सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
केदार दाहाल काठमाडौं
२०७७ बैशाख ३ बुधबार ०८:३८:००
अर्थ

कोरोनाका कारण चार अर्ब आम्दानी गुमाउँदै वायुसेवा निगम, तलब खुवाउन नगद अभाव

केदार दाहाल, काठमाडौं
२०७७ बैशाख ३ बुधबार ०८:३८:००

सामान्य अवस्थामै व्यवस्थापकीय अव्यवस्था र अनियमिताका कारण संकटमा रहेको नेपाल वायुसेवा निगमको कोरोनाका कारण धराशायी बन्ने बाटोतर्फ लागेको छ । कोरोनाका कारण विश्व्यापी रूपमा अधिकांशतः हवाइ सेवा बन्द हुँदा निगमले ४ अर्ब रुपैयाँ क्षति बेहोर्ने भएको छ । व्यवस्थापकीय कमजोरी र अनियमितताका कारण निगमले १ वर्षको करिब ३ अर्ब सावाँब्याज तिर्न सकेको थिएन । 

हवाइसेवामा संकटका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम भने नेतृत्वविहीन छ । निगमले वाइडबडीका लागि २४ अर्ब र न्यारोबडीका लागि १० अर्बसहित ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । चिनियाँ जहाजको ३ अर्ब रुपैयाँ ऋणसहित ३७ अर्ब ऋण रहेको छ । वाइडबडी र न्यारोबडी जहाजकै ब्याज र किस्ता तिर्न नसकेपछि सरकार गुहार्दै निगमले गत माघमै डेढ अर्ब रुपैयाँ ब्याजलाई साँवामा गाभ्न अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । 

सामान्य अवस्थामै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम चरम घाटामा थियो, डेढ वर्षको साँवाब्याजसमेत बुझाउन सकेको थिएन, कोरोनाका कारण व्यवसाय गुम्दा निगमले ४ अर्ब आम्दानी गुमाउने भएको छ, तीन महिनादेखि नेतृत्वविहीन निगमले १५ सय कर्मचारीलाई तलब खुवाउन नगद अभाव हुँदै छ।

निगमले उडानको मात्रै होइन, मुख्य आम्दानीका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  ग्राउन्ड ह्यान्डलिङ सेवाबापतको रकमसमेत गुमाइरहेको छ । ग्राउन्ड ह्यान्डलिङबाट मात्रै वार्षिक ५ अर्ब आम्दानी गर्दै आएको निगमले यो रकम कहिलेसम्म गुमाउने हो अहिले भन्न सक्ने अवस्था छैन । निगमसँग १ हजार २ सय स्थायी कर्मचारी छन् । ग्राउन्ड ह्यान्डलिङतर्फ ३ सयभन्दा बढी करारका कर्मचारी छन् । 

निगमले वार्षिक ब्याज नै ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ । त्यस्तै, प्रत्येक ३ महिनामा १ अर्ब १३ करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ । गत पुसमा तिर्नुपर्ने किस्ता पनि १२ करोड घटाएर १ अर्ब १ करोड मात्रै बुझाइएको थियो । चैतमा तिर्नुपर्ने किस्ता र ब्याज भने असारसम्म सारिएकाले निगमलाई केही सहज भएको छ । तर, केही महिना बन्द भए तलब खान समस्या आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारी बताउँछन् ।

निगमले केही दिनअघि मात्रै अहिलेकै अवस्थाबाट हेर्दा ४ अर्ब घाटा लाग्ने देखिएको भन्दै सरकारलाई नगद प्रवाहमा सहयोग गर्न आग्रहसहितको पत्र लेखेको छ । ‘हामीले अर्थ मन्त्रालयमा पठाएको र तत्काल खर्च कटौतीका विषयमा समेत छलफल भइरहेको छ,’ सचिव अधिकारीले भने । निगमसँग अहिले पनि वाइडबडी जहाजमा ७ जना विदेशी पाइलट छन् । निगमको वार्षिक आम्दानी १६ अर्ब रुपैयाँ हो । यस वर्षको अहिलेको अवस्थामा ४ महिना असर गर्ने भन्दै ४ अर्ब रुपैयाँ आम्दानी गुम्ने देखिएको निगमको भनाइ छ । 

निगमको मासिक तलबमा मात्रै खर्च ८ करोड रुपैयाँ हुन्छ । विदेशी पाइलटमा मात्रै मासिक डेढ करोड रुपैयाँँ खर्च हुन्छ । न्यारोबडीतर्फको पाइलटको कटौती गरिएको र वाइडबडीको पनि १५ दिनको तलब दिने विषयमा छलफल भइरहेको अधिकारीले जानकारी दिए । 

कोरोनाका कारण विश्वभरका विमान कम्पनी संकटमा छन् । विश्वको शक्तिशाली मुलुक अमेरिकाका एयरलाइन्सहरूले लाखाैँ कामदारलाई तलब दिन नसक्ने घोषणा शुक्रबार मात्रै गरेका छन् । सयाैँ पाइलटहरूले विनातलब घरबिदामा बस्ने घोषणा गरेका छन् । यो अवस्था युरोपसहित एसियाली मुलुकहरूमा पनि आइसकेको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने एयरलाइन्सहरू समस्यामा पर्ने बताइसकेका छन् ।

