मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ बैशाख ८ सोमबार ०८:४८:००
Read Time : > 4 मिनेट
अर्थ

विनाउडान विदेशी पाइलटलाई मासिक ३ करोड तलब–भत्ता खुवाउँदै वायुसेवा निगम

Read Time : > 4 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ बैशाख ८ सोमबार ०८:४८:००

संसारभरका एयरलाइन्सहरूले पाइलट र कर्मचारीहरू कटौती गर्दै तलब र भत्ता रोकेका छन् । तर, नेपाली पाइलट हुँदाहुँदै निगमले १३ जना विदेशी पाइलटलाई विनाउडान मासिक ३ करोडभन्दा बढी तलब र भत्ता दिदै आएको छ । जबकी जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सहमति भइसकेको छ ।

.........................

कोभिड–१९ संक्रमणका कारण संसारभरका एयरलाइन्सहरूले कर्मचारीसहित पाइलट कटौतीको निर्णय गरिरहेका छन् । तर, नेपाल वायुसेवा निगमले भने कटौती गर्नुको सट्टा विदेशी पाइलटको तलबमा करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । नेपाल सरकारले चैत १० देखि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध वैशाख १८ सम्म बढाइएको छ । 

१४ सयभन्दा बढी कर्मचारी रहेको निगममा मासिक ८ करोड रुपैयाँ तलबमा खर्च हुन्छ । तर, निगममा अझै बढी तलब खाने १३ जना विदेशी पाइलटहरू कार्यरत छन् । उनीहरूका लागि मात्रै मासिक ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।

विदेशी पाइलटका लागि मासिक अहिले पनि २ करोड ३० लाख रुपैयाँ निगम व्यवस्थापनले तिरिरहेको छ । त्यसमा करबापत ३६ प्रतिशत रकम ८३ लाख स्वयं निगमले तिर्ने गरेको एक उच्च अधिकारीले बताए । यसरी निगमले ३ करोड १ लाख विदेशी पाइलटको भार मासिक व्यहोर्ने गरेको छ ।

उडान नै रोकिएको समयमा भार पर्ने गरी न्यारोबडी जहाजमा २ जना र वाइडबडीमा ११ जना विदेशी पाइलटहरूलाई तलब र भत्ता दिनेक्रम जारी छ । गत साता मात्रै विदेशी पाइलटहरूलाई १५ दिनको तलब दिने भनिए पनि निगमका अप्रेसन प्रमुख दिपुराज जुहार्चनले ३० दिनकै तलब–भत्ता दिनुपर्ने प्रस्ताव लगेका छन् । 

निगमले केही दिनअगाडि मात्रै अहिलेको अवस्थामा ४ अर्ब घाटा लाग्ने देखिएको भन्दै सरकारलाई नगद प्रवाहमा सहयोग गर्न आग्रहसहितको पत्र लेखेको थियो । निगमको वार्षिक आम्दानी १६ अर्ब रुपैयाँ हो । यस वर्षको अहिलेको अवस्थामा ४ महिना असर गर्ने भन्दै ४ अर्ब रुपैयाँ आम्दानी गुम्ने देखिएको निगमले जनाउँदै आएको छ । निगमको ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानीसमेत गुमेकाले तलब खुवाउन पनि समस्या हुने अवस्था आएको छ । 

लकडाउनको उडानमा विदेशी पाइलटलाई अवसर

संकटको समयमा थोरै खर्चमा उडान गर्नुपर्नेमा धेरै तलब खाने विदेशीलाई निगमले उडानको अवसर दिएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि चीनमा चार, अस्ट्रेलिया, जापान र भारतमा एक–एक गरी ७ वटा उडान गरेको छ । जसमा ६ वटा उडानमा विदेशी पाइलट दिइएको छ । एक उडानमा नेपाली त्यसमा पनि अप्रेसन प्रमुख जुहार्चन आफैँ ग्वान्जाओको उडानमा गएका थिए ।

विदेशी पाइलटलाई बेतलबी बिदा वा तलब कटौती गरिन्छ : सुशील घिमिरे, कार्यकारी अध्यक्ष, नेपाल वायुसेवा निगम

म भर्खरै आएको छु, अब निगमका हुने खर्च कटौती नै मेरो प्रमुख मुद्दा होे । जुन संसारभर एयरलाइन्सहरूले कर्मचारी कटौती गरिरहेका छन् ।

