर्ने युवा यसरी हिप्पीको भेषमा संसार डुलेर गाँजाको सर्को तान्दै बसिदिँदा आर्थिक रूपमा अमेरिकालाई नोक्सान पर्थ्याे । त्यसैले, नेपालमा पनि गाँजाखेतीलाई अवैध गर्न अमेरिकाले दबाब दियो । र, नेपाल सरकारले पनि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ जारी गऱ्यो । त्यसैले, नेपालमा गाँजा उत्पादन र बिक्री–वितरणमा बन्देज लगाइनुमा अमेरिकी सरकारको दबाबले महत्वपूर्ण भूमिका खेलेको थियो ।  

अमेरिका अहिले कोरोना भाइरसको महामारीले आक्रान्त छ । मंगलबार साँझ (९ वैशाख) यो समाचार सामाग्र तयार पार्दासम्म अमेरिकामा ७ लाख ९४ हजार ३ सय ३० जनामा संक्रमण देखिएको अमेरिकामा साढे ४२ हजार ६ सय ३४ ले संक्रमणका कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटरको तथ्याङ्कमा छ ।

कोरोना नियन्त्रण हुन नसक्दा अमेरिकामा लाखौँले रोजगारी गुमाएका छन् । विश्वका अन्य कुनामा जस्तै अमेरिकामा पनि सन्त्रास र छटपटी व्याप्त छ । संक्रमण र बेरोजगारीको भयले अमेरिकीहरू छटपटाएका छन् । 

कोरोना भाइरसको संक्रमणले सिर्जना गरेको यो स्थितिलाई आधार बनाएर यतिवेला अमेरिकामा गाँजाखेती र बिक्री–वितरणको पक्षमा आवाज उठ्न थालेको छ नै । गाँजाको पक्षमा वकालत गर्ने समूहहरूले गाँजासम्बद्ध व्यवसायका लागि सरकारको तर्फबाट राहत प्याकेजसमेत खोजिरहेका छन् । 

अमेरिकी अनलाइन पोर्टल ‘द हिल’का अनुसार गाँजा उद्योगले अमेरिकाका कतिपय राज्यमा राज्यस्तरबाट पहिले नै सहयोगसमेत पाउँदै आएका छन् । अमेरिकाका बीसवटा राज्यका अलावा कोलम्बिया र पोर्टोरिको जिल्लामा कोरोना महामारीलाई आधार बनाएर गाँजाबाट औषधि बनाउने उद्योगहरू खुला राखिएका छन् । 

यी दुई जिल्लाबाहेक अमेरिकाका आठवटा राज्यले मनोरञ्जन (सेवन गरिने) र गाँजा औषधालयहरू सञ्चालन गर्न अनुमति दिएका छन् । गाँजा व्यवसायको वकालत गर्ने समूहहरूले अन्य अमेरिकी राज्यमा पनि गाँजा बजार खुला गरिदिन यही वेला अनुमतिका लागि प्रयास गरिरहेका छन् । उनीहरूले राज्यले प्रदान गर्ने सहायता प्याकेजका लागि आवश्यक कोषको अपेक्षा पनि गरेका छन् । 

त्यहाँको संघीय (केन्द्रीय) सरकारले भने गाँजालाई अझै नियन्त्रित पदार्थको रूपमा वर्गीकृत गरेको छ । यही कारण अहिलेसम्म गाँजा नियन्त्रणलाई खुकुलो बनाउन खोज्नेहरूको प्रयास असफल भइरहेको छ । 

अमेरिकी कंग्रेसबाट गत मार्चमा २.२ ट्रिलियनको कोरोना भाइरस सहायता, राहत र आर्थिक सुरक्षा (केयर्स) ऐनले २.२ खर्ब डलर प्रोत्साहन प्याकेज पारित भएको थियो । सो प्याकेजले गाँजा आधारित व्यवसायमा संलग्न साना व्यवसायलाई ऋण लिन निषेध गरेको छ ।   

