मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख ३ बुधबार १२:३३:००
Read Time : > 1 मिनेट
समाचार

सामाजिक काममा युवाहरू : ५२ थान पिपिई र दुई हजार सात सय थान मास्क हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७७ बैशाख ३ बुधबार १२:३३:००

काभ्रे बनेपाका युवा व्यवसायीले विश्वभरि नै प्रभाव पारेको कोरोना भाइरस (कोभिड– १९)का कारण देश अहिले लकडाउनमा रहेको वेला काभ्रेका विभिन्न स्थानमा ५२ थान पिपिई र दुई हजार सात सय थान मास्क हस्तान्तरण गरेका छन् । जनताका लागि रातदिन खट्ने प्रहरी र स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि भन्दै जिल्ला  प्रशासन कार्यालय, प्रहरी कार्यालय र स्थानीय सरकारमार्फत स्वास्थ्यकर्मी र प्रहरीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो ।

काभ्रेको  दिमार्क फेब्रिक्सका सञ्चालक प्रदीपकुमार प्रजापति, मेरो टेलर्सका सञ्चालक सञ्जीवविक्रम थापा र नेसनल वयर एन्ड युनिफर्म प्रालिका सञ्चालक सुजन सुन्दासले संयुक्त रूपमा सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरूले राष्ट्रिय समाजवादी पार्टी (राजपा)का केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयोजक सबरकुमार प्रजापतिको पहलमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय काभ्रेलाई २७ थान पिपिई र एक हजार माक्स, रोशी गाउँपालिकालाई १० थान पिपिई र एक हजार मास्क, इलाका प्रहरी कार्यालय बनेपालाई पाँच थान पिपिई र पाँच सय थान मास्क, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई पाँच थान पिपिई र एक सय थान मास्क, भैरव पोलिक्लिनिक पनौतीलाई तीन थान पिपिई र एक सय थान मास्क र सिन्धुपाल्चोकको एक स्वास्थ्यचौकीलाई दुई थान पिपिई हस्तान्तरण गरेको दिमार्क फेब्रिक्सका सञ्चालक प्रदीपकुमार प्रजापतिले जानकारी दिए ।

जनताको सुरक्षाका लागि प्रहरी र स्वास्थ्यकर्मी अग्रस्थानमा खटिएकाले उनीहरू पनि सुरक्षित होउन् भन्ने हिसाबले पिपिई र माक्स हस्तान्तरण गरेको प्रजापतिले बताएका छन् । ‘हाम्रा लागि दिनरात खटिने प्रहरी र स्वास्थ्यकर्मी नै सुरक्षित भएन भने हामी सुरक्षित नहुने देखिएपछि साथीहरूसँग सल्लाह गरेर पिपिई र मास्क हस्तान्तरण गरेका हाैँ,’ प्रजापतिले भने, ‘आवश्यकता परेको वेलामा सहयोग नगरे कहिले गर्ने ?’

पिपिई र मास्क लिने क्रममा रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर मोक्तान (डिबी लामा)ले पैसा तिरेर पिपिई र मास्क  किनेर आफ्नो गाउँपालिमामा रहेको स्वास्थ्य संस्थाहरूमा  वितरण गर्छौं भन्दा पनि नपाउने अवस्थामा यसरी युवाहरूबाट सहयोग प्राप्त गर्नु आफ्नो सौभाग्य रहेको बताए । लामाले सहयोगी युवाहरूलाई धन्यवाद व्यक्त गरेका थिए । ‘हामीले किनेर स्वास्थ्यकर्मीहरूलाई पिपिई र मास्क वितरण गर्छौं भने पनि नपाउने अवस्थामा युवाहरूले हामीलाई प्रदान गर्नुभयो धन्यवाद भन्न चाहन्छु,’ गाउँपालिका अध्यक्ष लामाले बताए । सरकारले गर्नुपर्ने काम युवाहरूले गरेकोमा आफूलाई खुसी लागेको लामाले बताए ।

गाउँपालिकाभित्र १२ वटा स्वास्थ्यचौकी रहेकाले सबै स्वास्थ्यचौकीमा छिटै उक्त पिपिई र मास्क पुर्‍याउने लामाले बताए । उनीहरूले केही दिनपछि पनौती नगरपालिकालाई पाँच थान पिपिई र पाँच सय थान मास्क, तेमाल गाउँपालिकालाई चार थान पिपिई र दुई सय थान मास्क हस्तान्तरण गर्ने र अन्य स्थानीय तहलाई पनि आवश्यकताअनुसार पिपिई र मास्क  हस्तान्तरण गर्ने प्रजापतिले बताए ।