१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ३० आइतबार ०८:३५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

के हो जालिम मुखिया प्रकरण ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ३० आइतबार ०८:३५:००

भारतीय मिडियाले सशस्त्र सीमा बल र बिहारको स्थानीय प्रशासनबीच भएको पत्राचारको आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीको तस्बिरसहित निन्दा गरिरहेका छन् । नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको आरोप लगाइरहेका छन् । तर, नेपाल सरकारले अहिलेसम्म यसबारे भारतसँग औपचारिक रूपमा न कुनै प्रश्न सोधेको छ न त भारतले नेपाललाई नै औपचारिक जानकारी गराएको छ । 

  • जालिम मुखिया

नेपाली गृह अधिकारीहरूले अनौपचारिक रूपमा बुझ्दा भारतीय अधिकारीले सुरक्षा निकायले गरेको आन्तरिक चिठीपत्र र सुरक्षाको आन्तरिक आकलन मात्र भएको र त्यसको सत्यतामाथि एसएसबीले छानबिन गरिरहेको जवाफ दिएका छन् । जालिमले भने संकटका वेला भारतका विभिन्न गिरोहले सञ्चारमाध्यम प्रयोग गरेर नेपालमा मुस्लिम र हिन्दूबीच साम्प्रदायिक सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन् । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको भारतीय सुरक्षा मूल्यांकन पत्र गृह मन्त्रालयमा पठाएर जालिमका बारेमा आएका समाचारको जानकारी दिएको बताए । उनले भने, ‘हामीले गृह मन्त्रालयलाई समाचारमा सार्वजनिक भएको विषयबारे जानकारी दिएका छौँ । गृहले हामीलाई थप केही भनेको छैन, हामीलाई औपचारिक रूपमा भारतीय अधिकारीले पनि केही भनेका छैनन् । 

गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भने संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको बताए । ‘यो मूर्खतापूर्ण विश्लेषण हो । मिडियाले पनि त्यसैलाई आधार मानेर नेपालविरुद्ध षड्यन्त्र गरिरहेका छन् । हामीलाई नलाग्ने, हामीले कोरोना भारतमा पठाउन सक्ने भन्ने पनि कुनै तर्क हो ? मलाई भारतीय मिडियाले भाइरस उत्पादक भएजसरी चित्रण गरिरहेका छन् । संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको छ । यसलाई बुझ्नुपर्छ,’ उनले भने ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एसएसबीका अफिसरले आफूभन्दा माथिल्लो निकायमा पठाएको नियमित ब्रिफिङको पत्र हो त्यो । आन्तरिक पत्र लिक भएको विषयमा एसएसबीले अनुसन्धान गरिरहेको जानकारी पाएको ती अधिकारीले बताए । परराष्ट्रका अधिकारीहरू यो विषयमा भारतसँग भएका छलफल वा चासोबारे औपचारिक प्रतिक्रिया दिन मान्दैनन् । 

अध्यक्ष जालिम मुखियाले आफू घरमै रहेको र कहीँबाट असुरक्षा नभएको बताए । उनले भने, ‘भारतीय मिडियाले मेरो बदनाम गरे । मलाई कहीँकतैबाट धम्की वा असुरक्षा भएको छैन । त्यस्ता अफवाहका पछाडि लाग्नु हुँदैन भन्ने मलाई लाग्छ ।’