तर, गाँजामा आधारित व्यवसाय गर्ने समूहहरूले सो राहत प्याकेज भेदभावकारी भएको दाबी गरेका छन् । र, अर्को सहायता प्याकेज ल्याइँदा आफूहरूको मागको पनि सम्बोधन गर्नुपर्ने अर्थात् राहत प्याकेजले गाँजामा आधारित व्यवसायलाई पनि समेट्नुपर्ने दबाब दिइरहेका छन् । 

‘यो संकटबाट पार पाउन अन्य व्यवसायीहरूले कर्मचारीको संरक्षण गर्नुपर्ने माग गरिरहेका छन्, गाँजा व्यवसायीहरूले पनि त कर्मचारीहरूको संरक्षणका लागि उनीहरूलाई तलब दिनुपर्ने हुन्छ,’ राष्ट्रिय गाँजा उद्योग संघका मिडिया सम्बन्ध निर्देशक मोर्गन फक्स भन्छन्, ‘अन्य व्यवसायीहरूले झैँ गाँजा व्यवसायीहरूले पनि  कडा आर्थिक बोझको सामना गर्नुपरेको छ ।’  

गाँजाको पैरवी गर्ने समूहले अघिल्लो साता गभर्नरहरूलाई एउटा पत्रसमेत पठाएका थिए । त्यो पत्रमा राज्यस्तरमा गाँजा व्यवसायीहरूलाई ऋण उपलब्ध गराउन र आफ्ना महासंघीय प्रतिनिधिमण्डललाई अर्को संघीय राहत प्याकेजमा समावेश गर्न आग्रह गरिएको छ ।   

सभामुख नेन्सी पेलोसी र रिपब्लिकन सिनेटर एड पर्लमुटरले गाँजा उद्योगलाई ऋण उपलब्ध गराउनका लागि प्रयास गरिरहेको भन्ने आफूले सुनेको फक्सले बताएका छन् । यसबारेमा पेलोसीले कुनै प्रतिक्रिया दिएकी छैनन् । तर, पर्लमुटरले भने ऋण प्रदान हुन्छ भन्नेमा आफू आशावादी रहेको बताएका छन् । 

‘संकटको यो समयमा साना गाँजा उद्योग (एसबिए) पनि राहत कोषका लागि योग्य छन् भन्ने कुरामा मैले जोड दिनेछु,’ पर्लमुटरले भनेका छन्, ‘यस विषयमा सदनमा छलफल भइरहेको छ । आशा गरौँ, आगामी दुईपटकका राहत प्याकेजमा गाँजा उद्योगलाई सहायता प्रदान गर्न सकिनेछ ।’  

गाँजाजन्य वस्तुको कारोबारसम्बन्धी राष्ट्रिय संघ (एनएसिबी) ले गाँजा पसल (औषधिजन्य प्रयोगका लागि) हरूका लागि पनि काम गरिरहेको छ । 

‘गाँजा व्यवसायका लागि रिकभरी कोष प्रयोग गर्न र गाँजा व्यवसाय खोल्नका लागि यतिवेला अनुकूल स्थितिमा छौँ, तर त्यहाँ (संसदमा) यो काम गर्न सक्ने व्यक्तिहरू छन्,’ एनएसिबीका प्रमुख अपरेटिङ अफिसर मार्क गोर्मन भन्छन्, ‘मलाई लाग्छ– पेलोसीले यसलाई बुझेकी छिन् ।’  

उद्योगी समूहहरू पनि राहत सहायताका लागि प्रयास गरिरहेका छन् । ब्राउनस्टिन हायात फार्बर स्रेकले गाँजा ट्रेड महासंघको तर्फबाट गाँजा कम्पनीलाई केयर्स ऐनमार्फत सहयोग पुऱ्याउन कांग्रेससँग पैरवी गरिरहेका छन् । ब्राउनस्टेनका मेलिसा कुइपर्स ब्लेक भन्छिन्, ‘यी कम्पनीहरूलाई अगाडि बढाउन अहिले अमेरिकी सदनमा प्रभावकारी छलफल भइरहेको छ ।’  
 
