मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ६ शनिबार १५:००:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि ओखलढुंगामा त्रास, सीमानाका सिल गर्न माग 

Read Time : > 2 मिनेट
२०७७ बैशाख ६ शनिबार १५:००:००

छिमेकी जिल्ला उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सिमाना जोडिएको ओखलढुंगामा त्रास बढेको छ । सवारी पास भएका र खाद्यान्न ढुवानीका नाममा तराईका जिल्ला हुँदै उदयपुर भएर दिनहुँ मानिसहरू जिल्ला भित्रिएकाले ओखलढुंगामा त्रास बढेको हो । 

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के मस्जिदमा १२ जनामा कोरोना भाइरस देखापरेपछि उत्पन्न परिस्थितिले आसपासको क्षेत्रमा त्रास बढाएको हो । स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक सुरक्षा कवज पिपिई, स्यानिटाइजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मलगनजस्ता उपकरणहरू अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

सरकारले लकडाउन घोषणा गरे पनि बाहिरबाट मानिसहरू आउने र गाउँमा घुमफिर गर्ने क्रम नरोकिएकाले डर बढेको च्यानमका सन्तोष बस्नेतले बताए । ‘छिमेकी जिल्ला उदयपुरमा १२ जना संक्रमित पुष्टि भइसक्यो, सहरबाट आउने मानिसहरू गाउँमा निर्धक्क घुमफिर गरिरहेका छन्,’ बस्नेतले भने, ‘सिमानामा पनि कडाइ छैन । गाउँमा सतर्कता खासै भएन । यदि कोही–कसैमा समस्या देखिए गाउँ नै सखाप हुन सक्छ ।’ सुनकोसी गाउँपालिकाले बाहिरबाट आउनेलाई प्रवेश गर्न नदिने निर्णय गरे पनि त्यो कार्यान्वयन नभएको स्थानीयको भनाइ छ । 

उदयपुरको घुर्मी र ओखलढुंगाको टोक्सेलमा यी दुई जिल्लाको सिमाना जोडिन्छ । त्यहाँ अहिले खुलेआम मानिसको ओहोर–दोहोर भइरहेको छ । प्रहरी चेकपोस्ट र मानेभञ्ज्याङ गाउँपालिकाले हेल्थ डेक्स राखेको भए पनि त्यहाँका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफैँ सुरक्षा सामग्री अभावमा छन् । ‘हामीले भन्न त मिल्दैन, यहाँ धेरै समस्या झेलेर ड्युटी गरिरहेका छौँ । नयाँ मान्छेहरू आइरहेका छन्, जोखिम बढेकै छ,’ एक प्रहरी जवानले भने, ‘जागिर हो खटाएको काम गर्नैपर्छ, तर जोखिम धेरै छ । झन् यही पल्लो जिल्लामा संक्रमित भेटिएको सुनेपछि कताकता डर लागेको छ ।’ ओखलढुंगामा भारतबाट लुकिछिपी आउने क्रम पनि रोकिएको छैन । केही दिनअघि मात्रै भारतबाट आएका दुईजनालाई प्रहरीले समातेर क्वारेन्टाइनमा राखेको थियो । 

नाका सिल गर्न माग 
माथिल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वार टोक्सेल नाका सिल गर्न माग गरिएको छ । उदयपुरमा समेत संक्रमित भेटिएकाले उदयपुरसँग जोडिएको र राजधानी तथा तराईका जिल्लाबाट प्रवेश गर्ने टोक्सेल नाका सिल गर्न जिल्लावासीले माग गरेका हुन् । लकडाउनले मात्रै आवतजावत नरोकिएकाले नाका सिल नै गरेर बन्द गर्नुपर्ने मानेभञ्ज्याङ गाउँपालिका– २ वाक्साका लक्ष्मण राउतले बताए । ‘लकडाउन भनिएको छ, मान्छे आउने–जाने भइरहेकै छ । बरु अहिले टोक्सेलको सुनकोसी पुल क्षेत्रमा सिल गर्ने हो भने यतातिर केही डर हुँदैनथ्यो,’ राउतले भने ।

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले पनि सिमानामा कडाइ गर्न माग गरेका छन् । ‘विश्वका शक्तिशाली देशको सतर्कता र तयारीले पुगेन, हाम्रोजस्तो फितलो सतर्कताले काम गर्दैन । त्यसैले सिमानामा कडाइ गरौँ । स्वास्थ्य जाँच अनिवार्य गरौँ । जिल्ला आएकालाई डुल्न नदिऔँ,’ खतिवडाले भने, ‘जनता बचाउन लाग्नुपर्ने सरकार अन्त कतै व्यस्त छ । स्थानीय तहहरूले पनि अझै माथि उठेर काम गर्नुपर्छ ।’ खतिवडाले जिल्लावासी जनताले विपतका वेला जनप्रतिनिधिको सोचेजस्तो साथ पाउन नसकेको बताए । 

जिल्लाभर थर्मलगन अभाव 
ओखलढुंगामा थर्मलगन अभाव भएको छ । मानिसको तापक्रम जाँच्न प्रयोग गरिने थर्मलगन जिल्लाभर नै अभाव भएको हो । माग अत्यधिक भए पनि हाल जिल्लामा थर्मलगन ल्याउन नसकिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । थर्मलगन नहुँदा स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर काम गरिरहेका छन् । ‘कोरोनाको संक्रमण फैलिएका वेला मानिसलाई नछोई तापक्रम नाप्ने यन्त्र थर्मलगनको विश्वभर प्रयोग भइरहेको छ । जिल्लामा पनि माग धेरै छ, तर उपललब्ध छैन,’ तिवारीले भने, ‘ज्यान जोखिममा राखेर पञ्जाका भरमा स्वास्थ्यकर्मीले काम गरिरहेका छन् ।’ 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग भएको एउटा थर्मलगन हर्कपुर नाकामा राखिए पनि अहिले काम लाग्ने अवस्थामा छैन । भएको एउटा थर्मलगन बिग्रिएपछि तापक्रम नाप्न समस्या भएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सनसमेत रहेका तिवारीको भनाइ छ । जिल्लाभरि थर्मलगन अभाव छ ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये खिजिदेम्बा गाउँपालिकाले मात्रै एउटा थर्मलगन किनेको छ । खिजिदेम्बाले लिम्ती नाकाको स्वास्थ्य सहायता कक्षमा उक्त थर्मलगन प्रयोग गरिरहेको छ । खिजिदेम्बाबाहेक ओखलढुंगाका अन्य गाउँपालिकासँग थर्मलगन छैन । 

थर्मलगन बजारमै अभाव देखिएपछि खरिद गर्न नसकिएको जनप्रतिनिधिहरू बताउँछन् । केहीथान मास्क र पन्जा बाँड्नमा यतिवेला जनप्रतिनिधि व्यस्त छन् । 

प्रदेश सरकारले जिल्लामा अन्य मेडिकल उपकरण भने मागअनुसार पठाएको छ । थर्मलगनसमेत माग गरिएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । थर्मलगन हुँदा बिरामी तथा शंकास्पदको टाढैबाट परीक्षण गर्न सकिने भएकाले स्वास्थ्यकर्मी पनि सुरक्षित हुने हुँदा जिल्लाभर थर्मलगनको माग छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको अभाव बढ्दै  गएको हो । स्वास्थ्यकर्मी परिचालन गर्नका लागि आवश्यक सुरक्षा कवज पिपिई, स्यानिटाइजर, मास्क, पन्जा, ज्वरो नाप्ने थर्मलगनजस्ता उपकरण अभाव भएको स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।