मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
सन्जिना ढुंगाना
२०७७ बैशाख ३ बुधबार ०८:१३:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

मथिंगल हल्लिएको छ ! 

Read Time : > 7 मिनेट
सन्जिना ढुंगाना
२०७७ बैशाख ३ बुधबार ०८:१३:००

विश्वव्यापी त्रासदीबाट संसार नै डराउँदा, म पनि डराएकी छु, तर डराएर म कमजोर होइन, बरु बढी सजग र अनुशासित भएकी छु 

अध्याय १

केस १
‘निद्रा लाग्दैन, मुस्किलले तीन घन्टाजति सुत्छु, केही उपाय होला ?’
‘फिजिकल एक्सरसाइज कति गर्नुहुन्छ ?’ 
‘गर्छु, घर सरसफाइ, छोरी सानी छ, उसको पछिपछि तलमाथि, त्यसमाथि पनि फेरि दिनको १० हजार पाइला त हिँडेकै छु, जिमचाहिँ जान मिलेन, भर्खर सुरु गरेको थिएँ । तर, निद्रा अलि परेको छैन ।’
‘मनमा कुनै चिन्ता छ कि ? समाचार धेरै हेर्दै हुनुहुन्छ कि ?’
‘अब यस्तो समयमा अलिअलि चिन्ता त हुने नै भयो नि, समाचार पनि हेरेन भने त दिन काट्न पनि गाह्रो नै हुन्छ । त्यसमाथि कसले के कसले के म्यासेज पठाइरहन्छन् ...’

केस २
‘...अत्यास लागेको छ । छटपट हुन्छ । के खाऊँ, के गरूँ हुन्छ ? एन्जाइटीमा यस्तो हुन्छ रे, गुगल गरेको थिएँ... ।’
‘घरमा को–को हुनुहुन्छ ?’
‘छोरीको स्कुल बिदा भएपछि श्रीमती र छोरीलाई घर पठाएँ । अफिसको काम घरबाटै गर्छु । अहिले त एक्लै छु ।’ 
‘डर पनि लागेको छ ?’
‘डर त खास छैन, अत्यास छ । बोल्ने मान्छे पनि छैन । मान्छे छेउमै नदेखेको पनि दुई साता भइसक्यो, साँझ परेपछि यसो बार्दलीमा निस्किन्छु, त्यति नै हो । एक्लै भएर होला, खाना पनि त्यति बनाउन मन लाग्दैन, तर के खाऊँ के गरूँ भइरहन्छ । बरु छोरी र श्रीमतीलाई घर नपठाएको भए हुने रहेछ । पहिला पनि एक्लै बसेकै हो, तर यस्तो गाह्रो त कहिल्यै भएको थिएन ।’ 

केस ३
‘चार वर्ष भो क्यान्सरलाई जितेको, अब त अलि ढुक्क भो भनेको यो कोरोनाले अत्यायो । डर लाग्छ, मलाई इन्फेक्सन हुने हो कि भनेर । जसको इम्युनिटी विक छ, उसलाई बढी छुन्छ रे ! कति ऋण गरेर बाँचेको म । ऋण अझै बाँकी छ, अब रोग लाग्यो भने मेरा बच्चाको बिजोग हुन्छ ।’ 

यस्तै–यस्तै खालका विभिन्न कुरा सुन्छु, आजभोलि । सुन्दा, पढ्दा सामान्य लाग्ने यी संवाद हामी सबैका लागि नौलो होइन, सुनिरहेकै हौँ । तर, यी सामान्य लाग्ने कुरासँगै एउटा मानिसको तनाव, उसको जीवन, स्वास्थ्य र मानसिक अवस्था भने फरक परिस्थितिको हुन सक्छ र यो सामान्य लाग्ने कुरा हरेक व्यक्ति–विशेषसँग असामान्य किसिमले कसरी जोडिएको छ भन्नेचाहिँ यत्तिकै थाहा हुँदैन । कसैलाई सामान्य लागेको विषय अर्कोलाई असाध्यै असजिलो हुन्छ भने कसैको अवस्था ठ्याक्कै उल्टो पनि हुन सक्छ । कसैलाई, आफ्नो विदेशमा भएको परिवारको चिन्ता छ, कसैलाई ऋणको, कसैलाई व्यवसायको, छोराछोरीलाई बाउआमाको, बाउआमालाई छोराछोरीको, कसैलाई सम्पत्तिको, कसैलाई स्वास्थ्यको, कसैलाई रोगको, कसैलाई भोकको, कसैलाई मृत्‍युको, कसैलाई अस्थिरताको । 