सन् २०१९ मा गाँजा व्यवसायको पक्षमा वकालत गर्नेहरूले गाँजा कारोबारमा वित्तीय संस्थालाई अनुमति दिने गरी राज्यले कानुन पारित गर्ने आशा गरेका थिए । गत सेप्टेम्बरमा कंग्रेसको तल्लो सदनले बैंकहरूले गाँजा कारोबारमा सहयोग पुऱ्याउन सक्ने गरी कानुन पारित गऱ्यो पनि । तर, माथिल्लो सदनमा यो कानुन पारित हुन सकेन । 

कोरोना भाइरसको महमारीका समयमा संघीय सरकार र राज्य सरकारबीचको विभाजनका कारण गाँजा व्यवसायीहरू आफ्नो मुद्दामा ध्यान आकर्षित गर्न सकिने कुरामा आशावादी छन् । 

महामारीको समयमा पनि गाँजाको बिक्री–वितरण उच्च बिन्दुमा पुगेको छ । गाँजाको मेडिकल प्रयोग गर्नेहरूको रेकर्ड उच्च रहेको छ । १६ मार्चसम्म सातामा ६४ प्रतिशतले यसको बिक्रीमा वृद्धि भएको थियो । बिक्री र आम्दानी उच्च हुँदाहुँदै पनि गाँजा व्यवसायको पक्षमा पैरवी गर्नेहरूले साना व्यवसाय अझै खुला गर्न ऋण आवश्यक रहेको बताएका छन् । 

महामारीको समयमा गाँजा बजारलाई खुला राख्न सकिए पनि महामारीका कारण हुने क्षतिको समना गर्न कठिन भएकाले राहतका लागि प्रयास गरिएको पैरवीकर्ताहरूले बताएका छन् । उनीहरू भन्छन्, ‘केही समय खुला रहनु र महामारीका बाबजुद यसलाई जोगाएर राख्नु फरक कुरा हो ।’  

गाँजाको बिक्री उच्च रहेको अवस्थामा सरकारसँग गाँजा व्यवसायीहरूले राहतको माग गरेपछि यी कम्पनीले विरोधको सामना पनि गर्नुपरेको छ । विरोध गर्नेहरूले गाँजा व्यवसायीले राहतको अपेक्षा गर्नु ‘हास्यास्पद’ भएको टिप्पणी गरेका छन् । 

स्मार्ट अप्रोचेच टु मारिजुआना (एसएएम) का अध्यक्ष केभिन साबेट भन्छन्, ‘गाँजाको ब्रिकीले यसअघि नै रेकर्ड कायम गरिसकेको छ । तैपनि जुन आत्मविश्वासका साथ उनीहरूले राहत मागेका छन्, यो आफैँमा हास्यास्पद छ ।’ साबेटले ‘भविष्यमा पनि गाँजा व्यवसायलाई कंग्रेसले राहत प्याकेज दिन अस्वीकार गरिरहनेछ भन्नेमा आफू आशावादी रहेको’ बताएका छन् ।

स्मरणीय छ, साबेटले नेतृत्व गरेको संस्था ‘एसएएम’ गाँजाजन्य वस्तुले मानव स्वास्थ्यलाई के–के हानि गर्छ भन्ने कुराका विज्ञानसम्मत जानकारीविना गाँजाको व्यावसायिक बिक्री वितरण गर्न नहुने मान्यता राख्छ । 
 
कार्नेगी मेलन विश्वविद्यालयअन्तर्गतको हेइन्ज कलेजका प्राध्यापक जोनाथल काउलकिन्सले गाँजा व्यवसायको पक्षमा किन पैरवी भइरहेको छ, त्यसको कारण औँल्याएका छन् । उनका भनाइमा, संघीय कानुनअनुसार गाँजा पसल अवैध रहे पनि तिनीहरूले राज्यस्तरबाट भने अनुमति पाएका छन् । ‘यस्तो दोहोरो नीति आफैँमा बेवकुफ विषय हो,’ उनी भन्छन्, ‘यो अवस्थामा उनीहरूले जित्न सक्दैनन् भन्ने छैन ।’

