मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ बैशाख ७ आइतबार ११:१७:००
Read Time : > 2 मिनेट
नयाँCity

कोरोना कहरले सिकायो अनलाइन कारोबार

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ बैशाख ७ आइतबार ११:१७:००

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत सातादेखि खाद्यान्नको अनलाइन अर्डर र डेलिभरी सेवा सुरु ग¥यो । निजी क्षेत्रका केही कम्पनीको सिको गर्दै खाद्यले यहीवेलामा उपभोक्ताको मन जित्ने प्रयास थालेको छ । खाद्यकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार हाललाई चक्रपथभित्र सीमित सेवाअन्तर्गत चामल, दाल, पीठोलगायत खाद्यवस्तु अर्डरअनुसार घरघरमै पु-याइने छ । कम्तीमा दुुई हजार रुपैयाँको सामान अर्डर गर्दा लकडाउन अवधिभर फ्री डेलिभरी दिइने उनी बताउँछिन् ।

निजी क्षेत्रको अनलाइन सपिङ कम्पनी दराज डटकमले घरघरमा खाद्यान्नलगायत सामान डेलिभरी दिन थालेको लकडाउन अघिदेखि नै हो । लकडाउनका वेलामा अत्यावश्यक सामान डेलिभरी गर्न दराजले बिगमार्टसँग सहकार्य गरेको छ । प्रख्यात चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाको भगिनी कम्पनी हो, दराज । अलिबाबाले नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश र म्यानमारमा दराजमार्फत सेवा दिइरहेको छ ।

यहीवेला अनलाइन गेटवेमार्फत भुक्तानी गर्ने प्रचलन पनि झांगिएको छ । निकट भविष्यमै यो क्युआर कोडको माध्यमबाट तरकारी बिक्री गर्ने ठेलागाडासम्म पुग्ने नबिल बैंकका सिइओ शाहको भविष्यवाणी छ ।

लकडाउन सुरु भएयता भाटभटेनी स्टोरले पनि घरघरमै डेलिभरी सेवा दिइरहेको छ । त्यसका लागि टेलिफोन, भाइबर, वेबसाइट, फेसबुक पेज, ह्वाट्स एप, व्यक्तिगत र आधिकारिक इमेलको प्रयोग हुन्छ । ‘अहिले ग्रोसरी आइटम मात्र डेलिभरी गरिरहेका छौँ,’ सञ्चालक मीन गुरुङ भन्छन् । काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगन्जमा खाद्यान्न र अत्यावश्यक सामग्री डेलिभरी सेवा दिइरहेको छ, भाटभटेनीले ।

कोभिड–१९ को महामारीका कारण विश्वको एकतिहाइ जनसंख्या लकडाउनमा छ । अत्यावश्यक सामग्रीका पसल निश्चित समयका लागि खोल्न दिने सबै मुलुकको नीति छ । तर, कोराना संक्रमण सर्ने जोखिम मोल्न कोही पनि तयार छैन । र, अनलाइन कारोबार सुरक्षित रहेको बुझाइ झांगिँदै गएको छ । यहीवेला अनलाइन ट्रेडिङ कम्पनीले आफ्नो व्यापार विस्तारको अवसर देखेका छन् ।

उपभोक्ताले घरभित्रै बसेर सामान अर्डर गरिरहेका छन् र कम्पनीहरूलाई डेलिभरी दिन भ्याइनभ्याई छ । सरकारले पनि भाटभटेनी, बिगमार्ट, सेल्सबेरीजस्ता ठूला स्टोरहरूलाई घरघरमै समान पु¥याउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड भन्छन्, ‘उपभोक्ताले सामान किन्न जोखिम मोलेर पसलमा जानु नपरोस् भनेर घरमै पु-याउन आग्रह गरेका हौँ ।’

यहीवेला अनलाइन भुक्तानी पनि बढेको छ । नबिल बैंकका सिइओ अनिल शाह भन्छन्, ‘कोभिड–१९ को महामारी अनलाइन सपिङ र डिजिटल कारोबारका लागि कोसेढुंगा सावित हुने सम्भावना छ ।’ नेपालमा इसेवा, आइएमई पे, प्रभु पे, खल्ती, सेल पेलगायत प्रशस्त गेटवे सञ्चालनमा छन्, अनलाइन भुक्तानीका लागि । बैंक खाताबाट पनि अनलाइन कारोबार गर्न सकिन्छ ।