पहिलोपटक संसार नै एकैचोटि एउटै शत्रुविरुद्ध होमिएको मानव इतिहासको सम्भवतः यो नै पहिलो र अनौठो युद्ध हो, जहाँ राजा, प्रजा, नेता, जनता, प्रौढ, बच्चा सबै उत्तिकै क्षमताले होमिएका छन्

यो सबै मैले नसुने पनि केही हुँदैन, तर आफूले जानेको कामले कसैलाई केही सहयोग हुन्छ भने किन नगर्ने भन्ने प्रश्न उठेपछि यो काम थालियो । सकेसम्म सम्पर्क गर्ने सबैलाई एउटा सेसन नछुटोस् भन्ने लागेको हो, तर सकिएको छैन । सेसन धेरै लिन आफ्नो मेन्टल स्ट्रेन्थ पनि विचार गर्नुपर्‍यो । आफ्नो कुरा राखेपछि उहाँहरू केही रिलिफ भो, अब निदाउँछु कि पनि भन्नुहुन्छ । कसैले अर्को दिनदेखि अलिक सहज भएको ‘टेक्स्ट’ गर्नुहुन्छ, फेरि कुरा गर्ने इच्छा राख्नुहुन्छ । असामान्य परिस्थितिमा सहज भयो भन्ने सुन्दा पनि के–के न गरेँ जस्तो लाग्ने रैछ, पहिला त यस्तो हुँदैनथ्यो तर अहिले सामान्य कुराकानीमै आफैँ छक्क परिने अवस्था भोगिँदै छ ।

कोरोनाको फैलावटसँगै अहिले हामी एउटा त्रासमा बाँचिरहेका छौँ । कोरोना त्रासदीबाट हुन सक्ने मानसिक असहजतामा सहयोग दिन गत सातादेखि म र मेरा साथीहरूले ‘फ्री सेसन’ दिइरहेका छौँ । हाम्रो समूहमा कुरा हुँदा सबैतिर अन्योल नै भेटेका छौँ, ठ्याक्कै भोलि के हुन्छ कसैलाई थाहा छैन । नियन्त्रण हराएको यो समयमा हाम्रो आफ्नै मस्तिष्क पनि नियन्त्रणमा छैन । हरेक कुराको उत्तर चाहिने हामीसँग आज केहीको पनि उत्तर छैन । निरीह भएका छौँ, र त्यो निरीहता, रिस, आवेग, पीडा, आँसु, डर, त्रास, भयको रूपमा हामीले देखाइरहेका छौँ, फेसबुक र ट्विटरका स्टेटमेन्टहरू र त्यसका रेस्पोन्सहरू मात्र पढे पनि धेरै बुझिन्छ । यो असामान्य परिस्थितिबाट हामी सबै गुज्रिरहेका छौँ र यो जति नै सामान्य हो भने पनि असामान्य दैनिकीले यसलाई सामान्य हुन दिइरहेको छैन । त्यसैले जति पनि असामान्य संवेग अहिले हामी महसुस गरिरहेका छौँ, त्यो जति सामान्य केही छैन, हुँदैन पनि । 