हामीले तत्काल नेपाली कर्मचारी नगरे पनि विदेशी पाइलट कटौती गर्न सक्छाैँ । अहिले केही तलब कटौती गर्ने गरी काम भएको रहेछ ।

अब प्रतिबन्ध हेरेर निर्णय हुन्छ । सबै विदेशी पाइलटलाई बेतलबी बिदामा बसाउनुपर्ने हुन सक्छ । यता करारका कर्मचारीसमेत कटौती गर्नका लागि मैले छलफल थालेको छु । अहिले नै निर्णय भएको छैन ।

विदेशी पाइलटको मासिक खर्च ३ करोड १२ लाख

व्यवस्थापनको चरम लापरबाहीका कारण दुई वर्षअगाडि खरिद गरिएका दुई थान वाइडबडीमा नेपाली पाइलट उत्पादन छाडेर धमाधम विदेशी पाइलट भर्ना गर्दै निगमले करोडौँ भार थुपार्दै आएको थियो । तर, सञ्चालनमा संकट आउँदासमेत विदेशी पाइलट कटौती नगर्नुले निगमलाई खर्चको भार बढ्दै गएको छ । वाइडबडी जहाजमा ११ जना विदेशी पाइलट छन् । पाँच वर्षअगाडि खरिद गरिएका न्यारोबडीमा समेत अझै दुईजना विदेशी पाइलट छन् । १३ जना विदेशी पाइलटका लागि मात्रै १ लाख ८८ हजार ५ सय डलर मासिक तलब खर्च हुन्छ ।

विदेशी पाइलटका लागि मासिक अहिले पनि २ करोड ३० लाख रुपैयाँ निगम व्यवस्थापनले तिरिरहेको छ । त्यसमा करबापत ३६ प्रतिशत रकम ८३ लाख स्वयं निगमले तिर्ने गरेको एक उच्च अधिकारीले बताए । यसरी निगमले ३ करोड १ लाख विदेशी पाइलटको भार मासिक व्यहोर्ने गरेको छ । सोही स्थानमा नेपाली पाइटल भएको भए ५० लाख रुपैयाँ मात्रै खर्च हुने थियो । ‘अहिले उडान नै नहुँदा र केही भएका उडान स्वदेशी पाइलटले धान्ने अवस्थामा समेत विदेशी पाइलट राख्नुले केही अमुक व्यक्तिको फाइदा हुने गरेको छ,’ निगमका ती अधिकारीले भने । 

एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाज दैनिक १६ घन्टा उडान गर्नका लागि १६ जना क्याप्टेन भए पुग्छ । अहिले उडान नै नहुँदा पनि ११ जना विदेशी पाइलटलाई तलब र भत्ता खुवाएर राखिएको छ । वाइडबडीमा अहिले ४ जना नेपाली क्याप्टेन छन् भने १५ जना कोपाइलटहरू रहेका छन् । 

जसमध्ये पनि ४ जनालाई ८ हजार डलर खर्च गरेर एक हप्ताको तालिम दिएको भए ६ महिनाअगाडि नै ८ जना नेपाली क्याप्टेन तयार हुन्थे । यता दुई थान ३२० न्यारोबडी सिरिजका जहाजमा २१ जना क्याप्टेनहरू  छन् । तैपनि, अझै दुईजना विदेशी पाइलट निगमले राखेको  छ । जसका लागि १४ जना क्याप्टेन भए पुग्नेछ । नेपाली क्याप्टेनले एक महिनामा ७५ घन्टा उडान गरेबापत २ लाख ५० हजार तलब पाउँछन् भने एक सय घन्टासम्म उडान गरेबापत ३ लाख २० हजार तलब पाउँछन् । तर, विदेशी पाइलटले ६ हप्ता काम गरेबापत ८ हप्ताको तलब पाउँछन् भने मासिक ५० घन्टा उडान गर्ने विदेशी पाइलटले २३ लाख नेपाली रुपैयाँ तलब पाउने गरेका छन् । 

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध जेठ १८ सम्म लम्बिन सक्ने, आन्तरिक उडानको अनिश्चित

कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै अन्तर्राष्ट्रिय उडानमा लाग्दै आएको प्रतिबन्ध आगामी  जेठ १८ सम्म लम्बिने भएको छ । सरकारी अधिकारीहरूले जेठ १९ यता अन्तर्राष्ट्रिय उडानमा लाग्दै आएको प्रतिबन्ध नखोल्ने सहमति गरेका छन् । निर्णय भने भइसकेको छैन । गत चैत १० देखि अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध आइतबार २७ दिन पूरा भएको छ । पटक–पटक समय थप्दै आगामी वैशाख १८ सम्म पु-याइएको छ । 

यतिवेला विदेशमा रहेका नेपाली ल्याउनसमेत सरकारलाई दबाब परिरहेका वेला धेरैको चासो अन्तर्राष्ट्रिय उडान वैशाख १८ पछि खुल्छ कि खुल्दैन भन्नेमा छ । भारतलगायत खाडी मुलुकमा समेत संक्रमण फैलिरहेको अवस्थामा नेपालमा वैशाख १८ मा अन्तर्राष्ट्रिय उडान खुला हुने सम्भावना नरहेको सरकारी अधिकारीहरूले बताएका छन् । 

कहिलेसम्म बन्द गर्ने भन्ने विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले निर्णय गर्नेछ । ‘अन्तर्राष्ट्रियमा लागेको प्रतिबन्ध वैशाख १८ मा त खुल्दैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले भन्यो, ‘तर, जेठ १५ पछि खुलाउने कि नखुलाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’ 

नेपालमा संक्रमणको स्थिति नियन्त्रणमा आउन सक्ने र स्वास्थ्य मन्त्रालयले सकारात्मक भनेर अनुमति दिएका चीनलगायत केही मुलुकमा भने जेठ १९ पछि प्रतिबन्ध खुला गर्ने तयारी छ । उच्चस्तरीय समितिले वैशाख १८ सम्मको उडान बन्दलाई जेठ ३ सम्म पुर्‍याउने र पुनः प्रतिबन्ध थप गरेर जेठ १९ सम्म पु¥याउने योजना छ । 

अन्तर्राष्ट्रिय उडान फुकुवा गर्नेबित्तिकै खाडीका एयरलाइन्सले नेपालमा धमाधम उडान गर्ने भएकाले पनि नेपालले अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध फुकुवा गर्न लम्ब्याउने निष्कर्ष निकालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल पनि वैशाख १८ मै खुल्ने सम्भावना नरहेको बताउँछन् । पोखरेलले भने, ‘वैशाख १८ मा त खुल्दैन, तर कतिसम्म जान्छ प्रतिबन्ध भन्ने निर्णय उच्चस्तरीय समितिले गर्छ ।’ 

प्रतिबन्धपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिकबाहेक सबै उडान बन्द छन् । प्रतिबन्धपछि नै नेपालबाट ४ हजार ५ सयभन्दा बढी विदेशी आफ्नो देश फर्किएका छन् । युरोप, अमेरिका, बेलायत, कोरिया, बंगलादेश, भुटान, दक्षिण कोरिया, चीन र जापानले समेत आफ्ना नागरिक लैजान चार्टर्ड उडान गरिसकेको छ ।

प्रतिबन्धपछि नेपालमा उडान गरिरहेका २८ वटा वायुसेवा कम्पनीका १ सय १० वटाभन्दा बढी उडानहरू प्रभावित हुँदै आएका छन् । नेपालले विदेशी वायुसेवालाई खाली आएर नेपालबाट यात्रु लैजान दिएको छ । प्राधिकरणले विदेशी वायुसेवाको उडान नहुने भए पनि आकस्मिक सेवाका लागि कर्मचारी भने खटाइरहनुपर्ने भएकाले दुई सिफ्ट गर्ने व्यवस्था गरिएको छ । 

एयर इन्डियाले जुन १ पछिको बुकिङ खोल्यो

भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाले आगामी जुन १ पछि अन्तर्राष्ट्रिय बुकिङ खोल्ने घोषणा गरेको छ । एयर इन्डियाले शनिबार मे ४ देखि आन्तरिक र जुन १ बाट अन्तर्राष्ट्रिय बुकिङ खोल्ने घोषणा गरेको हो । कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाईसेवा बन्द गरेको छ । सरकारको लकडाउन गर्ने निर्णयपछि एयर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बुकिङ महिनाको अन्त्यसम्मका लागि स्थगित गरेको थियो ।