मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उत्तमबाबु श्रेष्ठ
२०७७ बैशाख १ सोमबार ०८:१४:००
Read Time : > 4 मिनेट
१३औँ वार्षिकोत्सव विशेषांक

कोरोनापछिको पृथ्वी : सम्मान अब वातावरणलाई 

Read Time : > 4 मिनेट
उत्तमबाबु श्रेष्ठ
२०७७ बैशाख १ सोमबार ०८:१४:००

नयाँ पत्रिका दैनिकको १३औँ वार्षिकोत्सव विशेषांक

  • उत्तमबाबु श्रेष्ठ

यतिखेर कोभिड–१९ महाव्याधिको कारण विश्वभरका मानवीय गतिविधि लगभग ठप्प छ । आकाशमा उड्ने जहाजहरूको संख्यामा ९६ प्रतिशतले गिरावट आएको छ । धर्तीमा गुड्ने सवारी–साधनमा ग्यारेजमा थन्किएका छन् । चौबीसै घन्टा चलायमान रहने विश्वका ठूला सहर र प्रमुख व्यापारिक केन्द्र सुनसान छन् । विश्वभरका शिक्षालय, कार्यालय र कारखानाका गेटमा ताला झुन्डिएको छ र पसलहरूमा सटर लागेको छ । हालसम्म एक लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड–१९ महाव्याधिले मानवजीवनका सबै पक्षहरूमा र विश्व अर्थतन्त्रलाई अकल्पनीय प्रभाव पारेको छ । कोरोना संक्रमण फैलनाबाट रोक्न गरिएको बन्दाबन्दीको कारण विश्वको लगभग आधी जनसंख्या यतिखेर घरभित्र थुनिएका छन् ।

कोरोनाको बन्दाबन्दीको कहर कति दिन, महिना वा वर्षमा सकिन्छ ? त्यो अहिले नै भन्न नसकिए पनि यति भने भन्न सकिन्छ–यसले विश्वभर पार्ने आर्थिक र सामाजिक प्रभाव वर्षाैँ सम्म रहनेछ । एसियाली विकास बैंकका अनुसार यसले विश्व अर्थतन्त्रमा २.३ देखि ४.८ ट्रिलियन डलरबराबरको नोक्सानी पार्नेछ । आइएलओका अनुसार कोरोनाको कारण यो वर्षभित्रमा विश्वभर करिब दुई करोड ५० लाख मानिसहरूको रोजगारी गुम्नेछ ।

रोजगारी र मानव स्वास्थ्यलाई तहसनहस पारिरहेको कोरोनापछिको पृथ्वीको स्वास्थ्यमा अर्थात् वातावरण भने कस्तो हुनेछ ? यसपछिको आगामी आर्थिक विकासको बाटो कस्तो होला ? यसले मानिसलाई प्रकृतिप्रतिको दृष्टिकोण बदल्न मद्दत गर्ला ? अहिले नै भन्न सकिने अवस्था छैन । तर पनि कोरोना कहरपछि सम्भवतः दुईवटा फरक बाटाहरू हुनेछन्, जसले पृथ्वीको स्वास्थ्य र त्योसँगै जोडिएको मानव स्वास्थ्यलाई प्रभाव पार्नेछन् । यस लेखमा त्यस्ता केही आयामको छोटकारीमा चर्चा गर्न खोजिएको छ ।

जनस्वास्थ्यलाई हेर्ने फरक दृष्टिकोण 

कोभिड–१९ भाइरसको स्रोत चीनको वुहानको आलो मासुबजार भएको त्यहाँ पालिएका चमेराबाट सालक हुँदै मानिसमा यो भाइरस सरेको हुन सक्ने वैज्ञानिक अनुमानपछि यसले मानिस र वन्यजन्तुसँगको अहिलेको सम्बन्धलाई हेर्ने दृष्टिकोण फेरिन सक्ने अनुभव हुँदै छ । कोभिड–१९ फैलन थालेलगत्तै चीनले अस्थायी रूपमा वन्यजन्तुको विश्व व्यापारमाथि प्रतिबन्ध लगायो । हाल चीनको त्यो अस्थायी प्रतिबन्धलाई स्थायी कानुनको रूप दिनेबारे त्यहाँ बहस भइरहेको छ ।