अध्याय २
दुई साताको बन्दाबन्दीभन्दा अझै अगाडिको एक सातादेखि रुघाखोकीको समस्याले घर बसेको म यो लेखिरहँदा २४ दिनदेखि घरमै छु । दुई दिनअगाडि आफन्त बितेको अवस्थामा दुई घन्टालाई भेट्न निस्केकोबाहेक घरबाट आफैँ ननिस्केको यो आजसम्मकै सबैभन्दा लामो समय हो । काम नहुँदा पनि घरमै बस्न रुचाउने र हाल अनलाइन काम गरिरहेको अवस्थामा बन्दाबन्दीले खासै असर नगरेको अनुभव हुँदा आफू अलि बलियो नै हो कि भन्ने भान पर्नु स्वाभाविक थियो । इन्टरनेटको उपलब्धता, साथीहरूसँगको गफगाफ, जुम, वाट्सएप या भाइबरमा कुराकानी हुँदा आफूलाई एक्लो पनि पाएको थिइनँ । तर, म समयभन्दा कहाँ बलवान् हुन सक्थेँ र, यसको अनुभव छिट्टै भएरै छाड्यो । 

राति १ बजे बिउँझिएको आँखा आज छ्यांगै रहे । बिउँझिहाले पनि फेरि झ्याप्पै निदाउँन सक्ने मेरो अघिल्तिर तर्कनाको अजंगको रूख पो ठडियो । त्यति मात्र कहाँ हो र, मनरूपी चरा त कहिले यो हाँगा कहिले त्यो हाँगा उड्न थालेपछि निद्रा त कुलेलम ठोक्ने नै भयो । त्यसपछि सुरु भएको एकपछि अर्को तर्कनाको रोलर कोस्टरले यसरी अत्यायो कि, कुरै नगरौँ । न हनुमान चालिसा, न दुर्गा कवच, केहीले पनि मेरो डर थाम्ने हैसियत राखेनन् । 

अमेरिकी डाक्टरहरूले इच्छापत्र (विल) बनाउन थाले भन्ने समाचार सम्झिएलगत्तै आफूलाई केही भएको अवस्थामा छोरीलाई अ‍ह्राउने काम र विषयको लिस्ट पो बनाउनुपर्ने हो कि भन्ने तर्कनासँग सुरु भएको मेरो मनचरीको उडानमा, दिउँसो कुरा गरेको क्लाइन्टको अवस्था सम्झिनासाथ हामी दुवैलाई केही भइहाल्यो भने छोरीको के होला भन्ने कुराले मन ढक्क भयो । यहीबीच परिवारका साना–ठूला सबै सदस्यको याद आयो । कसैलाई केही नहोस् भनेर प्रार्थनामा हात आफैँ जोडिन पुगे । यतिले नपुगेर मनचरीको उडान अस्ति साथीहरूसँग गरेको छलफलमा अडियो । मानसिक स्वास्थ्यप्रति नकारात्मक सोच राख्ने समाज अनि राज्यले पनि उस्तो वास्ता नगरेको तर पछिल्लो पुस्तासँगै बिस्तारै हुर्किंदै गरेको काउन्सिलिङ कल्चर र हामी प्राइभेट प्य्राक्टिसनरहरूको करिअर, विज्ञहरूले भविष्यवाणी गरेजस्तो ‘पोसिबल फाइनेन्सिएल क्राइसिस’मा ‘सर्भाइभ’ गर्ला कि नगर्ला ? भन्ने सम्झिँदा आफ्नो सानो अफिसको याद आयो, चार वर्षभन्दा बढीको मिहिनेतमा साथ दिएको त्यो सानो ८–१० को कोठा मलाई कति मिस गर्दो हो, पछिल्लो २४ दिनदेखि नदेखेको, त्यसलाई म भोलिका दिनमा त्यत्तिकै छाड्न सकुँला त भन्ने तर्कनाले अझै सिरिंग बनायो ।

इटलीमा कोरोनाले सबैभन्दा बढी आक्रान्त पारेको प्रौढ जनसंख्या सम्झिँदा मनचरी मस्त निदाइरहेका बाबुआमाको छेउमा हुत्तिएर पुग्यो, मलाई केही हुँदा यिनीहरूको के होला भन्ने सोच मात्रले पनि फेरि खङ्ग्रङ्ग पार्‍यो । कसैगरे रोक्न नसकिएको मनचरीको यो उडानले मलाई फेरि अमेरिका, स्पेन, इटली, चीन, भारतलगायत विश्वको वर्ल्ड टुर गरायो, सँगै साथीभाइ, ट्रेनर्स, शिक्षक, आफन्त सबैको याद पनि एक फन्कोमा भ्याइदियो । यति सबै भ्याइसक्दा नसक्दा झट्टै, धन्न, एउटा के याद भयो भने सबैका समाचार सँगसँगै आफ्नो जीवनलाई जोड्दै जाने हो भने त कोरोना त कता हो कता मनचरीको ३० सेकेन्डको उडानले नै खुस्किने सम्भावना बलियो रहेछ । 