निगमको ऋण तिर्न समस्या 

निगमले कर्जाको किस्ता तिर्न नसकेपछि दुई महिनाअघि मात्र करिब डेढ अर्ब रुपैयाँ ब्याजलाई पनि साँवामा जोड्न भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई वाइडबडी जहाजको मात्रै ४ किस्ता तिर्न सकेको छैन । त्यस्तै, सञ्चय कोषलाई न्यारोबडी जहाजको २ किस्ता तिरेको छैन । नागरिक लगानी कोष र सञ्चय कोषलाई निगमले साँवा र ब्याजबापत करिब ४ अर्बको किस्ता रकम बुझाउन सकेको थिएन । यसमा थप एक किस्तासमेत जोड्दा निगमले किस्ता र ब्याज नै तिर्नुपर्ने रकम ५ अर्बभन्दा बढी  हुन्छ । 

दुवै संस्थाबाट निगमले जहाज खरिद गर्न ३४ अर्ब रुपैयाँ कर्जा लिएको छ । निगमले सञ्चय कोषलाई वाइडबडीको १२ अर्ब र न्यारोबडीको १० अर्बसहित २२ अर्ब रुपैयाँको ब्याज र किस्ता तिर्नुपर्छ । त्यस्तै, नागरिक लगानी कोषलाई वाइडबडी खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज र किस्ता तिर्नुपर्छ ।   

डेढ वर्ष अघिदेखि वाइडबडीको ५ किस्ता तिर्न सकेको छैन । वाइडबडीको मात्रै ४ अर्ब १६ करोड किस्ता बाँकी छ । त्यस्तै, न्यारोबडीको ७० करोड रुपैयाँ किस्ता बाँकी छ । निगमलाई दुवै संस्थाले वार्षिक १० प्रतिशत ब्याजका दरले १५ वर्षको ऋण दिएका थिए । तर, व्यवस्थापनका कमजोरीका कारण समयमै ठूला जहाज उडाउन नसक्दा निगमले ऋणको किस्ता तिर्न सकेको थिएन । 

तलब खुवाउनै समस्या 

अन्तर्राष्ट्रिय उडान अबको केही महिना बन्द भएमा निगमका कर्मचारीलाई तलब खानै समस्या हुने देखिएको छ । निगमको अब खातामा ३५ करोड रुपैयाँ मात्र बाँकी रहेको स्रोतले जनाएको छ । आम्दानी हुन छाडेपछि १ हजार ५ सय कर्मचारीलाई तलब खुवाउन समस्या पर्ने देखिएको छ । कोरोना संक्रमणका कारण पर्यटक आगमन ठप्प छ । अब आउँदा दिनमा पनि पर्यटक बढिहाल्ने सम्भावना न्यून छ । विभिन्न देशले विदेशी कामदार कटौतीको घोषणा गरिसकेका छन् । यसको प्रत्यक्ष असर पनि निगमलाई पर्नेछ ।

नेपालबाट दर्जनौँ उडान हुँदा निगमको दुई मात्रै

नेपालबाट लकडाउनयता मात्रै ३ हजार ६ सय विदेशी पर्यटक चार्टर्ड विमानमार्फत फिर्ता भएका छन् । सबैभन्दा धेरै कतार एयरवेजले चार्टर्ड पाएको थियो । तर, निगम नेतृत्व कमिसनको चक्करमा पर्दा केही अवसरसमेत गुमायो । पहिलो उडान अस्ट्रेलिया पाएको निगमले दोस्रो जापान मात्रै पाएको छ । बेलायत, फ्रान्स र क्यानडाले पनि निगमकै जहाज चार्टर्ड गर्न खोजेका थिए । तर, निगम नेतृत्वले चासो नदिँदा उडान गर्न पाएनन् । पाएको अस्ट्रेलिया उडानमा समेत एजेन्ट घुसाउँदा लाखाँै रुपैयाँ गुमाएको थियो । 

बिक्री भइसकेको बोइङ पनि अब कवाडीमा बेच्नुपर्ने   

निगमको ३२ वर्ष पुरानो बोइङ बिक्री प्रक्रियामा पनि कोरोनाको प्रत्यक्ष असर देखिएको छ । कोरोनाकै कारण निगमले बिक्री गरेको जहाजमा दुईपक्षीय सम्झौता हुन नसक्दा कवाडीमा बिक्री गर्नुपर्ने अवस्था आएको हो । निगमको पुरानो बोइङ ६७ करोड रुपैयाँमा बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । 

निगमले जनवरीमै पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीले बैनाबापत ५ करोड रुपैयाँ निगमलाई दिइसकेको छ । निगमको बोइङ फेब्रुअरीभित्रै उडान गरेर लैजानुपर्ने थियो । फेब्रुअरीभित्र उडान गर्न नसके नागरिक उड्डयन प्राधिकरणले दिएको उडानयोग्य प्रमाणपत्रको अवधि सकिनेछ । त्यसपछि उक्त जहाज कवाडीमा बिक्री गर्नुपर्ने हुन्छ । उक्त जहाज सन् २०१८ को अक्टोबरदेखि ग्राउन्डेड छ ।

 जहाज फेब्रुअरी महिनाभित्रै उडान गर्नुपर्ने बाध्यता भए पनि कोरोनाका कारण समस्या आएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य प्रमाणपत्रको समय थप गर्नुपर्ने निगमले जनाएको छ । प्राधिकरणले उडानयोग्य प्रमाणपत्र थप नगरेको अवस्थामा जहाज बिक्री हुन सक्दैन । प्राधिकरणले भने अहिले यस विषयमा कुनै निर्णय गर्न सकिने जनाएको छैन ।