मानव र वातावरणलाई एकअर्काका विरोधीको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण होइन, स्वस्थ मानवका लागि स्वस्थ वातावरण अपरिहार्य छ भन्ने चेतना चाहिएको छ । 

वाइल्ड–लाइफ कन्जर्भेसन सोसाइटीका चिनियाँ निर्देशक आइली कांगका अनुसार चीनमा यतिखेर वन्यजन्तुसम्बन्धी मौजुदा कानुनमाथि विभिन्न मन्त्रालयको पहलमा समीक्षा भइरहेको छ । जसमा विभिन्न जनावरको हालको वर्गीकरणमाथि पुनर्विचार गरिने कुरा पनि प्रमुख छ । रोयटर्सका अनुसार यसअघि पशुको वर्गीकरणमा परेको कुकुरलाई संसारका अन्य भागमा जस्तै कोरोनापछि मानिसको साथी (पेट) वर्गको जनावरमा राखिने भएको छ । त्यहाँको कृषि मन्त्रालयले मासु, खाना, दूध, ऊन र औषधिको रूपमा प्रयोग हुने जनावरलाई पशुको वर्गीकरणमा राखेको थियो । सम्भवतः चिनियाँ वन्यजन्तुको नयाँ कानुन बनेमा र वन्यजन्तुको व्यापारमाथि त्यसले अंकुश लगाएमा उक्त परिवर्तनले नेपालमा सालकलगायत वन्यजन्तुको अवैध व्यापार र सिकारलाई घटाउन मद्दत गर्न सक्छ । 

कोरोनाका कारण सुस्ताएको वा ठप्प भएको मानवीय गतिविधिका कारण विश्वभर वायु प्रदूषण घटेको समाचार आइरहेका छन् । साथै वायु प्रदूषणले कोरोनाको संक्रमणको प्रभावलाई झनै धनीभूत गर्ने नयाँ वैज्ञानिक अनुसन्धानले देखाएका छन् । एकातिर जलवायु परिवर्तन विशेष गरेर प्रदूषणले गर्दा महामारीको प्रकोप झन् बढ्ने र अर्कातिर महामारीको कारक वन्यजन्तु हुने तथ्य स्थापित हुँदै जाँदा मानव स्वास्थ्यका लागि पृथ्वीको स्वास्थ्य ठीक हुन आवश्यक छ भन्ने दृष्टिकोण स्थापित हुनेछ । यदि त्यसो भएमा आगामी दिनमा मानिसहरू प्रकृतिप्रति बढी नै संवेदनशील हुने अनुमान गर्न सकिन्छ ।
 
तत्कालीन प्रभाव 

कोरोना महाव्याधिका कारण अहिले विश्वमा दुईवटा महत्वपूर्ण वातावरणीय सम्मेलन रोकिए र त्यसको मिति अझै तय भएको छैन । पहिलो जैविक विविधतासम्बन्धी जैविक विविधता महासन्धिको १५औँ संस्करण कोप–१५ र जलवायु परिवर्तनको अर्को महत्वपूर्ण बैठक कोप–२६ पनि स्थगन भयो । विश्वका १९६ राष्ट्रले भाग लिने भनिएको जैविक विविधता महासन्धिको सम्मेलन (कोप–१५) चीनमा हुने तय भएको थियो भने जलवायु सम्मेलन (कोप–२६) स्कटल्यान्डमा ।

