मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
प्रकाश कँडेल काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार ०६:४२:००
Read Time : > 1 मिनेट
खेलकुद

एन्फाको वार्षिक क्यालेन्डर प्रभावित

Read Time : > 1 मिनेट
प्रकाश कँडेल, काठमाडौं
२०७७ बैशाख ५ शुक्रबार ०६:४२:००

कोरोना भाइरसका कारण विश्व फुटबल नै ठप्प छ । कोरोना भाइरसले नेपाली फुटबलमा समेत असर पारेको छ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताका ३२ खेल स्थगित भए । यसका साथै सी डिभिजन र पहिलोपटक आयोजना हुन लागेको महिला लिग पनि सुरु नै नभई स्थगित हुन पुगे । मोफसलका गोल्डकप पूरा नहुँदै स्थगित भइसकेका छन् । कोभिड–१९ले अखिल नेपाल फुटबल संघ (एन्फा)को यो वर्षको मात्र नभएर आगामी वर्षको क्यालेन्डर पनि प्रभावित हुने सम्भावना बढेको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारी लम्बिए, आउँदो वर्षको क्यालेन्डरसमेत प्रभावित हुने बताएका छन् । घरेलु प्रतियोगिता बीचमै स्थगित हुँदा प्रतियोगिता सकाउन चुनौती रहेकाले आगामी वर्षको एन्फा क्यालेन्डरमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको एन्फा महासचिव तुलाधरले बताए । ‘यो अवस्था नसुध्रिने हो भने ०७८ को क्यालेन्डरसमेत प्रभावित हुने सम्भावना छ ।’ 

अहिलेको अवस्था सामान्य नुहँदा स्थगित भएका प्रतियोगिताबारे केही भन्न नसकिने उनले जनाए । ‘अवस्था सामान्य नभई रोकिएका प्रतियोगिता सञ्चालनबारे केही भन्न सक्ने अवस्था छैन । समयको चापले क्यालेन्डरमा भएका प्रतियोगिताबारे यसै भन्न सक्ने अवस्था छैन,’ चिन्ता देखाउँदै तुलाधर भन्छन्, ‘यो सिजनमा हामीले बी र सी डिभिजन आयोजना गर्न सकेनौँ भने स्वाभाविक रूपमा अर्को  सिजनमा लिग प्रभावित हुन्छन् ।’ 

अवस्था सामान्य हुँदा सबै क्लबसँग छलफल गरी अगाडि बढ्ने उनले बताए । ‘सबै क्लबसँग बसेर कसरी अगाडि जान सकिन्छ भनेर छलफल गछौँ, त्यसपछि हामी एउटा ठोस  निर्णयमा पुग्छौँ,’ उनले भने, ‘अवस्थाअनुसार क्लबहरू चल्नुपर्छ ।’ थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले अहिलेको अवस्था सबै फुटबल गतिविधि बन्द रहेकाले आगामी दिनमा कसरी जाने भन्ने निर्णय हुन नसकेको बताए । 

उनले अवस्था सामान्य भए क्लबहरूले २ वा ३ महिनामा आफूलाई रिकभर गर्न समय हुने बताए । ‘अहिले नेपालमा मात्र हैन, विश्वभर खेलकुद गतिविधि ठप्प छन् । त्यसैले, यो अवस्था चाँडो अन्त्य होस् भन्ने कामना गर्ने हो,’ थ्री स्टार अध्यक्ष जोशीले भने, ‘अवस्था लम्बिएमा एन्फासँग बसेर कसरी अघि बढ्ने भनेर छलफल गर्नुपर्छ । 

फिटनेस कायम राख्न चुनौती

हरेक दिन मैदानमा व्यस्त रहने खेलाडीका लागि अहिले होम क्वारेन्टाइनमा आफूलाई फिट राख्न नै चुनौती छ । खेलाडीका लागि थप समस्या आउने नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन बताउँछन् । ‘अहिले जतिसक्दो फिट राख्न खेलाडीहरूले मिहिनेत गरिरहेका छन् । एक महिना लगभग भइसकेको छ । त्यसैले, अवस्था लम्बिए खेलाडीका लागि समेत मुस्किल हुन्छ,’ विराजले नयाँ पत्रिकासँग भने । 

विराजले चाँडो अवस्था सामान्य भए, मैदानमा फर्किएर पुनरागमन गर्न सहज हुने बताए । ‘अहिले विश्वभरनै फुटबल मात्र होइन सबै कुरा प्रभावित भएका छन् । त्यसैले, अवस्था सामान्य नआउँदासम्म आफूलाई फिट राख्ने प्रयास गर्नुपर्छ ।’ फुटबल विश्लेषक सञ्जीव मिश्र अहिले खेलाडीहरूले बढी मिहिनेत गर्ने समय आएको बताए । उनले भने, ‘मैदानमा हुँदा स्वाभाविक रूपमा खेलाडी फिटनेसप्रति सजग हुन्छन् । तर, घरमा नै लामो समय रहँदा आफ्नो फिटनेसलाई अघिपछि भन्दा बढी ध्यान दिनुपर्छ ।’ 

मिश्रले खेलाडीलाई टोलीमा रहिरहनका लागि आफैँ सचेत नभए भविष्यमा पर्न गाह्रो हुन सक्ने बताए । ‘अहिले खेलाडीले आफूलाई फिट नराखे भविष्यमा टिममा रहन गाह्रो पर्नेछ । त्यसैले, आफूलाई नियन्त्रण गर्नु खेलाडीका लागि यो अवस्थामा अत्यावश्यक छ,’  मिश्रले भने ।