मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ बैशाख ७ आइतबार ०६:४७:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

पिपिई सेट लगाएको वेला फोन उठाउन नसक्दा डा. शेरबहादुर पुन कारबाहीमा (डा. पुनसँग विस्तृत अन्तर्वार्तासहित)

भाइरोलोजीमा पिएचडी गरेका डाक्टर १८ वर्षदेखि करारमा

Read Time : > 6 मिनेट
२०७७ बैशाख ७ आइतबार ०६:४७:००

डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला । 

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए । 

त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो । त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन,’ डा. पुनले नयाँ पत्रिकासँग भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ ।’

आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा. पुन साँझ घर गए । ‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ । ‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने । कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, डा. पुन आफैँ पनि चकित परेका छन् । भन्छन्, ‘यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रा पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन ।’

डा. पुनको योग्यता र विज्ञतालाई अन्तर्राष्ट्रिय जगत्ले पनि पहिचान दिएको छ । संक्रामक रोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा शेरबहादुरका ‘पेपर’हरू प्रकाशित भइरहन्छन् । उनी संक्रामक रोगबारे नेपाली मिडियामा पनि खुलेर बोल्छन् । ‘डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो,’ उनी भन्छन्, ‘कोभिडजस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ ।’

उता डा. पुनको यो सामान्य तर्क पनि मन्त्रालयले बुझेको छैन । सूचना दिने पनि समय हुन्छ भन्छन् मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्ट । उनले भने, ‘जनतालाई सूचना दिने पनि समय हुन्छ । जथाभावी दिन आवश्यक छैन । एकद्वार प्रणाली हुन्छ । मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाभन्दा अर्को व्यक्ति बोलेको छैन ।’ तर, प्रवक्ता देवकोटालाई भने डा. पुनलाई किन कारबाही गरिएको भन्ने पनि जानकारी ‘छैन’ । शनिबार साँझ उनले नयाँ पत्रिकासँग भने, ‘मैले यो विषयमा राम्ररी बुझेको छैन, त्यसैले मैले बोल्नु उपयुक्त हुँदैन ।’

जनचेतनाका लागि लेख्दै र बोल्दै आएका पुनको शैली सरकारलाई मन परेको थिएन । यस्तो काम मन्त्री र वरिष्ठ कर्मचारीले गर्ने हो भन्ने मान्यता उनीहरूको छ । फ्रान्सबाट आएकी युवतीको कोरोना परीक्षणको रिपोर्ट स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा भव्य पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए, जब कि बिरामीको उपचार गरिरहेका डाक्टरहरूलाई यो विषयमा जानकारी नै दिइएको थिएन । अर्को केस भेटिएपछि पनि मन्त्री ढकालले नै पत्रकार सम्मेलन गरेका थिए । तर, ६ चैतमा दुबई हुँदै आएका व्यक्तिलाई कतार भनिदिएपछि अन्योल बढेको थियो । कतिसम्म भने अन्तर्राष्ट्रिय विमानस्थलले ६ चैतमा कतारबाट आएको जहाजका यात्रुको सूची खोज्न थालिसकेको थियो, तर जहाज दुबईबाट आएको भन्ने खुलेपछि यस्ता मेडिकल रिपोर्ट मन्त्रीले सार्वजनिक गर्न छाडेका छन् । तर, विज्ञ डाक्टर आमसञ्चारका माध्यममा बोलेर ‘हिरो’ हुन खोजेको भन्दै मन्त्रालय आक्रोशित थियो । त्यही आक्रोशको परिणामस्वरूप डा. पुनलाई अस्पतालबाट मन्त्रालय सारिएको हो । तर, सरकारले अहं प्रकट गर्दा यो संकटको वेला टेकु अस्पतालले एक विज्ञ डाक्टरको सेवा गुमाउने अवस्था सिर्जना भएको छ । 

यो संकटको वेला कृपया स्वास्थ्यकर्मीलाई हतोत्साही नगर्नुस्, मनमा केही छ भने समय आएपछि गरे हुन्छ, अहिले यो सबमा अल्झिने वेला होइन : डा. शेरबहादुर पुन

देश र दुनियाँ कोरोनाको महामारीमा छ, तपाईं भाइरोलोजिस्ट हो, संक्रामक रोगको विशेषज्ञ हो । तर, अचानक तपाईंलाई अस्पतालबाट मन्त्रालयमा हाजिर हुन बोलाएको खबर छ, यो सब कसरी भयो ?