सन् २०१० मा एक दशकका लागि बनाइएको विश्वको जैविक विविधता संरक्षणको रणनीतिक खाकाको म्याद यो वर्ष सकिने भएकाले र आगामी एक दशकका लागि यस्तै नयाँ विश्व रणनीतिक खाका तयार पार्नुपर्ने भएकाले चीनमा यसपालि हुने भनिएको जैविक विविधतासम्बन्धी सम्मेलन विशेष महत्वको थियो । त्यसमाथि पनि सन् २०१० मा राखिएको जैविक विविधता संरक्षणका लक्ष्यहरू, जसलाई आइची बायोडाइभर्सिटी टार्गेट भनिन्छ, त्यो कुनै पनि पूरा नभएको र विश्वभर जैविक विविधता व्यापक ह्रास भइरहेको परिपे्रक्षमा हुन लागेको उक्त सम्मेलनको महत्व ठूलो थियो । त्यसैले त्यो सम्मेलन स्थगन भएपश्चात विश्वभरमा तत्कालका लागि जैविक विविधता संरक्षणको रणनीतिमा एउटा अन्तराल देखिनेछ । 

त्यस्तै स्कटल्यान्डमा हुने भनिएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२६) ले पेरिस सम्झौताको कार्यान्वयनमा ठोस काम गर्ने अपेक्षा गरिएको थियो । किनभने यसअघि स्पेनको मेड्रिडमा भएको सम्मेलन (कोप–२५) कार्बन उत्सर्जन कटौती, कार्बन व्यापारको व्यवस्थापन र जलवायुजन्य क्षति तथा नोक्सानीमा लगानी र जलवायु वित्तजस्ता विषयमा विनासहमति टुंगिएको थियो । पेरिस सम्झौतालाई जलवायु परिवर्तनको कोसेढुंगा माने पनि त्यो बाध्यकारी सम्झौता होइन, स्वयंसेवी प्रकृतिको सम्झौता हो, जसबाट अमेरिकाले हात झिकेपछि पेरिस सम्झौताको प्रभावकारितामा थप प्रश्न उब्जेको थियो ।

यसपालिको कोपमा थाती रहेका यिनै मुद्दामा छलफल र निर्णय हुने अपेक्षा थियो । तर, यो सम्मेलन सरेपछि अन्योल बढेको छ । तथापि राष्ट्रपति डोनाल्ड ट्रम्पको पेरिस सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको राष्ट्रपतीय निर्वाचनपछि मात्रै कानुनी रूपमा छिनोफानो हुने भएकाले यदि ह्वाइट ट्रम्पले हारेर डेमोक्रेटिक उम्मेदवारले जितेमा जलवायु परिवर्तनको अन्योल भने चिरिनेछ । त्यसले पेरिस सम्झौतालाई व्यावहारिक रूपान्तरणका लागि अहिलेभन्दा सहज हुन सक्नेछ । त्यसमाथि यस महाव्याधिले विभिन्न देशका नेतृत्वलाई सहकार्यको आवश्यकता महसुस गरायो भने जलवायु परिवर्तनको पक्षमा थप प्रगतिशील सम्झौता पनि हुन सक्नेछ । जसबाट नेपालजस्तो जलवायु परिवर्तनको कारण बढी प्रभावित राष्ट्रहरूलाई फाइदा पनि हुन सक्नेछ । 

तर, अहिले कोरोनाको कारण विश्वको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावको कारण विश्वका देशको प्राथमिकता आफ्नो अर्थतन्त्रलाई सढृढ बनाउनेमा हुनेछ । घरभित्र बढ्ने बेरोजगारी र कम आर्थिक वृद्धिलाई उकास्नका लागि थप आर्थिक गतिविधि बढाउनुपर्ने चुनौतीले गर्दा ६ विकसित देशले वातावरणीय मुद्दालाई पछि धकेल्ने जोखिम छ । जसको कारण यथास्थितिकै विकास र आर्थिक गतिविधि बढेर पर्यावरणको दोहनमा झनै बढ्न सक्ने सम्भावना पनि छ । त्यसैले अहिले धेरै विकसित देशले घोषणा गरेका सहुलियतका कार्यक्रममा हरित ऊर्जामा आधारित रोजगारी प्रवर्धनका लागि खर्चनुपर्ने र वातावरणमैत्री विकासको मोडल खोजिनुपर्ने कुरा उठिरहेको छ । यदि त्यस्तो भएमा पृथ्वी र मानिससँगै फस्टाउने मौका मिल्न सक्छ । 

