हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–बघौडा सडकखण्ड निर्माणको काम बिहीबारबाट सुरु भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम बिहीबारबाट सुरु भएको गणपति कन्स्ट्रक्सनका प्रमुख तुल्सीराम भण्डारीले जानकारी दिए ।
हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–बघौडा सडक निर्माण गर्न सरकारले अनुमति दिएपछि निश्चित ठाउँमा मजदुर बस्ने गरी निर्माणको काम अगाडि बढाएको उनले बताए । नेपालगन्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर कालोपत्रे भइसकेको बताउँदै उनले लकडाउनका कारण रोकिएको कामलाई तदारुकताका साथ अगाडि बढाउने गरी मजदुरको व्यवस्थापन गरिएको दाबी गरे । बाँकी भागमा कालोपत्रेका लागि तयार भइसकेको उनले बताए ।
मजदुरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्य अवस्थामा असर नपर्ने गरी व्यवस्था मिलाइएको गणपति कन्स्ट्रक्सनका फिल्ड म्यानेजर इन्द्र केसीले बताए । सामाजिक सुरक्षा र स्वास्थ्यको ख्याल गरी हुलाकी सडक निर्माण गरिने उनले जानकारी दिए ।