मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ बैशाख ४ बिहीबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मी अस्पतालमा आधुनिक कोरोना परीक्षण कक्ष सञ्चालन

Read Time : < 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार १९:१२:००

गुल्मी अस्पताल तम्घासमा जिल्लाकै पहिलो आधुनिक कोरोना परीक्षण तथा ज्वरो क्लिनिक कक्ष सञ्चालनमा आएको छ । शुभलक्ष्मी फर्माको सहयोगमा तम्घास अस्पतालमा कोरोना परीक्षण कक्ष स्थापना गरिएको हो ।

बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोना परीक्षण कक्षको उद्घाटन गरे । उनले यो काम विपत् न्यूनीकरणको सामूहिक प्रयासको नमुनायोग्य उदाहरण भएको बताए । ‘धन भएर पनि सामाजिक सेवाको भावना कम मान्छेले देखाउँछन्,’ उनले भने ।

कोरोना परीक्षण कक्षले पिपिई नभएका कारण बिरामी आए स्वास्थ्यकर्मी भाग्ने अवस्थाको अन्त्य गरेको गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले बताए । साथै यो कक्षबाट ठूलो संख्यामा ऱ्यापिट टेस्ट गर्दा पिपिई आवश्यक नपर्ने र कम जनशक्तिमा धेरै काम गर्न सकिने पच्याले जानकारी दिए । उनले अब सबै स्थानीय तहमा कोरोना कक्ष अत्यन्तै आवश्यक रहेकाले गुल्मी अस्पतालका चिकित्सकको आत्मबल थपेको बताए ।

शुभलक्ष्मी फर्माका व्यवस्थापक होमबहादुर पल्लीले आफू पनि अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी भएकाले आवश्यकता महसुस गरेर कक्ष सञ्चालनमा सहयोग गरेको बताए । उनले करिब ८० हजारको लागतमा निर्माण गरिएको कोरोना परीक्षण कक्ष महत्वपूर्ण र बजेटका हिसाबले महँगाे नभएकाले अन्य स्वास्थ्य संस्थाहरूमा पनि सञ्चालन गर्न सकिने बताए । पल्लीले कोरोना परीक्षणसँगै ज्वरो आएकै कारण बिरामी, एम्बुलेन्सचालक र स्वास्थ्यकर्मीहरूमा रहेको मनोवैज्ञानिक त्रासको अन्त्य भएको बताए ।

यो कक्षबाट बिरामी र डाक्टरबीच दूरी कायम गर्नु नपर्ने, डाक्टरले बिरामीलाई छोएरै परीक्षण गर्न सक्ने, बिरामी र डाक्टरबीच फोनमा कुराकानी गर्न मिल्ने भएकाले समय–सान्दर्भिक भएको पल्लीले बताए ।