मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सन्देश ढकाल, मनोविद्, मनोविज्ञान, केन्द्रीय विभाग, त्रिवि
मञ्जु टेलर काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:३६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

घरबाट काम गर्दा कसरी तनावमुक्त रहने ?

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:३६:००

कोरोना भाइरस (कोभिड–१९) फैलनबाट बच्न सरकारले देशैभर बन्दाबन्दी (लकडाउन) गरेको छ । यसका कारण अधिकांश कार्यालय बन्द छन् । इन्टरनेटमार्फत काम गर्न सम्भव हुने कार्यालयले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सुविधा उपलब्ध गराएका छन् । सामान्यतया, नियमित गर्नैपर्ने काम घरबाटै सम्पन्न भइरहेका छन् ।

लकडाउनको समयमा घरबाटै काम गर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । घरबाट काम गर्दा परिवासँगै बस्न पाइने, कामको बोझ धेरै नहुने, आराम गर्न मिल्ने भए पनि कठिनाइहरू पनि हुन्छन् । घरमा स्वतन्त्र भएर काम गर्न सकिने वातावरण हुँदाहुँदै पनि कार्यालयको काम गर्दा तनाव झेल्नुपर्ने हुन्छ । यसकारण, तनावमुक्त रहन यस्ता उपाय अपनाउन सकिन्छ ।

समयतालिका बनाउने

घरमा अत्याधुनिक प्रविधिको अभाव हुनु, परिवारसँगै बस्दा काममा ध्यान केन्द्रित गर्न नसक्नु, सामाजिक दूरी हुनु, कार्यालयजस्तो वातावरण नहुनुजस्ता विषयले तनाव सिर्जना गर्न सक्छ । अफिसियल कामको समयमा आउन सक्ने अवरोध हटाउन समयतालिका बनाउन सकिन्छ । कार्यालयको काम कुन समयमा गर्ने भन्ने निश्चित भएपछि अन्य कामका लागि पनि समय बाँकी रहन्छ । तालिका बनाएर काम गर्दा काममा ध्यान केन्द्रित गर्न सकिने भएकाले केही हदसम्म सहज हुन्छ । 

अफिसियल कामको समयमा आउन सक्ने अवरोध हटाउन समयतालिका बनाउन सकिन्छ । यसरी काम गर्दा काममा ध्यान केन्द्रित गर्न सकिने भएकाले केही हदसम्म सहज हुन्छ । 

सम्पर्कमा बस्ने

कोरोनाले सामाजिक समस्यासमेत निम्त्याएको छ । जसका कारण तनाव हुनु स्वाभाविक हो । फैलँदो संक्रमणका कारण प्रायः हरेक मानिसलाई कुनै न कुनै तवरले त्रसित बनाएको छ । सामाजिक दूरी कायम गरेका कारण एक्लोपन महसुस हुन सक्छ ।

यस्तोमा शारीरिक र मानसिक रूपमा निष्क्रिय रहनुभन्दा साथीभाइ, आफन्तसँगै सहकर्मीसँग सम्पर्कमा बस्न सकिन्छ । कामको विषयमा छलफल गर्ने, आफ्नो अवस्थाबारे भन्ने गर्दा तनाव कम गर्न सकिन्छ । साथीहरूसँग सम्पर्कमा बस्दा कामको बोझ पनि कम हुन्छ । 

आफैँलाई उत्प्रेरित गर्ने 

लकडाउनको समयलाई अवसरका रूपमा लिन सकिन्छ । आफूले गरिरहेको कामलाई बेवास्ता गर्नुहुँदैन यसलाई व्यक्तिगत लक्ष्यसँग जोडेर हेर्नुपर्छ । काम र लक्ष्यलाई उपलब्धिसँग जोडेर हेर्ने गर्नुपर्छ । सकारात्मक सोचाइले आत्मविश्वास बढाउने काम गर्दछ । कार्यालयको कामलाई बोझका रूपमा नलिई संक्रमणको समयमा काम गर्ने मौकाका रूपमा हेर्नुपर्छ । व्यक्ति आफैँले आफैँलाई काम गर्नका लागि उत्प्रेरित गर्न सकेमा तनाव व्यवस्थापन गर्न सकिन्छ । 

सहयोग लिने 

दिनभरि घरमा रहनुको अर्थ कार्यालयसँगै घरको सबै काम आफैँ गर्न सकिन्छ भन्ने होइन । घरबाटै अफिसको काम पनि गरिरहेका व्यक्तिलाई घरको सम्पूर्ण काममा समय दिन गाह्रो हुन सक्छ । जिम्मेवारीका कारणसमेत तनाव थपिन सक्छ । तसर्थ, सम्भव भएसम्म घरकोसँगै कार्यालयको काममा लागिसमेत परिवारका अन्य सदस्यसँग सहयोग लिन सकिन्छ । कतिपय काम बालबालिकाका लागि समेत सिकाइ हुन सक्छन् । कार्यालयको काम गर्दा मुख्य प्राथमिकतामा रहेका कामको सूची बनाउन सकिन्छ । मल्टिटास्किङ क्रियाकलाप गर्नु राम्रो हो, तर कतिपय अवस्थामा यस्ता क्रियाकलापले कामको बोझ बढी बढ्छ, यसमा भने सचेत हुनुपर्छ ।

आफूलाई समय छुट्याउने

अफिसको काम गर्ने व्यक्तिलाई आफ्ना लागि समय कम हुन सक्छ । काममा मात्र ध्यान दिँदा शारीरिक र मानसिक रूपमा अप्रत्यक्ष प्रभाव परिहेको हुन्छ । अफिसियल कामबाहेक पनि किताब पढ्ने, चलचित्र हेर्ने, खाना बनाउने, व्यायाम गर्ने, नयाँ काम सिक्ने गर्न सकिन्छ । पछिल्लो समय अनावश्यक सामाजिक सञ्जाल चलाउने वा फेक समाचार पढ्ने बानीका कारण धेरैजसोमा एन्जाइटीको समस्या देखिन थालेका उदाहरण छन् । तसर्थ, समाचार तथा सामाजिक सञ्जालको उपयुक्त प्रयोग गर्ने र कामसँगै व्यायामका लागि समेत समय छुट्याउन आवश्यक छ ।