कारबाही गर्ने पत्र आएको जानकारी अस्पतालको प्रशासनबाट थाहा पाएको छु । आज शनिबार बिदा भयो, आइतबार पत्र बुझ्छु । तर, बिरामी हेर्दै गरेको व्यक्तिलाई के कारणले मन्त्रालय तानियो रु म पनि आश्चर्यमा परेको छु । सुन्नमा आएअनुसार संक्रामक रोग कोभिड–१९ विषयमा सञ्चारमाध्यममा लेख्ने, बोल्ने काम बढी भयो भन्ने आरोप छ । हो, मैले आमजनताले बुझ्ने सरल र सहज भाषामा बोल्दै आएको छु । यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रो पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन । अहिले विश्वजगत् कोरोनाले त्रसित छ । हामीले नेपालमा फैलिन दिनुहुँदैन, फैलिएमा त्यसको नियन्त्रणमा एकजुट भएर लाग्नुपर्छ भनिरहेका छौँ । यसका लागि एक निकाय मात्रै लागेर पुग्दैन । सबै निकाय र सर्वसाधारण पनि लाग्नुपर्छ । तर, रोकथामका लागि आमसर्वसाधारणले कोभिड संक्रमणबारे जानकारी पाउनुपर्छ । विशेषज्ञ स्वास्थ्यकर्मीको रूपमा मैले त्यही धर्म पूरा गर्दै आएको छु । 

तर, तपाईं मिडियामा छाउनुभयो, अन्तर्वार्ता दिनुभयो भन्ने आरोप छ, मिडियामा तपाईंले बोलेका विषयमा सरकारले आपत्ति गर्न पाउँछ कि पाउँदैन ?

मैले अफवाह फैलाएको छु भने सरकारले आपत्ति जनाउन पाउँछ । अफवाह फैलाउनेविरुद्ध म आफू पनि लडेको छु । मानिसलाई ठूलो भ्रम फैलाएर मानिस तर्साउने काम ग¥यो भने सरकारले अवश्य पनि आपत्ति जनाउनुपर्छ । तर, कुनै पनि विशेषज्ञले आफूले पढेको, लेखेको वा अनुभव गरेको ज्ञान र चेतना सर्वसाधारणलाई बताउँदा सरकारले आपत्ति जनाउनुपर्ने कुरा तर्कसंगत लाग्दैन । मुटुरोग विशेषज्ञले सोसम्बन्धी जानकारी जनतालाई दिन्छन् । डाइटिसियनले सोबारे ज्ञान दिन्छन् । स्वास्थ्यकर्मीले औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई चेतनशील बनाउने पनि हो । त्यो जानकारी दिने अधिकार र कर्तव्य हामीसँग छ । कोरोना संक्रमण भयो भनेर मान्छेहरू आत्तिएर अस्पताल आउँछन्, उनीहरूलाई सुसूचित गराउने काम चिकित्सकको हो । संक्रामक रोगबारे कुन समुदाय बढी जोखिममा छ, त्यो समुदायका मान्छेलाई कसरी सुरक्षित रहन सकिन्छ भन्ने जानकारी दिनु चिकित्सकको दायित्व हो । मैले कुनै पनि कुरा प्रमाणविना बोलेको छैन । विभिन्न अध्ययन–अनुसन्धानबाट आएका कुरा सहज र सरल भाषामा जनतालाई भनेको छु । त्यो अधिकारबाट मलाई विमुख गराउन मिल्दैन । 

यो विषयमा जानकारी लिन मन्त्रालयले अस्ति बिहीबार तपाईंलाई बोलाएको रहेछ, तर तपाईं जानुभएन, सरकारको आदेशलाई बेवास्ता गर्न मिल्छ कि मिल्दैन ?

सरकारले दिएको निर्देशन मैले बेवास्ता गर्न मिल्दैन । तर, बुधबार र बिहीबार दिनभर म पिपिई लगाएर बिरामी जाँच्न व्यस्त थिएँ । पिपिई लगाएर बिरामी जाँचिरहेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन । बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ, मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ । तर, उहाँहरूले खोजेको २४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु । 

तपाईंमाथि कारबाही हुन्छ भन्ने संकेत पहिल्यै पाउनुभएको थियो कि थिएन ?

विगतमा पनि मिडियामा बोल्दा दूरी बढ्दै गएको थियो । तर, अहिले महामारीका वेला एक्कासि पत्र काटिएछ । कोरोनाविरुद्धको ज्ञान बढाउने काम एक–एकजनालाई भेटेर सञ्चार गर्न सम्भव छैन । यो मास मिडियाबाटै जानुपर्छ । अहिले इटाली, अमेरिका, जर्मनी, फ्रान्सको अवस्था दर्दनाक छ । त्यस्तो अवस्था हुन नदिन पहिलो माध्यम मिडियामार्फत आमनागरिकलाई भन्ने हो । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरूलाई निरुत्साहित पार्नुपर्छ । जोसुकैले बोल्नेभन्दा पनि सम्बन्धित विज्ञ व्यक्तिले बोल्नुपर्छ । यो चेतनाले सयौँ, हजारौँ मानिसको जीवन जोगाउँछ । तर, यही विषयमा मैले इमानदार कोसिस गर्दा मलाई पत्र काट्ने काम भयो, यो अनौठो हो । 

कोरोना नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक छ । कुनै पनि विज्ञता नभएका पदाधिकारीले बोलेको सुनिएको छ । तर, तपाईंजस्तो विज्ञले बोल्नुपर्छ, लेख्नुपर्छ भन्नेमा आमनागरिकलाई शंका छैन । तर, सरकार किन आक्रोशित भयो होला ?

मैले आमनागरिकलाई संक्रामक रोगबारे सुसूचित गराएको चित्त नबुझाउनेहरू पनि छन् । तर, म भन्छु– आफ्नो जानकारी नभएको विषयमा नबोल्नुस् । विज्ञता भएको विषयमा खुलेर बोल्नुहोस् । जो विज्ञ हुनुहुुन्छ, उहाँहरू सबैले आफ्नो विज्ञता सार्वजनिक गर्नुहोस् । तपाईंको यो कदमले समाजलाई महामारीबाट बचाउन सक्छ । म एक्लैले गर्न सक्छु भनेर म हिँडेको छैन, मलाई त्यस्तो भ्रम पनि छैन । अहिले कोभिडबारे भ्रामक सूचना फैलिएका छन्, सत्यतथ्य सूचना दिने काम चिकित्सकको हो । 

सरकारले तपाईंलाई मन्त्रालयमा हाजिर हुन भनेको छ, कोरोना महामारीको यो वेला तपाईंजस्तो संक्रामक रोग विशेषज्ञले अस्पतालमा सेवा दिने हो कि मन्त्रालयमा हाजिर हुने हो रु अब के गर्नुहुन्छ ?

म एउटा चिकित्सक हो । मेरो कामै बिरामी हेर्ने हो । अहिले कोरोनाको लडाइँमा छौँ । भोलि कैयौँ दिनसम्म अस्पतालमा बस्नुपर्ने अवस्था आउन सक्छ । यहीबीचमा दुनियाँमा नयाँ–नयाँ अध्ययन भएका छन्, जान्नु पनि पर्छ । तर, यस्तो संवेदनशील समयमा सरकारले चिकित्सकको मनोबल खस्किने काम गर्नुहुँदैन । केही त्यस्तो छ भने उचित समय आएपछि गरे हुन्छ, त्यतिवेला धेरैलाई हानि हुँदैन । तर, अहिले यो सब गर्ने वेला होइन । 

तपाईं मेडिकल सेवामा कहिलेदेखि हुनुहुन्छ रु कोभिडभन्दा अघि कस्ता–कस्ता संक्रामक रोगको उपचारमा संलग्न हुनुभयो ? 

मेरो विज्ञता नै संक्रामक रोगमा हो । १८ वर्षदेखि यही टेकु अस्पतालमा काम गरिरहेको छु । सार्सको समयमा पनि पिपिई लगाएर बिरामी हेरेको हो । त्यस्तै, स्वाइनफ्लु, कालाजार, झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, जन्डिस, मलेरिया, डेंगुजस्ता महामारीको सामना गरिसकेको छु । तीन दिनसम्म अस्पतालमा बसेर निरन्तर बिरामी हेरेको याद छ । टेकु अस्पतालसँग इमोसनल सम्बन्ध छ । फेरि नेपालमा संक्रामक रोग विशेषज्ञ धेरै छैनन्, भएकाहरूले जनतालाई सुसूचित गराउनुपर्छ भन्ने मेरो मान्यता छ ।