१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम चन्द काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार १४:४७:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री करिब ठप्प

Read Time : > 1 मिनेट
प्रेम चन्द, काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार १४:४७:००

कोरोना भाइरस संक्रमणलाई थप फैलिन नदिनका लागि गरिएको लकडाउनपछि पेट्रोलियम पदार्थको बिक्री ह्वात्तै घटेको छ । लकडाउनका कारण सवारीसाधन नचलेको तथा विकास निर्माणका कामसमेत ठप्पप्रायः भएकाले पेट्रोलियम पदार्थको बिक्री घटेकाे हाे । 

सामान्य अवस्थामा दैनिक तीन हजार किलोलिटरसम्म हुने पेट्रोलको बिक्री अहिले दैनिक दुई सय किलोलिटर मात्रै हुने गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार १ अप्रिलदेखि १५ अप्रिलसम्म तीन हजार किलोलिटर मात्रै पेट्रोलको बिक्री भएको छ । उक्त परिणामबराबरको पेट्रोल सामान्य अवस्थामा एक दिनमै खपत हुने गरेको थियो । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो १५ दिनमा देशभर तीन हजार किलोलिटर मात्रै पेट्रोल बिक्री भएको जानकारी दिए । 

‘हिजो हामीले मूल्य समायोजनका लागि पेट्रोलियम पदार्थको बिक्री कस्तो छ भनेर हेरेका थियौँ,’ उनले शुक्रबार भने, ‘पछिल्लो १५ दिनमा करिब तीन हजार किलोलिटर पेट्रोल र करिब १५ हजार किलोलिटर डिजेल बिक्री भएको पायौँ ।’

उनका अनुसार सामान्य अवस्थामा दैनिक सात हजार किलोलिटर बिक्री हुँदै आएको डिजेल लकडाउनपछि दैनिक एक हजार किलोलिटरमा झरेको छ । 
‘सामान्य अवस्थामा दैनिक सात हजार किलोलिटर डिजेल बिक्री हुने गरेको थियो,’ उपाध्यायले भने, ‘पछिल्लो १५ दिनको बिक्री घटेको तथ्यांकमा देखियो ।’

बिक्री नभएकाले मूल्य घटेन
पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको माग न्यून छ । 

नेपालमा पेट्रोलियम पदार्थ पूर्ण रूपमा भारतबाट ल्याउने भएकाले भारतको आइओसीबाट प्राप्त हुने मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ हुने गरेको छ । 

बिहीबार आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । तर, नेपालमा पेट्रोलियम पदार्थको बिक्री एकदमै न्यून भएकाले मूल्य नघटाएको नेपाल आयल निगमले जनाएको छ । 

निगमले बिहीबार नै एक विज्ञप्ति निकालेर भारतबाट नयाँ खरिदको मूल्य घटेर आएको भए पनि तत्काल यहाँ भने मूल्य नघट्ने जनाएको थियो । 

‘१६ अप्रिल २०२० मा प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१  अनुसार बिक्री मूल्य समायोजन गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको माग एकदमै न्यून रहेका कारण हाललाई बिक्री मूल्य यथावत् कायम गरिएको छ ।’

कोरोना संक्रमणपछि उत्पन्न अवस्थाका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेका कारण तेल उत्पादक मुलुकहरूको समूह ओपेकले तेल उत्पादनमा कटौती गर्ने सहमति यसअघि नै गरिसकेको छ ।