अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
अलाबामा राज्यमा आँधीपीडित मानिस सामुदायिक आश्रयकेन्द्रमा भेला भएका छन् । उनीहरूलाई त्यहाँ मास्क लगाएर बस्न भनिएको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ ।
दक्षिणी क्यारोलिनामा नौजनाको ज्यान गएको छ भने जर्जियामा आठजनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरूले राज्यमा कम्तीमा तीनजनाको मृत्यु भएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रूखहरू ढलेका वा घरहरू भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
दक्षिणी क्षेत्रका राज्यहरूका कतिपय ठाउँमा शक्तिशाली चक्रवात उत्पन्न भएको र यी चक्रवातहरू पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।
मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताए । उनले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको, तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताएका छन् ।
यो आँधी आइतबारदेखि सुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको सामाजिक दूरीसम्बन्धी नियम पनि हटाइदिएका छन् । राज्यका अस्थायी आश्रयस्थलहरूमा मानिसहरू मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् ।
आँधी प्रभावित क्षेत्रहरूमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत् लाइन काटिएको छ ।
टेनिसी उपत्यकामा साताको अन्त्यमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ ।