Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ बैशाख ४ बिहीबार १६:०३:००
Read Time : > 1 मिनेट
समाचार

कोरोनाभन्दा पनि पानीको पिराेलो, ओखलढुंगाका जनता भन्छन्– पिउने पानी छैन केले हात धुने ? 

Read Time : > 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार १६:०३:००

ओखलढुंगामा खानेपानी अभाव भएको क्षेत्रका स्थानीयलाई सरसफाइमा समस्या भएको छ । विश्वमा महामारीको रूप लिएर फैलिएको कोरोना भाइरसबाट बच्न पटक–पटक हात धुनुपर्ने भनिए पनि पानी अभावले सरसफाइमा समस्या भएको हो ।  जिल्लाका आठवटै स्थानीय तहका ७५ वटै वडाले कोरोनाबाट बच्न हात धुनुपर्ने सन्देश दिइरहेका छन् ।

गाउँमा हात धुनुपर्ने सन्देश पुगे पनि पानी नपुगेको सिद्धिचरण नगरपालिका– २ का राजकुमार कटवालले बताए । ‘हात धुनु भन्ने हल्ला पनि यति भयो कि मानौँ हात नधुने सबैलाई कोरोना लाग्छ जस्तो,’ उनले भने, ‘खानेपानीकै अभाव झेलिरहेका हामीले पटक–पटक होइन एकपटक पनि राम्रोसँग हात धुन सकिरहेका छैनौँ ।’ हात धुनुपर्छ भनेर जानेकाले पनि पानी अभावका कारण सरसफाइमा ध्यान दिन नसकेका छैनन् । 

ओखलढुंगा जिल्लाको चम्पादेवी, चिशंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकाका अधिकांश बस्ती र सिचिद्धरण नगरपालिकासहित सुनकोसी, मोलुङ र लिखु गाउँपालिकाका केही बस्तीमा खानेपानीको चरम अभाव छ । कोरोनाको संक्रमण फैलने भन्दै सरकारले लकडाउन घोषणा गरेर घरबाहिर ननिस्कन भनेको । तर ठूलाछापका स्थानीय महिला भने एक गाग्री पानीका लागि ४५ मिनेट पर गएर पँधेरामा घन्टाैं लाइन बस्न बाध्य छन् ।

‘घरबाहिर नजानु त भन्छन्, पानी लिन बिहान ५ बजेदेखि जानुपर्छ । फर्किँदा १० बज्छ,’ स्थानीय धनकुमारी बस्नेतले भनिन्, ‘बल्ल दुई ग्राग्री पानी जम्मा गरिन्छ, कति खाना बनाउनु, कति पिउनु, वस्तुभाउलाई के खुवाउनु ? हात धुने पानी त कहाँ पाउनु ?’ ठूलाछापमा खानेपानी थाप्न स्थानीयहरू दिनभरजसो लाइनमा बस्ने गरेका छन् । 

जिल्लाका धेरै ठाउँमा खानेपानीको मुहान छैन । भएका ठाउँमा मुहानदेखि चुहानसम्म पाइप र ट्यांकीको राम्रो व्यवस्थापन नगरिँदा धारामा पानी झर्दैन । चम्पादेवीको पलापु, सिद्धिचरण नगरपालिकाको तलुवा, ठूलाछाप, चिशंखुको भदौरे, सुनकोसीको सिस्नेरी, मानेभञ्ज्याङको थाक्ले, केत्तुकेसहितका गाउँमा सयभन्दा बढी घर भएको ठाउँमा एउटा–एउटा मात्रै धारो छ । त्यहाँका उपभोक्ताले प्रतिपरिवार तीन गाग्री पानी बाँडेर खाने गरेका छन् । 

नदीकिनारका स्थानीयले ट्याक्टरमा पानी बोकेर खाँचो टार्न थालेका छन् । सर्वसाधारण उपभोक्ता मात्रै होइन स्थानीय सरकारका प्रतिनिधिहरू नै अभावमा गुज्रिएका छन् । सिद्धिचरण नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला कटवाल पानी अभावले हात धुने सन्देशले सार्थकता नपाएको बताउँछिन् ।

‘हात धुनुपर्छ त भनेका छौँ, तर गाउँमा पानी खान नपाएर बिजोक छ । हात के धुन सक्थे उनीहरूले,’ उनले भनिन्, ‘हामी जनप्रतिनिधि पनि समस्यामै छौँ । केही विकल्प छैन ।’ नगरपालिकाभित्रै पनि काकाकुल अवस्थामा बाँच्नुपरेको भन्दै सुक्खाग्रस्त क्षेत्रका स्थानीयले खानेपानीको व्यवस्था गर्न माग गर्दै नगरपालिकामा निवेदन दिएका छन् । 

सुनकोसी गाउँपालिका– ४ सिस्नेरीका सर्वसाधारण दिनहुँ वडा कार्यालयमा पुगेर खानेपानीको माग गरिरहेका छन् । तर, तत्काल खानेपानी व्यवस्था गर्न सक्ने सम्भावना नरहेको वडाध्यक्ष कुमारबहादुर राई बताउँछन् । ‘हात धुनुस्, सरसफाइमा ध्यान दिनुस् त भनेका छौँ, तर पानीको साह्रै अभाव छ,’ उनले भने, ‘वडामा पानी माग्न आएकाआएकै छन् जनता, तर नजिकै मुहान नभएकाले तत्काल व्यवस्थापन गर्न सक्ने सम्भावना पनि पो छैन अहिले त ।’ पानी अभावका कारण सरसफाइ नहुँदा कोरोनाको जोखिम बढेको राईको भनाइ छ ।

खानेपानी अभावमा गाउँ छाडेका सर्वसाधारण सहरमा कोरोनाको त्रासले फेरि गाउँ फर्किएका छन् । विगतमा थोरै पानीले खाँचो टारे पनि अहिले सबैजसो मानिस गाउँ फर्किएपछि अभाव झन् बढेको छ ।लकडाउनको समयमा सहर पसेका छोराछोरी पनि गाउँ फर्किएपछि ग्रामीण महिलालाई पानीको जोहो गरेर परिवार चलाउन धौधौ परेको छ ।