अनलाइन सपिङ कम्पनीले उपभोक्ताको सुविधाका लागि नगद पनि लिइरहेका छन् । कतिपय कम्पनीले ग्राहकलाई प्रिपेड कारोबारमा प्रोत्साहित गर्न विभिन्न छुटको व्यवस्था गरेका छन् । कतिपय कम्पनीका कर्मचारी स्वाइप मेसिन बोकेरै जान्छन् । दराजकी मार्केटिङ म्यानेजर सलिना नकर्मी भन्छिन्, ‘एटिएम स्वाइप मेसिनबाट उपभोक्तालाई पेमेन्ट गर्न सहज हुन्छ ।’

टेलिफोन, भाइबर, वेबसाइट, फेसबुक पेज, ह्वाट्स एप, व्यक्तिगत र आधिकारिक इमेलको माध्यमबाट अनलाइन अर्डर एवं गाडीमा राखेर घरघरमै सामान पु-याउने ट्रेन्डले फड्को मारेको छ, लकडाउनमा  । 

त्यसो त, नेपालमा अनलाइन सपिङको सुरु भएको दुई दशक नाघ्यो । मुञ्चा हाउसले सन् २००० देखि नै न्युरोडबाट अनलाइन सपिङ सुरु गरेको थियो । यसबीचमा थुप्रै अनलाइन सपिङ कम्पनी खुले । कतिपय चल्न नसकेर बन्द भए । कतिपय जेनतेन चलिरहेका छन् । सुरुमा यो सेवा सीमित मान्छेले प्रयोग गर्थे । सोखिन धनाढ्य परिवार अनलाइन सेवामा आकर्षित थिए । तर, कोरोना कहरले धनीदेखि गरिब सबै वर्गलाई बाध्यात्मक अवस्थामा पु-याइदियो ।

निकट भविष्यमै यो क्युआर कोडको माध्यमबाट तरकारी बिक्री गर्ने ठेलागाडासम्म पुग्ने नबिल बैंकका सिइओ शाहको भविष्यवाणी छ । हुन पनि, अहिलेसम्म आमउपभोक्तामा अनलाइन सपिङ महँगो पर्ने बुझाइ थियो । अहिले लकडाउनले उपभोक्तालाई घरमै बसी–बसी अनलाइन सपिङ गर्न सिकाउँदै छ ।

दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, फर्निचर, विद्युतीय सामान, घरायसी सामान, मोबाइल र तिनका पार्टपुर्जा, गिफ्ट आइटम, खानाका परिकार, पुस्तक, मदिरा, वास्तुकला, चस्मा, किचेनका सामग्री, सजावटका सामानलगायत थुप्रै सामान अनलाइनमै उपलब्ध छन् । ग्राहकले छानीछानी अर्डर गर्न सक्छन् ।

ललितपुरको ज्वागलस्थित ‘नेपबे डटकम’ त्यस्तै कम्पनीमध्येको हो, जसले विद्युतीय, कस्मेटिक, मोबाइल, लत्ताकपडा, क्यामेरा फर्निचरलगायत सयौँ ब्रान्डका सामान डेलिभरी गर्छ । क्यामु डटकम र डोकोम्यान डटकमले पनि घरघरमै सामान पु-याउँदै आएका छन् । डिपार्टमेन्टल स्टोर सेल्सबेरीले पनि लकडाउनको समयमा घरघरमै समान पु-याइरहेको छ । सेल्सबेरीको भने फोनमार्फत अर्डर गर्नुपर्छ।

यस्तै, ‘हाम्रो बजार डटकम’ले सेकेन्ड ह्यान्ड सामान खरिदबिक्री गर्छ । सस्तोडिल, मेरोसपिङ, भाटभटेनी, फुडमान्डु, फुडमारियो, केकसेवालगायत दर्जनौँ अनलाइन पसलले सेवा दिइरहेका छन् । ताजा तरकारी मात्र होइन, चिकित्सकको सेवा पनि अनलाइनबाटै लिन सकिन्छ । जिभी एपले त सबै प्रकारका औषधि र मेडिकल उपकरण उपलब्ध गराउँदै आएको छ ।