१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी लन्डन
२०७७ बैशाख ७ आइतबार ०६:४४:००
Read Time : > 3 मिनेट
खेलकुद

इंग्लिस प्रिमियर लिग सुरु गर्ने तयारी 

सहभागी क्लबका पदाधिकारी, प्रशिक्षक, तथा सेयरहोल्डरबीचको वार्ताले ३० जुनमा लिग सुरु गर्नुपर्ने निष्कर्ष निकाल्यो

Read Time : > 3 मिनेट
एजेन्सी लन्डन
२०७७ बैशाख ७ आइतबार ०६:४४:००

कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग (इपिएल) स्थगित छ । निर्धारित समयमा यो लिग सकिने छाँटकाँट छैन । १३ मार्चमा लिग स्थगित भएको थियो । स्थगित हुनुअघि इपिएलमा २९औँ चरणको खेल चलिरहेको थियो । लिभरपुल ८२ अंकका साथ शीर्ष स्थानमा थियो । लिभरपुलले दोस्रो स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीसँग स्पष्ट २५ अंकको अग्रता लिएको छ । इपिएलको व्यवस्थापकबीच शुक्रबार भिडियो कन्फरेन्समा जतिसक्दो छिटो लिग सकाउनेबारे छलफल भएको छ । 

बैठकमा ४० दिनभित्र लिग समाप्त पार्न सकिने प्रस्ताव आएको छ । भिडियो कन्फरेन्समा सहभागी क्लबका पदाधिकारीले ४० दिनभित्र बाँकी ९२ खेल समाप्त गर्नुपर्ने धारणा राखेका थिए । तर, उनीहरूले लिग सुरु र समाप्त गर्ने भन्ने मितिको छिनोफानो गर्न सकेनन् । बैठकमा ३० जुनबाट लिग सुरु गर्ने कि भन्ने प्रस्ताव नआएको पनि होइन । तर, त्यसवेलासम्म बेलायतबाट कोरोना भाइरस निर्मूल हुन्छ कि हुँदैन, अर्को जटिल प्रश्न छ । 

‘सम्भवतः ४० दिनका नयाँ खेलतालिका आउन सक्छ,’ इपिएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा हामीसँग अरू विकल्प पनि छैन ।’ इपिएलका प्रवक्ताका अनुसार ३० जुनबाट इपिएल गर्न सकिन्छ । त्यसका लागि क्लब तथा व्यवस्थापक तयार हुनुपर्नेछ । ‘बैठकमा प्रस्तावित दिनमा सबै तयारी अवस्थामा बस्नुपर्छ, अनि मात्र लिग सुरु हुन सक्छ,’ इपिएलका प्रवक्ताले भने, ‘इपिएलसँग व्यापार तथा उद्योग जोडिएका छन्, यसलाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।’ 

इपिएलमा लगानीकर्ता अर्थात् सेयरहोल्डरले पनि बेलायतमा चाँडो लिग सुरु हुनुपर्ने बताएका छन् । सेयरहोल्डरले नयाँ ढाँचाअनुसार इपिएल आयोजना हुुनुपर्ने सुझाब दिएको बिबिसीले जनाएको छ । ‘सेयरहोल्डरसमेत उपस्थित भएको भिडियो कन्फरेन्समा नयाँ ढाँचाअनुरूप लिग हुनुपर्ने सुझाब आएका थिए,’ बिबिसीले बैठकमा सहभागी एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भन्यो, ‘२०१९÷२० को सिजन जुलाईको अन्तिम साताअघि समाप्त पार्न सकिएन भने नयाँ सिजन सुरु गर्न कठिन हुन्छ ।’ 

इपिएल स्थगित हुनुअघि सहभागी २० क्लबमध्ये १६ क्लबले नौ र चार क्लबले दश खेल खेल्न बाँकी छन् । बेलायतमा कोरोना भाइरसको प्रभाव त्यति नहुँदा इपिएलले लिग निर्धारित समयमै सकाउने लक्ष्य राखेको थियो । अहिले बेलायतमा १२ हजारभन्दा बढी भाइरसबाट संक्रमित छन् । साथै, शुक्रबार मात्र सरकारले २१ दिनको लकडाउन थप गरेको छ । यसपटकको लकडाउनमा सरकारले स्पष्ट रूपमा सामाजिक दूरी कायम राख्न निर्देशन दिएको छ । 

यसअघिको लकडाउनमा सरकारले सुरक्षित रहन र आवश्यक परे मात्र घरबाट निस्किन भनेको थियो । दोस्रोपटकको लकडाउन भने कडाइका साथ लागू हुने जनाइएको छ । सरकारले खेलाडीलाई मैदानमा प्रवेश गर्नुअघि राम्रोसँग स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले समेत फुटबलप्रति चासो देखाएको बिबिसीले जनाएको छ ।

कहिले र कसरी रोकिएको फुटबल सुरु गर्ने भन्नेबारे प्रधानमन्त्री बोरिसले आफ्नो धारणा राखेको बिबिसीको भनाइ छ । लामो अवधिसम्म फुटबल गतिविधि रोकिँदा क्लब भित्र आर्थिक संकट आउन सक्छ । यस्तो हुँदा क्लबहरूले नयाँ सिजनमा आर्थिक घाटा व्यहोरी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