जुरुक्क उठेर बार्दलीमा गएँ । निस्पट्ट अँध्यारोमा टाढा कुकुर भुकेको सुनियो । चिसो हावाले अनुहारमा एक झापड दियो, बार्दलीको डिलमा राखेको हातले र टेकेको खुट्टाले चिसो थाहा पायो, छेउको रुद्राक्ष र कपुरको रूखले मेरो तर्कनाको रूखलाई एकै सेकेन्डमा ‘रिप्लेस’ गर्‍यो, म बाहिर निस्केको थाहा पाएर होला तल कुकुर पनि पुलुक्क मतिर हेर्दै तनक्क तन्कियो । लामो सास फेरेँ, घर परिवार सबै सञ्चै छन् । मेरो काठमाडौं पनि सञ्चै छ अहिलेलाई । लामो–लामो सास लिइरहेको मस्त निदाएको काठमाडौंको छेउमा ढसमस्स अग्लिएको शिवपुरीलाई देखेर खै कसरी हो ढाडस भएजस्तो भयो । अकस्मात् नियन्त्रण हराएको मनले केही राहत पायो ।   

अध्याय ३
सबै थाहा पाउँदापाउँदै पनि बलियो हुन नसकेको, भावना र संवेगमा बहकिएको, डराएको अवस्थाबारे लेखूँ कि नलेखूँ भन्ने भैरह्यो । त्यसमाथि यसरी लेखेकै, सामाजिक सञ्जालमा एक्टिभ भएकै कारण अनेक कुरा सुन्नुपरिरहेको अवस्थामा झन् यसले मेरो व्यावसायिक क्षमतामाथि नै प्रश्न नउठाउला ? ठ्याक्कै यसै भन्न सकिन्न । हामी धेरै साँघुरो मनस्थितिमा हुर्केका छौँ, कुरा बुझेर पनि सच्चिने हाम्रो व्यवहार छैन । अरूलाई खिल्ली उडाउन र तल झार्न सबैभन्दा अगाडि छौँ, आफ्नो गल्ती हुँदा माफी माग्न जान्दैनाैं । त्यसैले कसले के भन्ला भन्ने कुराको पछि नलागी लेख्ने निधोमा पुगेँ म ।

एक मनले ह्या होस् है नभनेको पनि होइन, तर फेरि सोचेँ– यहाँ नडराउने कोही छ ? आफूमाथि आश्रित र आफूले सिर्जना गरेका र हुर्काएकाको सुरक्षाको डर सबैमा हुन्छ नै । म मनको कुरा सुन्छु, मनोविमर्श मेरो पेसा हो । मानसिक अप्ठ्यारासँग कसरी लड्ने र आफू कसरी सुरक्षित हुने, यो सिकाउँछु । परिस्थिति अप्ठ्यारो हुँदा पनि ‘सिल्भर लाइनिङ’ कसरी खोज्ने, सानो–सानो कारणले अप्ठ्यारो पर्दा त्यसलाई ठूलो क्यानभासमा कसरी हेर्ने, नभएका र नपुगेका कुरामा अड्किनु सट्टा भएका र पुगेका कुराको पनि ध्यान राख्दै चाहिएको कसरी खोज्ने भनेर सिकाउँछु, सँगैसँगै खोज्न पनि लागिपर्छु । त्यसैले मेरो काम एउटा सेसनमा सकिँदैन ।

अहिले मथिंगल सबैको केही न केही खलबलिएको छ । विनादोष आफूले आफैँलाई थुन्नुपरेको छ । आँखाले नदेखिने शत्रुलाई जित्न लुक्नुपरेको छ र एउटा यस्तो युद्धमा होमिनुपरेको छ, जहाँ लुक्नुबाहेक विकल्प छैन ।

