Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख ९ मंगलबार ११:०५:००
Read Time : > 2 मिनेट
समाचार

लाङटाङ राष्ट्रिय निकुञ्जमा चोरी तस्करी बढ्यो

Read Time : > 2 मिनेट
२०७७ बैशाख ९ मंगलबार ११:०५:००

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढेको छ । सरकारले जारी गरेको लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रको जंगलमा प्रवेश गरी अवैध रूपमा चोरी तस्करी बढेको हो । लकडाउनको समयमा सबै फुर्सदमा हुने र अनधिकृत रूपमा निकुञ्जको वन क्षेत्रमा प्रवेश गरी वन पैदावार तथा वन्यजन्तुको चोरी तस्करी गर्ने बढेको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर तथा सूचना अधिकारी रमेश बस्नेतले बताए ।

 ‘अहिले त विद्यालयहरू पनि सबै बन्द छ, विद्यार्थीहरू पनि जंगलमा बर्खे दाउरा संकलनका लागि जाने गरेका छन्,’ उनले भने, ‘दाउरा संकलन गर्ने, काठ चोरी गर्ने, सिकारका लागि जंगलमा जाने, गुलेली खेल्ने, पासोहरू खेल्ने, बढेको पाइएको छ ।’ सरकारले जारी गरेको लकडाउन सुरु भएयता हालसम्म निकुञ्ज क्षेत्रका जंगलमा प्रवेश गरी अवैध गतिविधिमा संलग्न भएका २४ जनालाई कारबाही गरिएकोसमेत बस्नेतले बताए ।

 रातको समयमा पाहाको सिकारका लागि गएका चार जना र अन्य २० जना अनधिकृत रूपमा काँचो दाउरा काट्ने र घाँस काट्न गएकाहरू रहेको बताइएको छ । उनले भने,  ‘निकुञ्ज क्षेत्रमा प्रवेश गरी रातको समयमा पाहाको सिकार गर्ने चारजना भेटिएको छ भने अरूचाहिँ धेरैजसो अनधिकृत रूपमा काँचो दाउरा, घाँस काट्ने रहेको पाइएको छ। ’

उनीहरूलाई निकुञ्ज कार्यालयमा लगी संरक्षणसम्बन्धी सचेतना दिई निकुञ्जको मध्यवर्ती समिति र व्यवस्थापन समितिका अध्यक्षको रोहवरमा पुनः यस्ता गतिविधि नगर्ने सर्तमा कागज गरी छोडिएको उनले बताए । पुनः निकुञ्ज क्षेत्रमा प्रवेश गरी अनाधिकृत रूपमा अवैध गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिनेसमेत उनले बताए । 

लकडाउनको समयमा सबैजना फुर्सद हुने र चोरी सिकारमा संलग्न रहेको पाइएको निकुञ्जले जनाएको छ । चोरी तस्करी बढ्न थालेसँगै पछिल्लो समय गस्ती बढाइएको जनाइएको छ । ०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको सात प्रतिशत भूभाग ओगटेको छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्न फागुन १ गतेदेखि ४ महिनाका लागि महाहन्ट अप्रेसन ६ अभियान सञ्चालनमा भइरहेको छ । निकुञ्जको रसुवासहित नुवाकोट र सिन्धुपाल्चोक गरी तीनवटै जिल्लामा अभियान सञ्चालन भइरहेको बताइएको छ । ०७७ जेठ ३२ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत आगलागी नियन्त्रण, अवैध क्रियाकलाप नियन्त्रणलगायतका कार्यक्रम गरिने जनाएको छ । अप्रेसन अभियानभर निकुञ्जको सुरक्षाका लागि खटिएको कालीजंग गणका सेना परिचालन भएका छन् । सेनाको १८ वटा पोस्ट रहेको छ । ती पोस्टबाट दैनिक रूपमा गस्ती भइरहेको छ । 

त्यसैगरी रसुवामा वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) संक्रमण नफैलियोस् भन्दै सरकारले जारी गरेको लकडाउनको मौका छोपी वन र वन्यजन्तुको चोरी सिकार बढेपछि डिभिजन वन कार्यालय रसुवाले आइतबारदेखि वन क्षेत्रमा प्रवेश निषेध गरेको हो । लकडाउनको समयमा मानिसहरूले अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने, वन्यजन्तुको चोरी सिकारी गर्ने तथा वन पैदावरको चोरी निकासी गर्नेजस्ता वन अपराधका गतिविधि वृद्धि हुन लागेकोले लकडाउनको अवधिभर डिभिजन वन कार्यालय रसुवाको कार्यक्षेत्रभित्र सम्पूर्ण वन क्षेत्रमा प्रवेश निषेध गरिएको डिभिजन वन कार्यालय रसुवाकी डिभिजन वन अधिकृत शोभा सुवेदीले बताइन् ।

 वनको क्षेत्राधिकारभित्रका राष्ट्रिय वन (सामुदायिक वन,सरकारद्वारा व्यवस्थित वन) क्षेत्रमा वन संरक्षणका गतिविधिबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम वन क्षेत्रको जंगल प्रवेशमा निषेध गरिएको उनले बताइन् । डिभिजन वन कार्यालय रसुवाले आइतबार एक सूचना निकालेर वन क्षेत्र प्रवेश निषेध गरिएको जनाएको छ ।  

वन क्षेत्रमा आफूखुसी प्रवेश गरेमा वन ऐन, २०७६ को दफा ५० (१) (ख) बमोजिम एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेसमेत सूचनामा भनिएको छ । सबै सामुदायिक वन उपभोक्ता समूहलाई लकडाउनको अवधिमा संरक्षणमुखी विशेष कार्ययोजना बनाउँदै संरक्षण गर्न पत्राचार गरिएकोसमेत सुवेदीले बताइन् । त्यस्तै, अन्य अत्यावश्यक कार्यका लागि विनापास वन प्रवेश निषेध गर्न जिल्लाका सबै वन उपभोक्ता समूहलाई निर्देशनसमेत दिइएको छ ।