१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लकडाउन लम्बिँदै गएपछि घर जान उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुरको जगातीमा जम्मा भएका यात्रु । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०८:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

घर जाने प्रतीक्षामा क्यान्सरका बिरामीदेखि मजदुरसम्म

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०८:४०:००

भक्तपुरको जगातीमा भेटिएका मजदुर भन्छन् – भोकभोकै मर्नुभन्दा घर फर्कनु नै बेस 

भक्तपुरको जगातीस्थित सडक किनारामा सोमबार टाँगेको पालमुनि फराकिलो म्याट्रेस बिछ्याइएको देखियो । म्याट्रेसमाथि झोला बिसाएर सयभन्दा धेरै यात्रु बसेका थिए । घर फर्कन बसको प्रतीक्षामा रहेका उनीहरू घरी हुइँकिँदै गरेको ट्रक रोक्न सडक किनारसम्म पुग्थे, घरी फोनसमेत नउठाएको भन्दै जनप्रतिनिधिविरुद्ध आक्रोश पोख्थे ।

घर जान भनी हिँडेका मानिसको भिडमा भेटिइन्, ताप्लेजुङ श्रीजंघा–५ तेल्लोकी ४४ वर्षीया सीता अधिकारी । स्तन क्यान्सरबाट पीडित उनमा शनिबार मात्रै किमोथेरापी चढाइएको थियो । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत उनलाई चिकित्सकले आइतबार नै घर जान सल्लाह दिएका थिए । उपचारका क्रममा १९ लाख रुपैयाँ रित्तियो । घर जान खर्च नभएपछि उनलाई अस्पतालकै बिरामीका कुरुवाले चन्दा उठाइदिए । त्यही पैसा लिएर उनी श्रीमान्सँगै जगाती त आइपुगिन्, तर जाने टुंगो नभएपछि म्याट्रेसमै लम्पसार परिन् । 

क्यान्सरको उपचार गराउन उनी फागुनमै काठमाडौं आएकी थिइन् । नजिकै रहेका उनका श्रीमान्ले नयाँ पत्रिकासँग भने, ‘श्रीमतीको क्यान्सरको उपचार गर्दा १९ लाख सकियो । शनिबार पनि उधारोमा किमो चढाएका छौँ । तर, अस्पतालले हिजै (आइतबार) घर जान भन्यो । खर्च नभएपछि चन्दा उठाइयो । अब घर जान पाइन्छ कि भनेर यहाँ आइयो । तर, जाने टुंगो अझै लागेको छैन ।’

झापासम्म मात्रै पुग्न सकिए पनि श्रीमतीलाई बचाउन सकिने उनी बताउँछन् । तर, सोमबार साँझसम्म पनि जाने टुंगो नलाग्दा उनी बेचैन देखिए । काठमाडौंमा चिनजानका कोही नभएको बताउँदै उनले भने, ‘झापासम्म मात्रै पुग्न सकिए पनि हुन्थ्यो । त्यसपछि जसोतसो ज्यान बाँच्थ्यो । तर, त्यहीँसम्म जाने मेसो मिलेन । यतिवेला हामीसँग बस चढ्ने खर्च त के, खानका लागि समेत पैसा छैन ।’ उपचारकै क्रममा देश लकडाउन भयो । अस्पतालले उपचार जारी राखे पनि  कोरोना भाइरसको त्रासका कारण उपचार नसकिँदै घर पठाउन सल्लाह दियो । आगामी २८ वैशाखमा पुनः आउनुपर्ने अस्पतालको सुझाब सुनाउँदै उनले भने, ‘१९ लाख खर्च सकिए पनि उपचार पूरा भएन । फेरि २८ वैशाखमा आउन भनेको छ । लकडाउन कायमै रहे अब कसरी आउने ठेगान छैन ।’

जगातीमै भेटिए खोटाङ दिक्तेलका ४९ वर्षीय भोला रम्तेल । झोलासहित पुगेका उनी घर फर्कने मनस्थितिमा थिए । तर, जाने टुंगो नहुँदा उनी पनि निराश देखिए । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनको लकडाउन लम्बिँदा खर्च सकिएको छ । चैत महिनाको कोठाभाडा मरिसक्यो । तर, तिर्ने पैसा छैन । त्यसैले सधैँका लागि कोठा बन्द गरेर घर फर्कन लागेको उनले सुनाए । परिवारसहित जगाती पुगेका उनले भने, ‘ज्याला मजदुरी गर्छु । काम नभएको महिना दिन भयो । खल्तीको रकम सकियो । यहाँ त भोकभोकै मर्नुपर्ने अवस्था आयो । त्यसैले कोठा सधैँका लागि बन्द गरेर घर जान यहाँ आएको । तर, कसरी पो जाने हो ?’ 

तीन दिनमा १३ सय घर फर्के 

जगातीकै सडकमा रोकिराखेको मालवाहक ट्रकका पछाडि चढ्न यात्रु तँछाडमछाड गर्दै थिए । काखमा बच्चा च्यापेका महिलादेखि लौरोको सहारामा पुगेका वृद्धवृद्धासम्म ट्रकमा चढ्न खोज्दै थिए । ट्रकभित्र न सामाजिक दूरी कायम थियो, न भाइरस सर्ने भय नै । जसरी पनि घर पुग्ने हुटहुटीबाहेक उनीहरूमा केही थिएन । 
यात्रुको व्यवस्थापन गर्न काभ्रे पाँचखाल–५ का अध्यक्ष बालकृष्ण सापकोटा खटिएका थिए । रोगले भन्दा पनि भोकले मर्ने चिन्ता जनतामा बढेको देखिएको उनी बताउँछन् । यही मनोविज्ञान सम्बोधन गर्न तीन दिनदेखि अलपत्र परेका यात्रुलाई घर फर्काउन सुरु गरिएको उनले बताए । ‘ट्रकमा चढ्न प्रतिस्पर्धा छ । न सामाजिक दूरीले यहाँ काम गर्‍यो न मास्क लगाउनुपर्ने बाध्यता देखियो । अलपत्र परेका यात्रु जसरी पनि घर फर्कन चाहेको देखियो,’ सापकोटाले भने ।

तीन दिनयता एक हजार तीन सय यात्रुलाई यसैगरी घर फर्काइएको उनले जानकारी दिए । उनीहरूका लागि खाने र जाने खर्चको प्रबन्ध देउसी खेलेर जम्मा गरिएको रकमबाट भएको सापकोटाको भनाइ छ । यात्रु उद्धारका क्रममा ३० भन्दा धेरै ट्रक परिचालन भएको उनले सुनाए ।