मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख ८ सोमबार ०७:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको सम्झौता, ढुवानीबारे अझै अन्योल

Read Time : > 1 मिनेट
२०७७ बैशाख ८ सोमबार ०७:०६:००

सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री खरिदको टुंगो लगाएको छ । बेइजिङस्थित सैन्य सहचारी सहायक रथी विनोद पाण्डेको समन्वयमा सेनाले सोमबार चीनको सरकारी कम्पनीलाई अग्रिम भुक्तानी गर्ने तयारी गरेको छ । 

सेनाले पठाएको सम्झौताको मस्यौदामा चिनियाँ पक्षसँग आइतबार थप छलफलपछि खरिद गर्ने विषय टुंगो लागेको हो । सामान गुणस्तरीय नभए कति दिनभित्र फिर्ता गर्नेलगायतका विषय सम्झौतामा उल्लेख छन् । सेनाले पठाएको संशोधित सम्झौताको मस्यौदामा चिनियाँ कम्पनीले सोमबार बिहान हस्ताक्षर गरेर सेनालाई पठाउनेछ । त्यसलगत्तै सेनाले खरिद गर्ने सामानको अग्रिम भुक्तानी गर्नेछ । अर्थ मन्त्रालयले शुक्रबार नै सेनालाई बजेट निकासा गरिसकेको छ । 

चिनियाँ कम्पनीले अर्को सोमबारसम्म पिसिआर मेसिन, एन–९५ मास्क, भेन्टिलेटरलगायतका अत्यावश्यक ६७ प्रकारका स्वास्थ्य सामग्री ग्वान्जाओसम्म ल्याइदिनेछ । त्यहाँबाट सेनाले जहाज वा गाडी केमा ल्याउने भन्ने टुंगो लाग्न बाँकी छ । ‘हामीले किनेकोमध्ये तत्काललाई चाहिएको सामान जहाजमा ल्याएर बाँकी सामान गाडीमा ल्याउने कि सबै सामान जहाजबाट ल्याउने भन्ने टुंगिएको छैन,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने । 

सेनाले पठाएको सम्झौताको मस्यौदामा चिनियाँ पक्षसँग आइतबार थप छलफलपछि खरिद गर्ने विषय टुंगो लागेको हो । सामान गुणस्तरीय नभए कति दिनभित्र फिर्ता गर्नेलगायतका विषय सम्झौतामा उल्लेख छन् ।

ग्वान्जाओबाट गाडीमा तातोपानीसम्म सामान ल्याउन सात दिन लाग्ने र सबै सामानको भन्सार प्रक्रिया पूरा गर्न थप दुई दिन लाग्ने जानकारी सेनाले पाएको छ । त्यसअनुसार आगामी सोमबार सामान तयार भयो भने पनि गाडीबाट ढुवानी गर्न थप नौ दिन लाग्नेछ । 

चीन सरकारले ८ अप्रिलबाट निर्यात हुने जुनसुकै सामानको गुणस्तर मापन गर्दै आएको छ । ठूलो संख्याका गाडीमा सामान ल्याउने अवस्थामा चिनियाँ अधिकारीले गुणस्तर यकिनसहित भन्सार पास गर्न दुई दिन लाग्ने जानकारी सेनालाई दिएका छन् । सेनाले चिनियाँ जनमुक्ति सेनाको जहाजबाट अत्यावश्यक सामान ढुवानी गर्न अनौपचारिक रूपमा अनुरोध पनि गरेका छन् ।

सामान आपूर्तिका विभिन्न विकल्पमा छलफल भए पनि यकिन भइसकेको छैन । तत्काल अत्यावश्यक सामान ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्वान्जाओ पठाउने सम्भावना छ । जहाज कतिपटक जाने र बाँकी सामान कसरी ल्याउने भन्ने विषयमा सिसिएमसीले टुंगो लगाउन बाँकी रहेको सम्बद्ध सैनिक अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तयार गरेको सूचीअनुसार सेनाले चीनबाट सामान ल्याउन लागेको हो । सिसिएमसीले नेपाललाई तीन सय ९६ प्रकारका औषधि र स्वास्थ्य सामग्री तथा उपकरण आवश्यक पर्ने सूची तय गरेको छ । जसमध्ये पहिलो चरणमा चीनबाट ६७ र भारतबाट ५३ प्रकारका औषधि र सामग्री खरिद गर्ने प्रक्रिया टुंगिएको हो । 

भारतमा पनि स्वास्थ्य सामग्री र औषधि खरिदको प्रक्रिया टुंगिएको छ । दिल्लीस्थित नेपाली दूतावासका सैन्य सहचारी सहायकरथी ईश्वर मैनालीले खरिद प्रक्रियाको समन्वय गरेका छन् । भारतसँग पनि स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सम्झौतापत्र पठाएको छ । भारतसँग पनि केही दिनभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने सैनिक स्रोतले जनाएको छ ।