मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख ४ बिहीबार ०६:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लहानमा राहतको आलु पनि कुहिएको,  गन्हाएको चामल पालिकालाई फिर्ता

Read Time : > 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार ०६:१०:००

नयाँ पत्रिका फलोअप

लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् । 

तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् ।

वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा कार्यालयमै फिर्ता गरेको बताए । ‘नपकाउँदै गन्हाएको थियो, पकाएपछि पनि खान सकिएन,’ वडा कार्यालयमै भेटिएकी लीलादेवीले भनिन्, ‘यस्तो कुहिएको चामल किन घरमा राख्ने भनेर यहीँ फिर्ता ल्याएकी हुँ ।’

वडाध्यक्ष गणेशकुमार चौधरीले राहत पाएका दलितहरूले चामलको विषयमा तीन दिनदेखि गुनासो गरिरहेको बताए । ‘वडा क्षेत्रमा तत्काल पहिचान गरिएका चार सय ६० घर दलित, गरिबमध्ये बुधबारसम्म तीन सय २३ घरधुरीलाई राहत बाँडेका छौँ,’ चौधरीले भने, ‘राहत बुझ्ने अधिकांशले चामल गन्हाएको भन्दै गुणस्तरमा प्रश्न उठाएका छन् ।’ बुधबार दिउँसो ब्राह्मण, रामटोल, हरिनगरा, मलहन्माका दलितहरू गुनासोसहित वडा कार्यालयमा पुगेका थिए । यति हुँदाहुँदै पनि वडाले छुटेका विपन्नहरूलाई समेत यस्तै राहत बाँड्ने तयारी गरेको छ ।

नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)बाट ६६ लाख ७४ हजार दुई सय ५० रुपैयाँमा एक हजार ६ सय क्विन्टल चामल किनेर राहत बाँडेको थियो । लकडाउनका कारण हातमुख जोड्न नपाएका विपन्न र दलित परिवारलाई २०–२० किलोका पोका बनाएर चामल दिइएको थियो । तर, कुहिएर गन्हाएको चामल खानै नमिल्ने थियो । बाध्य भएर छाक टार्न भात पकाएर खाएकाहरू पाखाला लागेर बिरामी भएका थिए । यससम्बन्धी नयाँ पत्रिकाले बुधबारको अंकमा ‘विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

राहतका आलु कुहिएर वडा कार्यालय दुर्गन्धित
वडा कार्यालयमा अझै बाँड्न बाँकी ३९ पोका राहत सामग्री छन् । राहत प्याकेजमा २० किलो चामलसँगै एक किलो दाल, एक किलो नुन, चार किलो आलु, एक लिटर खानेतेल, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय नगद थियो । तर, पोकाभित्रै आलु कुहिएर पानी बग्न थालेको छ । जसले वडा कार्यालय नै दुर्गन्धित बनाएको मोतीपुरकी मञ्जु पासवानले बताइन् ।

गुणस्तरहीन चामल फिर्ता : खाद्य
नगरपालिकालाई चामल बिक्री गर्ने लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गुणस्तरहीन चामल तत्काल फिर्ता गर्ने बताएको छ । यद्यपि, धान नै खरिद गरेर तयार पारिएको चामलको गुणस्तर तोकिएको मापदण्डअनुसार नै रहेको कम्पनीको दाबी छ । 

नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीको लहानस्थित अञ्चल कार्यालय प्रमुख गंगाप्रसाद साहले बुधबार नगरपालिकालाई पत्र पठाएका छन् । ‘गोदामको चामल केही लामो समयसम्म भण्डारण हुने हुँदा चामलको प्रकृति नयाँ चामलको भन्दा अवश्य नै फरक हुने सर्वविदितै छ । तथापि, ठूलो संख्यामा बाँडिएको चामलमध्ये केही बोरामा गुणस्तरमा फरक देखिए तत्कालै फिर्ता गरी सट्टामा अर्को चामल दिने व्यहोरासमेत जानकारी गराउन चाहन्छौँ,’ पत्रमा भनिएको छ ।