१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख ३ बुधबार ०७:२४:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाका बिरामी बढेपछि सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३ बुधबार ०७:२४:००

प्रदेश सरकारले कोरोना उपचार विशेष अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालमा आजबाट प्रसूति सेवा बन्द गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अन्य बिरामीमा संक्रमण फैलन सक्ने भएकाले अनिश्चितकालसम्म प्रसूति सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

अर्को व्यवस्था नभएसम्म नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागू भएको नवजीवन अस्पतालबाट प्रसूति सेवा लिन प्रदेश सरकारले आग्रह गरेको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले ३ वैशाखदेखि लागू हुने गरी प्रसूति सेवा बन्द गरिएको जानकारी दिए ।

अस्पताल प्रशासनले मंगलबार सूचना जारी गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उनीहरूको उपचार र व्यवस्थापनका लागि प्रसूति सेवा बन्द गर्नुपरेको जनाएको छ । प्रसूति सेवा सञ्चालन हुँदै आएको भवनमा कोरोना बिरामी राख्न प्रयोग गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख एवं प्रवक्ता डा. जगदीशप्रसाद जोशीले बताए ।

‘कोरोना संक्रमितको संख्या बढ्दै गएकाले संक्रमण फैलने सम्भावना पनि हुन्छ,’ जोशीले भने, ‘प्रसूति सेवा रोकेर त्यहाँ कोरोनाका बिरामीको व्यवस्था गर्दै छौँ ।’ प्रदेशको मन्त्रिपरिषद् बैठकले गत चैतमा सेतीलाई कोरोनाको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकेको थियो । डा. जोशीका अनुसार सेतीमा दैनिक औसतमा ४० जनाले प्रसूति सेवा लिने गर्छन् । कोरोनाका बिरामीको उपचार हुन थालेपछि भने सेवाग्राही घटेको अस्पतालले जनाएको छ । ओपिडी सेवा यसअघि नै बन्द गरिएको थियो ।