१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख ६ शनिबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार

गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगका बिरामीलाई घरमै औषधि पुर्‍याउने

Read Time : < 1 मिनेट
२०७७ बैशाख ६ शनिबार १८:१०:००

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगका बिरामीले नियमित सेवन गर्ने औषधि निःशुल्क रूपमा घरघरमा उपलब्ध गराउने भएको छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन घोषणा गरिएसँगै नागरिकहरू घरबाहिर निस्कन नपाउने र नजिकैको फार्मेसीमा आवश्यक पर्दा नपाइने हुदाँ गाउँपालिकाले दीर्घरोगका बिरामीले नियमित सेवन गर्ने औषधि निःशुल्क रूपमा घरघरमा उपलब्ध गराउने भएको हो । 

लकडाउन अझै लम्बिन सक्ने र लामो दूरीको यात्रा असहज हुने भएकाले नियमित औषधि सेवन गर्नुपर्ने तथा दीर्घरोगले ग्रसित बिरामीले सेवन गर्ने औषधि गाउँपालिकाले खरिद गरी बिरामीको घर-घरमा निःशुल्क रूपमा पुर्‍याउन लागिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

गाउँपालिकाभित्र रहेका नियमित औषधि सेवन गर्ने मुटु, मिर्गाैला, दम, उच्चरक्तचाप, मधुमेह तथा अन्य समस्या भएका बिरामीहरू छन् । ‘लकडाउन अझै लम्बिँदै जान सक्ने अवस्था छ, त्यसकारण अत्यावश्यक कुनै कारणले लामो दूरीको यात्रा गर्नसमेत असहज हुनेछ,’ उनले भने, ‘त्यसैले जो–जसले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने र गर्दै आउनुभएको छ, उहाँहरूलाई लकडाउन अवधिभर स्वदेशमा पाउने औषधि घरघरमा निःशुल्क रूपमा पुऱ्याउँछौँ ।’

नजिकको स्वास्थ्य चौकीप्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई आफूले नियमित सेवन गर्दै आएको औषधिको नाम टिपाउन अध्यक्ष तामाङले अनुरोध गरेका छन् । सोमबारसम्ममा औषधिको नाम, मात्रा, परिमाणसहितको बिरामी पुर्जाको सक्कल अथवा फोटोकपी पेस गरी विवरण उपलब्ध गराउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ ।

लकडाउनलाई पूर्ण रूपले पालना गर्न र नागरिकले पाउनुपर्ने अत्यावश्यक स्वास्थ्य सेवामा सहजीकरणका लागि यस्ता खालका कार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।