मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
वीरगन्जस्थित एकीकृत जाँचचौकी (आइसिपी)मा साल्ट टे«डिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल
अजित अधिकारी काठमाडौं
२०७७ बैशाख ७ आइतबार ०८:४१:००
Read Time : > 3 मिनेट
अर्थ

गोदाममा मलको चाङ, किसानलाई अभाव सहकारीसम्म ढुवानी नहुँदा किसानले पाएनन्

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ बैशाख ७ आइतबार ०८:४१:००

विभिन्न सहकारीसम्म मल ढुवानी गर्न नसक्दा एकातिर किसानले मलको अभाव झेलिरहेका छन् भने सरकारी गोदाममा चाहिँ मल थुप्रिएर बसेको छ, तर यो मल चैते धान र मकैमा हाल्दा सिद्धिन्छ, थप मल आयातको प्रक्रिया थालिए पनि असारसम्म नआउने भएकाले धान रोप्नेबेला किसानलाई दुःख :

.....................

चैतेधान, मकै बाली र बिउ राख्ने वेलामा किसानले रासायनिक मलको अभाव झेलिरहेका वेला कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका गोदाममा भने मल राख्ने ठाउँ छैन । लकडाउनका कारण ढुवानी अवरोधले सहकारीसम्म पुग्न नसक्दा किसानले मल पाउन नसकेका हुन् । कृषि सामग्री, साल्ट ट्रेडिङ कर्पोरेसनका विभिन्न गोदाम र भारतीय सीमास्थित एकीकृत जाँचचौकीमा मल थन्किएर बसेको छ ।

दुवै संस्थानले मुलुकभर अनुदानको रासायनिक मल आपूर्ति र वितरण गर्दै आएका छन् । यो वर्ष मलका लागि नियमिततर्फको बजेट ७ अर्ब र पछि थप गरिएको २ अर्ब गरी ९ अर्ब रुपैयाँ छ । यसबाट ४ लाख ४८ हजार टन आयात गर्ने योजना छ । यो आयात परिमाण करिब मुलुकको कुल वार्षिक मागबराबर हो । नेपालमा खेतीयोग्य क्षेत्रफलका आधारमा वार्षिक ७ लाख टन रासायनिक मल चाहिन्छ । तर, विभिन्न कारणले सबै क्षेत्रमा खेती नहुने भएकाले वार्षिक ५ लाख टन मलले सबै माग धान्न सक्ने सरकारी अधिकारीहरूको भनाइ छ ।

यस वर्षको बजेटबाट कृषि सामग्रीले अन्तिम खेपबापत २० हजार टन युरिया र २५ हजार टन डिएपीको टेन्डर निकाल्न लागेको छ । यसबाहेक अरू मल आयात भइसकेको वा आयातको प्रबन्ध मिलाइसकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार साल्ट ट्रेडिङले २१ हजार ५ सय टन युरिया आयातका लागि एलसी खोलिसकेको छ । कृषि सामग्रीले ५० हजार टन युरियाको टेन्डर प्रक्रिया सकेर एलसी खोल्ने प्रक्रियामा छ ।

सवा लाख टन मल गोदाममा

लकडाउनका कारण चैतेधान र मकै लगाउने किसानले समयमै मल खरिद गर्न नपाइरहेका वेला कृषि सामग्री र साल्ट ट्रेडिङको गोदाममा १ लाख १५ हजार ८ सय टन मल थन्किएर बसेको छ । कृषि सामग्रीसँग ३६ हजार ६ सय टन युरिया, ३० हजार टन डिएपी र ५ हजार ४ सय टन पोटास रहेको प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । त्यसैगरी, साल्ट ट्रेडिङसँग २४ हजार टन युरिया, १८ हजार टन डिएपी र १ हजार ८ सय टन पोटास रहेको बिक्री प्रबन्धक पंकज जोशीले जानकारी दिए ।

गोदामका अतिरिक्त कोलकाता सुक्खा बन्दरगाहमा साल्ट ट्रेडिङको २५ हजार टन र कृषि सामग्रीको २४ हजार ५ सय टन डिएपी रोकिएर बसेको छ । ‘लकडाउनका कारण मल रोकिएको हो । अहिले डिएपी र ढुवानीमा संलग्न कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ,’ साल्ट ट्रेडिङका बिक्री प्रबन्धक जोशीले भने, ‘यो अवधि सकिएपछि रेलमा राखेर मल वीरगन्जस्थित एकीकृत जाँचचौकीको गोदाममा आइपुग्छ ।’ उनले लकडाउनकै अवधिमा पनि मल ढुवानी गर्न दिन भारतसँग कुरा भइरहेको जानकारी दिए । 

धानका लागि युरिया अभाव हुन सक्ने

अहिले चैतेधान लगाउने वेला लकडाउन भएका कारण धेरै किसानले बाली नै नलगाउने मनस्थिति बनाएका छन् । बाली लगाउनेले डिएपी पहिले नै खरिद गरेर राखिसकेका छन् । धान रोपेको ५–६ सातामा युरिया छर्किने गरिन्छ । चैतेधानमा पहिलोपटक युरिया छर्किने वेला यही हो । तर, अहिले किसानले युरिया पाएका छैनन् ।  त्यस्तै, मकै किसानले समेत पर्याप्त मल नपाएको गुनासो गरिरहेका छन् । लकडाउनका कारण युरियाको खपत नहुँदा बर्खे धानमा अभाव नहुनेमा सरकारी निकाय ढुक्क छन् । 

