मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी मिन्सक
२०७७ बैशाख ५ शुक्रबार ०७:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

बेलारुसमा महिला फुटबल स्थगित

Read Time : > 1 मिनेट
एजेन्सी मिन्सक
२०७७ बैशाख ५ शुक्रबार ०७:१०:००

कोरोना भाइरसका कारण बेलारुसमा महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित भएको छ । तर, त्यहीँ नै पुरुष फुटबल सुचारु भइरहने बेलारुस फुटबल संघले जनाएको छ । सन् २०२० को प्रारम्भमै महिला फुटबल सुरु हुनुपर्ने थियो । चार महिनासम्म प्रतियोगिता सुरु हुन नसक्दा महिला फुटबल स्थगित गर्नुपरेको संघले जनाएको छ । 

‘अहिले अनिश्चितकालका लागि महिला फुटबल स्थगित गरेका छौँ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । महिला फुटबलका केही खेलाडीमा संक्रमण देखिएकाले प्रतियोगिता नै स्थगित गर्नुपरेको फेडेरेसनले स्पष्ट पारेको छ । युरोपमा अन्य ठूला प्रिमियर घरेलु लिग स्थगित भएको अवस्थामा बेलारुसमा पुरुष फुटबल प्रतियोगिता सुचारु नै भइरहेको छ । 

बेलारुसमा कोरोना भाइरसबाट केही असर गरेको छैन । यद्यपि, बुधबारसम्म बेलारुसमा तीन हजार सात सय ७८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । यहाँ भाइरसबाट ३६ जनाको निधन भएको छ  । तर, पनि रंगशालामा दर्शकको उपस्थितिमै फुटबल नियमित भइरहेको छ । 

राष्ट्रपति एलेसान्डर लुकासेन्कोले लकडाउन घोषणा गर्दा पनि गत महिना आइस हक्कीको लिगमा दर्शकको उपस्थिति थियो । बेलारुसका पर्यटकमन्त्री सजिई कोभाल्चोकले लकडाउनको अवस्थामा खेलकुद गतिविधि रोकिनुपर्ने कारण नभएको बताएका छन् । ‘खेलकुदका च्याम्पियनसिप रोकिनुहुन्न,’ कोभाल्चोकले भने, ‘हामीले पुरुष फुटबल खेल जारी नै राखेका छौँ ।’ 

पछिल्लो समयमा पुरुष फुटबल प्रतियोगितामा दर्शक आउन छाडेका छन् । दर्शक भाइरसबाट संक्रमित हुन सक्ने डरले रंगशालामा आउन छाडेको पर्यटकमन्त्री कोभाल्चोकले बताए । ‘पछिल्ला केही खेलमा दर्शक देखिएनन्, उनीहरू घरमै सुरक्षित बसेका छन्,’ कोभाल्चोकले भने, ‘समर्थकहरूले यति वेला खेलभन्दा पनि स्वास्थ्य सुरक्षालाई नै ध्यान दिएजस्तो लाग्छ ।’ 

राज्यले समर्थकलाई अनिवार्य रूपमा रंगशालामा उपस्थिति हुनुपर्ने निर्देशन नदिएको उनको भनाइ छ । ‘७० प्रतिशत समर्थक घटेका छन्, हामीले कसैलाई पनि रंगशालामा आउनुपर्छ भनेका छैनौँ,’ कोभाल्चोकले भने, ‘तपाईंमै निर्भर हुन्छ, फुटबल हेर्न रंगशाला जानुहुन्छ वा घरमै बस्न मन पराउनुहुन्छ ।’