राजधानी वासिंगन डिसीमै आफ्नो पक्षमा पैरवी गर्ने शक्ति र सामर्थ्य रहेकाले उनीहरू आफ्नो योजना सफल हुन सक्ने सम्भावना उनले देखेका छन् ।   

गाँजा पैरवी समूहले हाल म्यासाचुसेट्सका गभर्नर चार्ली बेकरलाई दबाब दिइरहेको छ । राज्यमा गाँजा प्रयोग वैधानिक भए पनि बेकरले मनोरञ्जनका लागि प्रयोग गरिने गाँजा बिक्री–वितरण केन्द्रहरू बन्द गरिदिएका थिए । त्यसैले, यो समूहले ती डिस्पेन्सरीहरू खुलाउन दबाब दिइरहेको छ । 

‘एकातिर हामीले मानव स्वास्थ्यको ख्याल राख्नुपरेको छ, अर्कोतिर रोजगारीमा पनि ध्यान दिनुपरेको छ,’ काउलकिन्सल भन्छन्, ‘रोजगारी र स्वास्थ्य दुवैमा सन्तुलन मिलाउनु निकै कठिन काम हो ।’ 

नेवाडा राज्यमा गाँजाका पसलहरू बन्द गरिए पनि बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको त छैन । तर, अमेरिकाको उत्तर–पूर्वी राज्य माइनले भने गाँजा पसल सञ्चालनका लागि अनुमति दिने घोषणा हालसालै गरेको छ । 

म्यासाचुसेट्स राज्यमा गाँजाजन्य वस्तुको कारोबारसम्बन्धी राष्ट्रिय संघ (एनएसिबी) ले मदिरा पसलजस्तै गाँजा व्यवसाय पनि खुला गर्नुपर्ने माग गर्दै गभर्नर बेकरलाई पत्र लेखेको थियो । 
गाँजाको व्यवसाय बन्द गरिए उपभोेक्ताले अनुमति नभएका यस्तै वस्तुहरूको प्रयोग गर्न सक्ने र यसले स्वास्थ्यमा जोखिम बढाउने खतरा रहेको औँंल्याउँदै गाँजा पसलका लागि अनुमति दिन माग गरेका थिए ।  
‘रक्सी पसल खुला हुँदा गाँजा व्यवसाय बन्द गर्नुपर्ने कुनै कारण हुँदैन,’ गार्मन भन्छन् । 

स्मार्ट अप्रोचेच टु मारिजुआना (एसएएम) भने ‘महामारी फैलिइरहेको समयमा स्वास्थ्य अधिकारीहरूले धुँवाजन्य पदार्थको प्रयोग नगर्न चेतावनी दिइरहेका वेला गाँजा बेचिने पसलहरू खुला राखिँदा सार्वजनिक स्वास्थ्यमा खतरामा पर्ने’ दाबी गर्दै आएको छ । 

उपरोक्त कुराहरूले के देखाउँछन् भने, अमेरिकामा कोरोना भाइरसको प्रकोप वृद्धि हुँदै जाँदा गाँजा उद्योगलाई वैधानिकता दिनेसम्बन्धी बहस फेरि पुनर्जीवित हुन पुगेको छ । एनएसिबीले गाँजालाई वैधानिकीकरण गरेपछि यसले राज्यको अर्थव्यवस्था वृद्धि गर्ने बताएको छ ।    

‘गम्भीर आर्थिक मन्दी भएको अवस्थामा यो एउटा महत्वपूर्ण अवसर पनि हो, पेन्सिल्भेनिया, न्युजर्सी, न्युयोर्क र कनेक्टिकटजस्ता राज्यका लागि यसो गर्नु अझ महत्वपूर्ण छ,’ एनएसिबीका प्रमुख अपरेटिङ अफिसर मार्क गोर्मन भन्छन्, ‘उनीहरू पनि छिटै गाँजा वैधानिक गर्नेतर्फ लाग्नुपर्छ ।’