तर, कृषि सामग्रीले ढिला गरी ५० हजार टन युरियाको टेन्डर गरेकाले उक्त मल समयमै आउनेमा शंका व्यक्त गर्छन्, कृषिकै कर्मचारी । कृषि सामग्रीले टेन्डर खोलेको ४ देखि ९ महिनासम्ममा मात्र मल पाउने गर्छ । ५० हजार टन युरियाको टेन्डर स्वीकृति भए पनि एलसी खोलिएको छैन । भारत र नेपाल दुवैतिरको लकडाउन खुलेपछि एलसी खोल्ने प्रक्रिया सुरु हुनेछ । एलसी खोलेको अढाई महिनासम्ममा सामान ल्याउनुपर्ने ठेकेदारले समयसीमा पाउने गरेका छन् ।

यता, कृषि सामग्रीका प्रवक्ता पोखरेल असारमा धान खेती लगाउने वेला युरिया, डिएपीको कुनै समस्या हुने दाबी गर्छन् । ‘हामीले टेन्डर गरेको ५० हजार टन युरिया असारमा आउने अपेक्षा राखेका थियौँ, तर साउनमा आउने भयो, यसले पनि खासै असर गर्दैन,’ उनले भने । साल्ट ट्रेडिङले एलसी खोलेको २१ हजार ५ सय टन युरिया ल्याएर कृषि सामग्रीसँगको समन्वयमा किसानलाई वितरण गर्ने सरकारको योजना छ । तर, गोदाममा रहेको युरिया लकडाउन खुलेपछि कति रहन्छ भन्ने कुराले साल्ट ट्रेडिङले ल्याउन लागेको युरियाले धान्छ कि धान्दैन भन्ने कुरा निक्र्यौल हुनेछ । लकडाउन खुल्नासाथ धान र मकैका लागि युरियाको माग उच्च गोदाम रित्तिने मन्त्रालय स्रोतको भनाइ छ । 

‘गोदाम रित्तिएपछि साल्ट ट्रेडिङले ल्याउने २१ हजार ५ सय टन वितरण थाल्दै गर्नुपर्छ । जुन परिमाणले पुग्दैन,’ स्रोत भन्छ, ‘असारे धानका लागि कृषि सामग्रीले ल्याउने भनेको ५० हजार मेट्रिक टन नै अपुग हुने देखिन्छ । सो मल जति सक्दो चाँडो ल्याउन पहल गर्नुपर्छ ।’ यद्यपि, यो मल साउन दोस्रो सातापछि मात्र आउन थाल्ने देखिन्छ । 

साल्ट ट्रेडिङले ल्याउन लागेको २१ हजार ५ सय मेट्रिक टन युरिया कोलकातामा छ । सो युरिया शनिबारदेखि रेलमा लोडिङ हुने साल्ट ट्रेडिङका जोशीले बताए । यो युरियाले बढीमा जेठ महिनाभर धान्न सकिने स्रोतको भनाइ छ । त्यसपछि थप युरिया आउन नसक्दा अभाव सुरु हुनेछ । साल्ट ट्रेडिङले अनुदानविनाको बोरोन र जिंक भएको सिंगल सुपर फस्फोरस र एमोनिया सल्फेटको समेत बिक्री गर्दै आएको छ । यसले पनि अभावका वेला माग धान्न केही सहयोग मिल्ने मन्त्रालयको भनाइ छ । कृषि सामग्रीबाट टेन्डर हुन लागेको थप २० हजार टन युरिया भने असोज महिनापछि मात्र आउने अनुमान छ । 

सात हजार सहकारीबाट मल वितरण

कृषि सामग्रीले करिब ५ हजार र साल्ट ट्रेडिङले २ हजार ३ सय सहकारीबाट रासायनिक मल वितरण गर्दै आएका छन् । अनुदान कोटाको ७० प्रतिशत कृषि सामग्रीले र ३० प्रतिशत साल्ट ट्रेडिङले मल आयात तथा वितरण गर्ने जिम्मेवारी पाएका छन् । दुवै संस्थानले आयात गरेको मल आफ्नो गोदाममा राख्ने र त्यहाँबाट ढुवानी गरी सहकारीले लगेर किसानलाई बिक्री गर्दै आएका छन् । लकडाउनको समयमा पनि मल बिक्री नरोकिएको कृषि सामग्रीका प्रवक्ता पोखरेलले बताए । ‘मलको माग गर्ने सहकारीलाई हामीले गोदामबाट दिइरहेका छौँ, मल बिक्री रोकिएको छैन,’ उनले भने ।

दुवै संस्थानले गोदामबाट युरिया ७ सय, डिएपी २ हजार १ सय ५० र पोटास १ हजार ५ सय ५० रुपैयाँ प्रतिबोरा (५० किलो)का दरले बिक्री गर्छन् । त्यसमा ढुवानी भाडा जोडेर प्रत्येक सहकारीले प्रतिबोरा १२.५ रुपैयाँ नाफा राखी किसानलाई मल बिक्री गर्नुपर्ने प्रावधान छ । तर, ढुवानी खर्च बढी देखाउने, नाफाको दर बढी राख्ने गरी तोकिएको भन्दा बढी मूल्यमा किसानलाई सहकारीले मल बिक्री गर्दै आएको गुनासो बढ्दै आएको छ ।