मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७७ बैशाख ८ सोमबार ०६:४१:००
Read Time : > 2 मिनेट
खेलकुद

कोभिड–१९ : जोखिममा क्रिकेट

Read Time : > 2 मिनेट
एजेन्सी लन्डन
२०७७ बैशाख ८ सोमबार ०६:४१:००

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हाल सबै खेलकुद प्रतियोगिता स्थगित रहे पनि यही समय खेल मिलेमतो (म्याच फिक्सिङ)को जोखिम बढेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बताएको छ । आइसिसीले यस सम्बन्धमा सतर्कता अपनाइएको पनि जनाएको छ । 

आइसिसीअन्तर्गत एन्टिकरप्सन बडीका प्रमुख एलेक्स मार्सलले खेल मिलेमतो गर्ने उद्देश्यले लकडाउनको अवधिमा परिचित बुकीहरू नै सक्रिय देखिएको बताए । उनका अनुसार ती बुकीले सामाजिक सञ्जालमार्फत खेलाडीसँग सम्बन्ध स्थापित गर्ने प्रयास गरिरहेका छन्।

‘हामी देखिरहेका छौँ कि केही परिचित म्याचफिक्सर नै अहिले खेलाडीसँग सम्बन्ध स्थापित गर्न सक्रिय छन्,’ मार्सल भन्छन्, ‘यो समयमा खेलाडीहरू बढीजसो सामाजिक सञ्जालमै व्यस्त हुने गर्छन् । त्यसैले बुकीले पनि सामाजिक सञ्जालमार्फत नै खेलाडीसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । जसको फाइदा उनीहरूले प्रतियोगिता सुरु भएपछि उठाउनेछन्।’

लकडाउनको समय बुकीहरू बढी सक्रिय देखिएका छन्, उनीहरूले खेलाडीसँग सम्बन्ध बढाउने प्रयास गरिरहेको र त्यसको फाइदा प्रतियोगिता पुनः सुरु हुँदा उठाउने आइसिसीले जनाएको छ ।

पछिल्लो समय प्रतियोगितासमेत नभएको र कोरोना भाइरस संक्रमण त्रासका कारण भौतिक रूपमा भेट गर्न असम्भव छ । सोही कारण बुकीले खेलाडीसँग सम्बन्ध स्थापित गर्न सामाजिक सञ्जाल प्रयोग गरेको  जनाएका छन् । गत १५ मार्चमा पाकिस्तान सुपर लिग सम्पन्न भएपछि प्रतिस्पर्धात्मक क्रिकेट प्रतियोगिता भएको छैन । मार्सल क्रिकेट प्रतियोगिता कम हुँदैमा खेल मिलेमतोको घटना कम नहुने तर्क गर्छन् ।

‘कोरोना भाइरसका कारण अहिले अन्तर्राष्ट्रिय तथा घरेलु सबै प्रतियोगिता केही समयका लागि स्थगित छन्,’ उनी भन्छन्, ‘तर, म्याचफिक्सरहरू यतिखेर विश्वभर नै सक्रिय छन् ।’ कोरोना भाइरस महामारीका रूपमा छोटो समयमा विश्वभर फैलिएपछि प्रायः सबै खेलकुद प्रतियोगिता एक्कासि रोकिए । त्यसबाट खेल मिलेमतोमा सक्रिय रहेका बुकी र त्यसका लगानीकर्ताले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । त्यस्ता समूहले आफ्नो डुबेको लगानी उठाउन खेलकुद प्रतियोगिता फेरि सुचारु हुँदा मिलेमतोको प्रयास गर्नेछन् । सोही उद्देश्यका लागि उनीहरूले लकडाउनको यो समय खेलाडीहरूसँग सम्पर्क गर्ने प्रयासमा खर्च गरिरहेका छन् ।

‘यो उद्देश्यका लागि सक्रिय रहेका त्यस्ता समूहले खेलकुद प्रतियोगिता एक्कासि स्थगित हुँदा ठूलो लगानी गुमाउनुपरेको छ । उनीहरूले तय गरेका कतिपय ठूला सम्झौता रद्द हुन पुगेका छन्,’ इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डका एन्टिकरप्सन म्यानेजर हेइले ग्रिन भन्छन्, ‘उनीहरू त्यही लगानी उठाउन पनि प्रतियोगिता फेरि सुरु हुँदा मिलेमतो गर्ने प्रयासमा हुनेछन् । त्यसका लागि उनीहरू म्याच फिक्सिङ गरिदिन सक्ने सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने प्रयासमा हुन्छन् । त्यसमा खेलाडी सबैभन्दा बढी जोखिममा छन् ।’

समयमै सजगता नअपनाउने हो भने यसले ठूलो क्षति पु¥याउने उनको तर्क छ । ‘लकडाउन जति बढ्नेछ, यसको सम्भावना पनि उत्तिकै बढी हुनेछ,’ उनी भन्छन्, ‘यसको सम्भावना क्रिकेटमा मात्रै होइन, अन्य सबै खेलमा रहन्छ । हामी यसका लागि पनि तयार हुन आवश्यक छ ।’ इंग्ल्यान्डमा खेल मिलेमतोका लागि यस्तो कुनै पनि प्रस्ताव आए त्यसबारे सम्बन्धित निकायमा जानकारी गराएर सम्भावित कारबाहीबाट बच्न सकिने धेरै उपाय छन् । 

खेलाडी, पदाधिकारी वा खेल अधिकारीलाई यस्तो कुनै पनि प्रस्ताव आए, त्यसबारे खबर गर्न चौबिसै घन्टा चल्ने हटलाइन सञ्चालनमा ल्याइएको छ । साथै, यस्तै गतिविधिको निगरानी गर्न ६ जना इन्टिग्रिटी अफिसरसमेत नियुक्त गरिएका छन् । आइसिसीको एन्टिकरप्सन कोडअनुसार सम्भावित कारबाहीबाट जोगिन त्यस्ता कुनै प्रस्ताव आएलगत्तै सम्बन्धित निकायमा खबर गर्नुपर्नेछ । यदि त्यसो नगरेको अवस्थामा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार बन्नेछ । 

हालै मात्र पनि त्यसरी समयमै खबर नगर्दा विश्वकै चर्चित खेलाडी कारबाहीमा परेका उदाहरण छन् । हालै मात्र बंगलादेशका सकिब अल हसन र श्रीलंकाका सनथ जयसूर्या खेल मिलेमतोका लागि आएका प्रस्तावबारे सम्बन्धित निकायलाई समयमै खबर नगर्दा कारबाहीमा परेका छन् ।