मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १४:२६:००
Read Time : > 1 मिनेट
समाचार

सरकारले जारी गरेका अध्यादेशहरू आपत्तिजनक भएको भन्दै नेपाली कांग्रेसद्वारा फिर्ता लिन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १४:२६:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार जारी भएका अध्यादेशहरू आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । विश्व कोरोना भाइरससँग लडिरहेका वेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले जारी भएका अध्यादेशहरू फिर्ता लिन सरकारसँग माग गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरू फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दु:खद भएको कांग्रेसले जनाएको छ । 

लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरू हिँड्दै गाउँगाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रूपमा अध्यादेश ल्याउनु दु:खद भएको कांग्रेसको ठहर गरेको प्रवक्ता शर्माले बताए । 

जनता घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै उनले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएकाले तत्काल फिर्ता लिनुपर्ने कांग्रेसको माग रहेको उनले बताए । संवैधानिक निर्णयहरू साझा स्वामित्वबोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतका आधारमा निर्णय गर्न सकिने विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको शर्माको भनाइ छ । 

नागरिकको जीवनप्रति गम्भीर हुँदै सबै विषय थाती राखेर कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने अभियानमा ध्यान दिन कांग्रेसले सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले सरकारको निर्णयविरुद्ध मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताए । 

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन र डेमोक्र्याट लयर एसोसिएसनले एउटै समयमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । 

सरकारले ल्याएको उक्त अध्यादेशप्रति कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।