१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुनिता खनाल काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ११:११:००
Read Time : > 1 मिनेट
नयाँCity

भिडियो कन्फरेन्सबाट क्लास

Read Time : > 1 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ११:११:००

इटहरीको कोसी सेन्टजेम्स कलेजले नयाँ वर्षदेखि नयाँ सुरुवात गर्‍यो । कोरोना भाइरस सर्ने जोखिमका कारण कलेज बन्द छ । शिक्षक र विद्यार्थी घरमै बन्द छन् । कोर्सको सेमेस्टरको समय भने घर्किंदै गएको छ । त्यसैले कलेजले ‘जुम क्लाउड एप’मार्फत भिडियो कन्फरेन्स क्लास सुरु गरेको छ ।

‘ब्याचलर इन कम्प्युटर एप्लिकेसन्स’ विषयको पढाइमा कलेजले नयाँ प्रविधि प्रयोग गरेको हो । विद्यार्थीको पढाइ बिग्रिन नदिन जुम एपमार्फत क्लास अगाडि बढाइएको कलेजका सिइओ शशी श्रेष्ठ बताउँछन् ।

यस कलेजका अध्यक्ष हुन्, कवि मनु मञ्जिल । शिक्षकहरू उपज भट्टराईले सोसाइटी एन्ड टेक्नोलोजी, शशी श्रेष्ठले कम्प्युटर फन्डामेन्टल, रामजी तिमल्सिनाले अंग्रेजी र राजीव शाहले गणितका कक्षा लिएर भिडियो कन्फरेन्स क्लासको परीक्षण गरेका थिए । निकै प्रभावकारी देखिएपछि २ वैशाखदेखि नियमित कक्षा सञ्चालन गरिएको छ ।

आ–आफ्ना घरमै बसेर शिक्षक र विद्यार्थी पठनपाठनमा सहभागी हुन्छन् । शिक्षकले एपमा रहेको ह्वाइट बोर्ड प्रयोग गर्छन् । विद्यार्थी सोही बोर्डमा आँखा झिमिक्क नपारी हेरिरहन्छन् ।

लकडाउन लम्बिँदै गयो भने सबै कक्षा यसरी नै सञ्चालन गर्ने तयारी रहेको कवि मञ्जिल बताउँछन् । आ–आफ्ना घरमै बसेर शिक्षक र विद्यार्थी पठन–पाठनमा सहभागी हुन्छन् । शिक्षकले एपमा रहेको ह्वाइट बोर्ड प्रयोग गर्छन् । विद्यार्थी सोही बोर्डमा आँखा झिमिक्क नपारी हेरिरहन्छन् ।

शिक्षकले पावरप्वाइन्टमा पाठ्य सामग्री प्रदर्शन गर्छन् । विद्यार्थीले त्यसमार्फत नोट तयार पार्छन् । विकसित मुलुकमा शिक्षकले त्यसरी नै कक्षा लिएको युट्युबमा देखेका थिए, श्रेष्ठले । लकडाउनका कारण आफैँले त्यसरी नै कक्षा लिँदा उनी दंग छन् । घरमै बसेर अंग्रेजी कक्षा चलाइरहेका शिक्षक तिमल्सिना पनि विद्यार्थीबाट राम्रो प्रतिक्रिया आइरहेको बताउँछन् । शिक्षक कक्षामा उपस्थित भएपछि विद्यार्थी साइन इन गरेर त्यसमा सामेल हुन्छन् । त्यसका लागि सबै विद्यार्थीलाई युजरनेम र पासवर्ड दिइएको छ ।

भिडियो कन्फरेन्स क्लासमा शिक्षक र विद्यार्थी अलग–अलग ठाउँमा हुन्छन् । आ–आफ्ना ठाउँको हल्लाका कारण कक्षा प्रभावित हुने भएकाले माइक्रोफोनको साउन्ड म्युट गर्नुपर्ने नियम बनाइएको छ । आफ्ना कुरा राख्न मात्र विद्यार्थीले साउन्ड अनम्युट गर्छन् । अन्यथा शिक्षकले बोलेको एकोहोरो सुनिरहन्छन्, विद्यार्थीले । अझै पनि, इन्टरनेटको पहुँचमा नभएको विद्यार्थी कक्षा लिनबाट वञ्चित हुने जोखिम छँदै छ । त्यस्तो जोखिम हटाउन प्रयासरत रहेको कलेजका अध्यक्ष मञ्जिल बताउँछन् ।