
कोरोना भाइरसका कारण एसिया कप क्रिकेट प्रतियोगिता स्थगित भएको छ । युएईमा आउने सेप्टेम्बर महिनामा एसिया कप हुँदै थियो । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले कोभिड–१९ को कारण जनाउँदै एसिया कप प्रतियोगिता स्थगित गरेको हो ।
पाकिस्तानबाहेक अन्य सहभागी राष्ट्रहरूले एसिया कप स्थगितमा सहमति जनाएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष एहसान मनीले एसिया कप स्थगित भएको आफूलाई स्वीकार्य नभएको जनाएका छन् ।
‘मलाई आधिकारिक रूपमा एसिया कप स्थगित भएको जानकारी छैन,’ अध्यक्ष मनी भन्छन्, ‘पाकिस्तान र भारतबीच छलफलपछि एसिया कप स्थगित भनिएको छ, तर हामी दुई क्रिकेट बोर्डबीच वार्ता भएकै छैन ।’ भारतले पाकिस्तानबाहेक अन्य राष्ट्रका क्रिकेट बोर्डसँग छलफल गरेको आरोप मनीले लगाएका छन् । ‘अरू राष्ट्रसँग सहमति लिएर प्रतियोगिता स्थगित गरिएको हो,’ उनले भने, ‘पिसिबीसँग वार्ता नै नगरी स्थगित गरिएको निर्णय हामीलाई स्वीकार्य नभएको हो ।’
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रभावित हुन सक्ने भएकाले नै एसिया कप स्थगित गरिएको मनीको भनाइ छ । ‘आइपिएलमा प्रभाव नपरोस् भनेर नै एसिया कप स्थगित गरेको हो,’ मनीले भने । यसपटकको एसिया कपको आयोजक पाकिस्तान नै थियो । तर, भारतले पाकिस्तानमा सुरक्षा व्यवस्था कमजोर र त्यहाँ खेल्न जाँदा खेलाडी जोखिममा रहने दाबी गरेको थियो । त्यसपछि एसिसीले प्रतियोगिता पाकिस्तानबाट दुबई र अबुधावीमा सारिएको हो ।
पाकिस्तानले यसलाई भारतको खेल कूटनीतिको संज्ञा दिएको छ । ‘भारत पाकिस्तानमा आउन नचाहेका कारण नै हामी कहाँबाट दुबईमा प्रतियोगिता आयोजना सारियो,’ भारततर्फ इंगित गर्दै पिसिबीका अध्यक्ष मनीले भने, ‘पाकिस्तानको सुरक्षा व्यवस्था राम्रो छ ।’ एसियामा क्रिकेट विकासमा एसिया कपले महत्वपूर्ण भूमिका खेलेको मनीको भनाइ छ । यस प्रतियोगिताबाट अन्य सहभागी राष्ट्रका खेलाडीले एक्सपोजर पाउने भएकाले एसिया कप महत्वका साथ लिइएको उनले बताए ।