१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ

वायुसेवा निगम कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

‘ऋणमा थिचिएको निगम सुधार्ने  आँट बोकेर आएको छु’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०९:०२:००

सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ  । मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्को व्यवस्था नहुँदासम्म घिमिरेलाई कार्यकारी अधिकृतसहित अध्यक्ष नियुक्त गरेको हो । 

गत माघमा कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यही पदमा पूर्वपर्यटन सचिव रहिसकेका र उपसचिवका रूपमा लामो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षणको जिम्मेवारी सम्हालेका घिमिरेलाई सरकारले नियुक्त गरेको हो ।   

घिमिरे उपसचिव हुँदा निगम लगभग जहाजविहीन अवस्थामा थियो । अन्तर्राष्ट्रिय उडानका दुई बोइङ ७५७ न्यारोबडी पुराना थिए । पछि घिमिरे ०६९ पुसदेखि ०७१ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । त्यसवेला निगमको सञ्चालक समितिका अध्यक्ष रहेका घिमिरेले एयरबस ३२० जहाज खरिद प्रक्रिया अगाडि बढाउँदै दुई एयरबस किनाएका थिए । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् ।

‘ऋणमा थिचिएको निगम सुधार्ने आँट बोकेर आएको छु’ 

निगम यतिवेला ४० अर्ब ऋणको भारमा छ । कोरोनाको महामारीबाट निगमको ४ अर्ब आम्दानी गुम्ने प्रक्षेपण छ । नगद प्रवाह अभावमा तलब खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको निगमलाई सुधार्ने आँट बोकेर घिमिरे अध्यक्षमा नियुक्त भएका छन् । ‘मेरो पहिलो काम व्यवस्थापन सुधारमा ध्यान दिने र भएका जहाजलाई गन्तव्य थप गरेर उडान गर्ने हो,’ नवनियुक्त घिमिरेले भने । सुधारको चरण पार गरेसँगै पारदर्शी हिसाबले जहाज खरिद प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘जहाज निर्माता कम्पनीसँग सीधै जहाज खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने, ‘अहिले नियमित धेरै उडान गरेर ऋण तिर्ने बाटोमा व्यवस्थापन जानेछ ।’   

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रायलको जिम्मेवारी सम्हाल्नासाथ घिमिरेलाई ‘नेपाल वायुसेवा निगम सुधार सुझाब कार्यदल’को संयोजक बनाएका थिए । भट्टराईले निगमको समग्र सुधारका लागि आवश्यक सुझाब दिन घिमिरेको संयोजकत्वमा २२ साउन ०७६ मा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले असोजमा भट्टराईलाई प्रतिवेदन बुझाएको थियो । 

कार्यदलले निगमको सुधारका लागि तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सूची बनाएर सुझाब प्रस्तुत गरेको थियो । तत्कालीन भन्नाले तुरुन्त सुरु गरेर एक वर्षभित्र सक्नुपर्ने र दीर्घकालीन भन्नाले ३ महिनाभित्र सुरु गरेर एक वर्ष वा सोभन्दा बढी समय लाग्ने गरी वर्गीकरण गरेर सुझाब दिएको थियो । 

तिनै सुझाबलाई कार्यान्वयन गर्ने जिम्मेवारीमा घिमिरे पुगेका छन् । ‘गौरवमय इतिहास बोकेको निगमलाई अब्बल बनाएर लैजानुको विकल्प छैन,’ उनले भने, ‘निकै उत्तारचढावबीच आएको निगमको वर्तमान चुनौतीपूर्ण छ । कडा मिहिनेतका साथ यसको उज्यालो भविष्यका लागि लाग्नेछु ।’