मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ३० आइतबार १०:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भिडियो कलमार्फत हुने छलफलमा सभ्य र स्मार्ट कसरी देखिने ?

वर्क फ्रम होम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ३० आइतबार १०:५०:००

कोरोनाको कहरले निम्त्याएको एक संस्कृति हो, ‘वर्क फ्रम होम’ । सामान्य अफिसको कामदेखि अन्तरदेशका कन्फरेन्स तथा कार्यक्रमसम्ममा यो तरिका उपयोगी हुँदै गएको छ । जो जता छन्, सोही स्थानबाट भिडियो कलमार्फत छलफल हुन थालेको छ । हुनत, यो प्रयोग नौलो भने होइन । यद्यपि, ‘लकडाउन’सँगै प्रायः अफिस तथा संस्थाको काम गर्ने माध्यम भिडियो कल बनेको छ । 

भिडियो कलमार्फत काम गर्दा अनुहारमा प्रकाश पर्ने स्थान छनोट गर्नुपर्छ । ल्यापटप, डेक्सटप वा मोबाइल उज्यालो छिर्ने ठाउँको विपरीत राख्न सकिन्छ । यसो गर्दा, अनुहारमा प्रकाश पर्छ र चमक तथा उज्यालोपन देखिन्छ ।

यसअघि, दिनहुँ अफिस जाँदा गेटअप मिलाएर टिपटप हुने गरिन्छ । लकडाउनका दौरान लामो समय घरमै रहँदा यी विषयमा हेक्का राखिँदैन । तथापि, कार्यालयका छलफल तथा बैठक जब ‘भिडियो कल’मार्फत गर्नुपर्ने हुन्छ, त्यसवेला यी तरिका अपनाएर आफूलाई सभ्य र स्मार्ट रूपमा प्रस्तुत गर्न सकिन्छ :

अनुहारमा प्रकाश पार्ने

भिडियो कलमार्फत काम गर्दा अनुहारमा प्रकाश पर्ने स्थान छनोट गर्नुपर्छ । झ्याल भएका स्थान रोज्नुपर्छ । जहाँबाट उज्यालो छिर्छ, सो दिशातर्फको विपरीत ल्यापटप, डेक्सटप वा मोबाइल राख्न सकिन्छ । यसो गर्दा, अनुहारमा प्रकाश पर्छ र चमक तथा उज्यालोपना देखिन्छ । गलत स्थानको रोजाइले अनुहारपछाडि ‘एन्टिलाइट’ पर्ने र अनुहार भद्दा देखिने गर्छ । सहकर्मीलाई यसले भिडियो कलमा असहजसमेत हुन सक्छ । 

‘लो एंगलमा’ नराख्ने

डेस्कटप, ल्यापटप वा मोबाइललाई ‘लो एंगलमा’ राख्नुहुँदैन । भिडियो कलका लागि प्रयोग गरिने उपकरणलाई अनुहारभन्दा केही माथिको तहमा राख्नुपर्छ । जसले अनुहारको आकारलाई समान र सुन्दर देखाउँछ । लो एंगलमा राख्दा नाक, गालाजस्ता अनुहारका भाग अस्वाभाविक र भद्दा देखिन्छन् । 

डेक्सटपलाई ‘लो एंगलमा’ राख्नुहुँदैन । उपकरणलाई अनुहारभन्दा केही माथिको तहमा राख्नुपर्छ । जसले अनुहारको आकारलाई समान र सुन्दर देखाउँछ । लो एंगलमा राख्दा नाक, गालाजस्ता अनुहारका भाग अस्वाभाविक र भद्दा देखिन्छन् । 

आफ्नो अनुहारबारे सचेत 

भिडियोका लागि आफ्नो अनुहारको ख्याल गर्नुपर्छ । कलअघि, अनुहारबारे सचेत रहनुपर्छ । लामो समयसम्म घरमै रहँदा सरसफाइमा बेवास्ता भएको हुन्छ । कलअघि, अनुहारमा मोइस्चर लगाउँदा सुक्खापन घट्छ र थप चमक दिन्छ । त्यस्तै, ओठ सुक्खा हुन नदिने र कपाल पनि मिलाउने गर्नुपर्छ । घरमै पनि कार्यालयमा रहँदाको जस्तो व्यक्तित्व दर्शाउनु उचित हुन्छ । पहिरनमा पनि सचेत रहन आवश्यक हुन्छ । 

एकछिन घरायसी कामबाट टाढा 

घरमा रहँदा बच्चाबच्ची साथमा हुने गर्छन् । घरायसी काम र बच्चाबच्चीले ध्यान भंग गर्न सक्छन् । यसकारण, भिडियो कल सुरु हुनुअघि नै परिवारका अन्य सदस्यलाई बच्चाबच्चीको जिम्मा लगाउनुपर्छ । साथै, सानातिना घरायसी कामको जिम्मा पनि सुम्पनुपर्छ । 

उचित ब्याकग्राउन्डको पहिचान
 
कोरोनाविरुद्धको पहिलो सार्क समिटमा नेपालबाहेक अन्य सार्क सदस्य देशले ब्याकग्राउन्डमा आफ्नो देशको झन्डासहितको उचित ब्याकग्राउन्ड व्यवस्था गरेका थिए । नेपालको ब्याकग्राउन्डमा देखिएको अन्य कर्मचारी तथा नेताको भने आलोचना भएको थियो । जुन निकै भद्दा र ‘डिस्टर्बिङ’ थियो । भिडियो कलको समयमा ब्याकग्राउन्डमा पनि ख्याल गर्नुपर्छ । आँखालाई बिझाउनेभन्दा पनि आराम दिने ब्याकग्राउन्डको चयन गर्नु राम्रो हुन्छ ।