घरभित्रको समस्यामै अल्झनुपर्ने बाध्यताको कारण विकसित देशले विकासशील देशलाई दिने आर्थिक सहयोगमा कटौती हुन गई नेपालजस्तो जैविक विविधता संरक्षण र वातावरणको क्षेत्रमा लगभग २५ प्रतिशतजति रकम विदेशी सहायता रकममा भर पर्नुपर्ने देशलाई उक्त क्षेत्रमा सहयोग रकम घट्न गई त्यस्ता कार्यक्रम प्रभावित हुन सक्नेछ । जैविक विविधताको पक्षमा काम गर्ने विभिन्न संस्थामा बजेटको अभाव भई उनीहरूका कार्यक्रम प्रभावित हुन सक्नेछ । त्यसमाथि नेपालमा महाव्याधिले ठूलो संख्याका मानिसलाई गरिबीको रेखामुनि धकेल्नेछ । गरिबीका कारण वनफँडानीलगायत वातावरणीय ह्रास झनै बढ्न सक्ने सम्भावना पनि छ । 

कोरोना महामारीको बीचमा विश्वभरका विकसित देशबीच आरोप–प्रत्यारोप चलिरहेको छ । कोरोना महाव्याधिबीच भएको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा भाइरसको नामको विषयलाई लिएर विवाद हुँदा त्यसले एउटा संयुक्त वक्तव्यसमेत जारी गर्न सकेन । त्यसमाथि विश्व स्वास्थ्य संगठनको नेतृत्व र भूमिकालाई लिएर अमेरिका, अस्ट्रेलियालगायत राष्ट्रले प्रश्न उठाइरहेकाले अहिले नै स्थापित विश्वस्तरका संस्थानहरू क्षयीकरण हुने र राष्ट्रवादले थप प्रश्रय पाउने पो हो कि भन्ने संशय छ । जसले गर्दा माथि उल्लेख गरिएका जैविक विविधता र जलवायु परिवर्तनका मुद्दामा चाहिने विश्व भ्रातृत्व, सहकार्य, संस्थागत संरचना र नेतृत्व नभएर ती मुद्दा झनै ओझेलमा पर्ने सम्भावना पनि छ । त्यस्तो भएमा विश्व वातावरणजस्तो विश्वव्यापी मुद्दामा थप क्षय पुग्नेछ, जसको असर विश्वको वातावरण, जलवायु र जैविक विविधतामा प्रत्यक्ष पर्नेछ ।

अन्तमा, कोरोना महाव्याधिले मानिस, वन्यजन्तु र वातावरणको सम्बन्धलाई दह्रोसँग स्थापित गरेको छ । जनस्वास्थ्यको मुद्दा वातावरणीय स्वास्थ्यसँगै जोडिएको विषय रहेछ भन्ने कुरा बुझ्न यसले धेरै सहयोग गरेको छ । तर, अहिले अस्थायी रूपमा भइरहेको वातावरणीय सुधार (जस्तै– वायु प्रदूषण, कार्बन उत्सर्जनमा कमी) को ठूलो मानवीय, आर्थिक र सामाजिक मूल्य छ । त्यसकारण कोरोना महाव्याधिपछि ठप्प भएको मानवीय आर्थिक गतिविधि वातावरणलाई राम्रो हुने रहेछ भन्ने एकपक्षीय संकथनले मानिसलाई वातावरणको विरोधीको रूपमा करार गर्छ । यतिखेर मानव र वातावरणलाई एकअर्काका विरोधीको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण होइन, स्वस्थ मानवका लागि स्वस्थ वातावरण अपरिहार्य छ भन्ने चेतना चाहिएको छ ।