चेल्सीका मिडफिल्डर विलियम तथा टोटनह्यामका डिफेन्डर जान भेर्टोन्घेनले पनि इपिएल छिटै सुरु हुनुपर्ने बताएका छन् । कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म क्लबहरू आर्थिक रूपमा कमजोर हुने उनीहरू बताउँछन् । ‘यदि लिग जुलाईसम्म समाप्त भएन भने मध्यम मात्र नभएर ठूला क्लब पनि आर्थिक हिसाबले संकटमा पर्न सक्छन्,’ चेल्सीका मिडफिल्डर विलियमले भने, ‘हामीहरूको विचारमा ३० जुनबाट लिग सुरु गर्नुपर्छ ।’ 

यसैबीच बिबिसीले इपिएल सुरु गर्नुपर्ने वा नपर्ने भन्न विषयमा गरेको एक सर्वेक्षणमा ३९ प्रतिशतले अहिले नै विजेता घोषित गर्नुपर्ने मत राखेका छन् । यसैगरी २८ प्रतिशतले जसरी हुन्छ इपिएल सकाउनुपर्ने विचार राखेका छन् । युइएफएले इपिएललाई आफ्नो विवेकअनुसार लिग सकाउन अनुमति दिएको छ । 

च्याम्पियन्स लिग : युरोपियन च्याम्पियन्स लिगमा अहिले प्रिक्वार्टरफाइनल लेग आधा मात्र सकिएको छ । केही क्लबले दुवै लेगमा प्राप्त नतिजाअनुसार क्वार्टरफाइनल स्थान बनाइसकेका छन् । साबिक विजेता लिभरपुल एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ । 

बुन्डेस लिगा : २० अप्रिलसम्म जर्मनीको बुन्डेस लिगा स्थगित छ । यसबीचमा केही क्लबका खेलाडी अभ्यासमा जुटेका छन् । स्पेनिस ला लिगा : स्पेनिस ला लिगामा खेलाडीहरूले प्रशिक्षण गरेका छैनन् । ला लिगाका अध्यक्ष जाभियर टेबासले २८ मेबाट लिग सुरु गराउन सक्ने बताएका छन् ।

फ्रेन्च लिग वान : फ्रेन्च फुटबल पदाधिकारीका अनुसार फ्रेन्च लिग वान ३ वा १७ जुनदेखि सुरु हुन सक्छ । तर, कोरोना भाइरस संक्रमण बढ्दै गएको खण्डमा लिग सुरु हुन मुस्किल रहेको खेलकुद पत्रिका एल इक्वीले जनाएको छ । 

सिरिए : इटालियन फुटबल महासंघले खेलाडीहरूमै कोरोना भाइरस संक्रमण देखिएपछि सिरिए लिग स्थगित गरेको छ । तर, सिरिए मेबाट सुरु हुने अपेक्षा छ । 

इपिएललाई आठ साता काफी सिमोन स्टोन, खेलकुद पत्रकार, बिबिसी

अहिले ३० जुनको नयाँ डेटलाइन आएको छ । केहीले यसअघि नै इपिएल सुरु गर्नुपर्ने बताएका छन् । इपिएलको बैठकमा एउटा सहमति के भएको देखिन्छ भने सबै सहभागी ३० जुनमै इपिएल सुरु गर्नुपर्ने पक्षमा छन् । धेरै लामो छलफलपछि त्यो मितिमा सहमति भएजस्तो लाग्छ । यद्यपि यो आधिकारिक होइन । यो एउटा राम्रो पक्ष हो । तर,  अवस्था कति लम्बिन्छ, हामीलाई थाहा छैन । 

क्लबहरू आर्थिक रूपमा संकटमा पर्न थालेको देखेको छु । इपिएलले युइएफएसँग अझै छलफल गरेकोजस्तो लाग्दैन । अर्को सातामा वार्ता हुने सुनेको छु । इपिएलले बुन्डेस लिगा पछ्याउन लागेकोजस्तो महसुस हुन्छ । जर्मनीमा खेलाडीहरू अभ्यासमा आइसकेका छन् । जर्मन क्लबका खेलाडीहरू सामाजिक दूरी राखी अभ्यास गरिरहेका छन् । 

अभ्यास सत्र समाप्तिपछि खेलाडीहरूले घरमै ब्रेकफास्ट र लन्च लिने गरेका छन् । उनीहरू घरमै लुगा चेन्ज गर्छन् । बुन्डेस लिगाले पनि अर्को साता युइएफएसँग वार्ता गर्दै छ । यता, इपिएल तत्काल खेलाडीलाई अभ्यास गराउने सक्ने अवस्थामा छैन ।

सरकारले नै सामाजिक दूरी कायम राख्न भनेको छ । तर, पनि २०१९-२० को सिजन सकाउनुपर्ने दबाब इपिएललाई छ । मेरो अनुभवमा अहिलेको अवस्थमा इपिएल समाप्त पार्न केवल आठ साता काफी छ । यो आठ सातामा खेलाडीले अभ्यासदेखि खेलसम्म खेल्न सक्छन् ।