अरूलाई आफ्नो भावना र संवेगलाई सम्मान गर्न सिकाउने म आफ्नै भावना र संवेगबाट कसरी भागूँ ? बल्लबल्ल आफ्ना बारेमा पनि सोच्न सिकेको मैले आज आफ्नै कुरा लेख्न र भन्न किन हिच्किचाउने ? विश्वव्यापी त्रासदीबाट संसार नै डराउँदा, म निर्धक्क भएर भन्छु अहिले म पनि डराएको छु । तर, डराएर म कमजोर भएको होइन, बरु म बढी सजग छु, बढी अनुशासित छु त्यसैले ढुक्क पनि छु ।   

अध्याय ४
अर्को सत्य के पनि हो भन्दा डर समय, परिस्थिति र आफ्नो अवस्थाअनुसार फरक–फरक कारणले लाग्न सक्ने अवस्था रहन्छ अनि यसको अभिव्यक्ति पनि फरक–फरक ढंगले हुन्छ । युद्ध हुनु र युद्धविराम हुनु पनि डरकै कारण हो । वीरहरूको गाथा वर्णन गरिएको महाभारत र रामायणका हरेक पात्रमा पनि डर भेटिन्छ । भूतप्रेत भगाउने र डर भगाउने भनेर जपिने हनुमान चालिसाका हिरो हनुमान पनि श्रीरामप्रतिको भक्ति कहीँ कतै कम हुन्छ कि भनेर डराएका भेटिन्छन् ।

अहिले पनि यो कोरोनालाई लिएर मनमा पटक्कै डर नभएका त कोही पनि छैनन्, यसको निदानमा खटिने डाक्टर, नर्स, यसबारे अनुसन्धान गरिरहेका भाइरोलोजिस्ट, रिसर्चर वा संसारकै सबैभन्दा शक्तिशाली नेता, सबै डराएकै छन् । फ्रन्टलाइनमा काम गरेर विशेष परिस्थितिले संक्रमित हुनेबाहेक, सायद डराउने र आवश्यक अनुशासनमा बस्नेजति केही हदसम्म जोगिएका पनि छौँ, नडराउने र मलाई के गर्छ र भन्नेहरू जानी–नजानी बढी संक्रमित पनि भएका छन् । 

त्यसैले डराउँदैमा कमजोरचाहिँ भइहालिन्न है । म डराएँ केहीबेर, तर सँगै मैले मभन्दा अझ डरलाग्दो अवस्थामा भएका अरूलाई सम्झेँ । अर्को एकदिनको स्वस्थ जिन्दगी बिताउन पाएकोमा आफूलाई भाग्यमानी महसुस गरेँ । आफूभन्दा अप्ठ्यारो परिस्थितिमा परेकाको अवस्था सुध्रियोस् भनेर प्रार्थना गरेँ । अनि अर्को दिनका लागि आवश्यक परेका, तनाव झेल्न गाह्रो भएकासँग काम गर्न अझै धेरै आँट बटुलेँ पनि । 

अहिले मथिंगल सबैको केही न केही खलबलिएकै छ । विनाआफ्नो कुनै दोष हामी आफैँले आफूलाई थुन्नुपरेको छ । आँखाले नदेखिने शत्रुलाई जित्न लुक्नुपरेको छ र कहाँ लुकेको पनि भन्न मिलेको छैन । यो एउटा यस्तो युद्धमा हामी होमिएका छौँ, जहाँ लुक्नेबाहेक अर्को कुनै हतियार छैन, विकल्प छैन, जाइलाग्ने सुविधा छैन । पहिलोपटक संसार नै एकैचोटि एउटै शत्रुसँग होमिएको मानव इतिहासको सम्भवतः यो नै पहिलो र अनौठो युद्ध हो, जहाँ राजा, प्रजा, नेता, जनता, प्रौढ, बच्चा सबै उत्तिकै क्षमताले होमिएका छन् । अनि यो अस्वाभाविक अवस्थामा मथिंगल हल्लिनु स्वाभाविक हो ।