१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३० आइतबार ०८:१५:००
Read Time : < 1 मिनेट
अर्थ

निर्माण व्यवसायीको फर्म नवीकरणका लागि असार मसान्तसम्मको म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३० आइतबार ०८:१५:००

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीको फर्म नवीकरण गर्ने समयावधि असार मसान्तसम्म पु-याउने भएको छ । निर्माण व्यवसायी नियमावली संशोधन गरी समयावधि थप गरिन लागेको मन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

नियमावली संशोधनका लागि प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने प्रक्रिया थालिएको छ । ‘असार मसान्तसम्म फर्म नवीकरण गर्न म्याद थप गर्ने प्रस्ताव लैजाँदै छौँ,’ मन्त्री नेम्वाङले भने । 

यसअघि निर्माण व्यवसायीले लकडाउनको अवस्थामा चैतमा नवीकरण गर्न सकिने अवस्था नभएको जानकारी गराएका थिए । ‘यसकारण म्याद थपका लागि आग्रह गरिएको हो,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने । म्याद थप गर्न निर्माण व्यवसायी नियमावली संशोधन गर्नुपर्ने भएकाले पनि यस विषयमा महासंघ लागिपरेको छ । म्याद थप नगरेको अवस्थामा म्याद थप गर्न बाँकी रहेका निर्माण फर्महरू खारेज हुने व्यवस्था छ । कानुनी व्यवस्था संशोधनका लागि आवश्यक प्रस्ताव तयार भइसकेको छ । 

अहिलेको कोरोना संकटका कारण उत्पन्न अवस्थाले गर्दा पनि म्याद थप गर्नुपर्ने अवस्था सिर्जना भएको निर्माण व्यवसायीहरूको भनाइ छ । देशभर करिब २ सय निर्माण व्यवसायीको फर्म नवीकरण गर्न बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । ‘अधिकांश व्यवसायीले अहिलेको परिस्थिति, करचुक्ता प्रमाणपत्र नभएर वा अन्य कारणले नवीकरण गर्न नपाएका हुन्,’ उनले भने ।