१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०६:२९:००
Read Time : > 2 मिनेट
खेलकुद

साग विजेताले पाउन थाले पुरस्कार रकम

प्रधानमन्त्रीले घोषणा गरेको पाँच महिनापछि सागमा ऐतिहासिक प्रदर्शन गर्ने पदक विजेताको खातामा पुरस्कार रकम जम्मा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ४ बिहीबार ०६:२९:००

सरकारले घोषणा गरेको पाँच महिनापछि १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई पदक दिलाउने खेलाडीले पुरस्कार रकम पाउन थालेका छन् । बुधबार केही खेलाडीको खातामा रकम पुगेको छ । तेक्वान्दोमा नेपाललाई स्वर्ण दिलाएका खेलाडी सञ्जीवकुमार ओझाले बुधबार आफूले पुरस्कार रकम प्राप्त गरेको जानकारी दिएका छन् । ‘मेरो खातामा सरकारले पुरस्कारबापत दिने भनेको रकम प्राप्त भएको छ,’ ओझाले नयाँ पत्रिकासँग भने ।

१३औँ सागमा उनले युगल पुम्सेमा आएसा शाक्यसँग मिलेर स्वर्ण पदक जितेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको झन्डै पाँच महिनापछि खेलाडीलाई पुरस्कार रकम दिन थालेको हो । प्रधानमन्त्री आफैँले घोषणा गरेको रकम दिन सरकारले ढिलाइ गरेपछि नयाँ पत्रिकाले गत ५ चैतमा ‘सागमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीले प्रधानमन्त्रीद्वारा घोषित पुरस्कार नै पाएनन्’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

त्यससँगै राखेप र खेलकुद मन्त्रालयले खेलाडीलाई घोषित पुरस्कार रकम दिने प्रक्रिया सुरु गरेको हो । गत १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न भएको १३औँ सागमा नेपाललाई ४३५ खेलाडीले टिम र व्यक्तिगत गरी २०७ पदक दिलाएका थिए । जसमध्ये ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक रहेका छन् ।  प्रतियोगिता सकिएको भोलिपल्ट (२५ मंसिर) मै प्रधानमन्त्री ओलीले विजेता खेलाडीहरूलाई बालुवाटारस्थित आफ्नो निवास बोलाएर पुरस्कारको घोषणा गरेका थिए । 

जसमध्ये उनले स्वर्ण विजेता खेलाडीका लागि जनही नौ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कांस्य विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका थिए । यस्तै, एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाखको दरले पुरस्कार रकम दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका थिए । 

त्यसको लामो समयपछि राखेप र खेलकुद मन्त्रालयले खेलाडीहरूको खातामा पुरस्कार रकम पठाउन सुरु गरेको थियो । पहिलो चरणमा गत आइतबार राखेप र मन्त्रालयले १० करोडबराबरको पुरस्कार रकम खेलाडीको खातामा पठाउन कोष तथा लेखा नियन्त्रकको कार्यालय पु-याएको थियो । 

त्यसमध्येबाट तेक्वान्दो खेलाडी ओझाको खातामा पुरस्कार रकम गएको हो । बाँकी खेलाडीको खातामा पनि केही दिनमै पुरस्कार रकम जानेछ । त्यसपछि दोस्रो चरणमा बुधबार एक करोड ५३ लाखको चेक कोष तथा लेखा नियन्त्रणको कार्यालयलाई पुगेको छ । ‘हामीले केही रकम बुधबार पनि कोष तथा नियन्त्रण कार्यालयमा पु-याएका छौँ,’ राखेपका राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्र राईले भने, ‘बाँकी रकम पनि केही दिनभित्रै जानेछ ।’ 

यसअघि खेलाडी, प्रशिक्षक, संघ तथा संस्थाले पूरा पेस्की फर्स्योट गरेपछि मात्र घोषित पुरस्कार पाउने जनाइएको थियो । गत २० फागुनमा मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले घोषित रकम खेलकुद मन्त्रालयलाई निकासा गरिसकेको थियो । 

तर, ०७२ को संशोधित कार्यविधिअनुसार प्रोत्साहनस्वरूप प्रदान गरिने रकम पाउन परिषद्मा पेस्की फस्र्योट गर्नुपर्ने खेलकुद मन्त्रालयले जनाएको थियो । सरकारले सागमा टिम इभेन्टतर्फ स्वर्णका लागि ६ लाख, रजत विजेतालाई चार लाख र कांस्यका लागि २ लाख रुपैयाँ प्रदान गरिनेछ । यसैगरी, स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई पाँच लाख, रजतलाई तीन लाख र कांस्य पदक दिलाउनेलाई दुई लाख दिइनेछ । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेतालाई तीन लाख, रजतलाई दुई लाख र कांस्यलाई एक लाख दिने उल्लेख छ । 

पेस्की फर्स्योटपछि रकम

युवा तथा खेलकुद मन्त्रालयले १३औँ सागमा नेपाललाई ऐतिहासिक रूपमा पदक दिलाउने खेलाडीलाई नगद पुरस्कार एवं सम्मान गर्ने कार्यक्रम कोरोना भाइरसका कारण हुन नसकेको जनाएको छ । कार्यक्रम गर्न नसकिने भएकाले ४३५ पदक विजेता खेलाडीलाई खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुरूप खेलाडीहरूको बैंक खातामा पठाइएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव मानबहादुर विकेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले रकम जम्मा भए वा नभएको सम्बन्धमा जानकारी लिन परिषद् र मन्त्रालयकै अधिकारीसँग समन्वय गर्न भनिएको छ । खेलाडीको सम्मानपत्र कोभिड–१९ संक्रमणबाट अवस्था सामान्य भएपछि प्राप्त हुने विज्ञप्तिमा भनिएको छ । 

यसैगरी, खेलाडीहरूको पुरस्कारका लागि माग गरिएको सबै रकम प्राप्त भएको खेलकुद मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. मानबहादुर विकेले जानकारी दिए । उनका अनुसार १३औँ सागका पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिनका लागि मात्रै राष्ट्रिय खेलकुद परिषद्मार्फत १९ करोड ५३ लाख प्राप्त भएको छ । प्रशिक्षक, खेल, संस्थाले पुरस्कार राशी परिषद्मा पेस्की फस्र्योट पूरा भएपछि मात्र उपलब्ध हुने जनाएको छ ।