१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी इस्लामाबाद
२०७६ चैत ३० आइतबार ०६:३१:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

पिपिई र मास्क माग्दै पाकिस्तानी चिकित्सक सडकमा

Read Time : > 2 मिनेट
एजेन्सी इस्लामाबाद
२०७६ चैत ३० आइतबार ०६:३१:००

पाकिस्तानी राष्ट्रपति डा. एरिफ एलभी आफू सहभागी हुने सार्वजनिक कार्यक्रममा निकै सावधानी अपनाउँछन् । कोरोना भाइरसबाट जोगिन उनी प्रायः एन–९५ मास्क लगाउँछन् ।  

उनको कोटको गोजीमा स्यानिटाइजरको बोतल छुट्दैन । बारम्बार उनी हातमा स्यानिटाइजर लगाउँछन् । तर, कोरोना संक्रमणको उपचारमा अग्रमोर्चामा उभिएका देशका चिकित्सक तथा नर्स भने सामान्य मास्क र सुरक्षा उपकरणका लागि सरकारसँग याचना गरिरहेका छन् । 

सरकारले बारम्बार आफ्नो आवाज नसुनेपछि मास्कलगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउन माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तानमा अहिलेसम्म चार हजार सात सय ७८ जनामा कोरोना देखिएको छ भने ७२ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा दुई चिकित्सक पनि छन् ।

मेडिकल एसोसिएसन असन्तुष्ट

राष्ट्रपति डा. एलभीले यसै साता एन–९५ मेडिकल मास्क लगाएर सामाजिक सञ्जालमा ट्विट गरेको फोटोले कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा खटिएका चिकित्सक झनै आक्रोशित बनेका थिए । 

राष्ट्रपतिले चीन भ्रमणका क्रममा आफूले एन–९५ मास्क पाएको र त्यसको डोरी चुँडिने वेलासम्म बारम्बार प्रयोग गरेको प्रस्टीकरण दिएका छन् । तर, चिकित्सक भने सन्तुष्ट छैनन् । अन्य सामान्य राजनीतिज्ञले समेत पिपिई लगाइरहेका वेला आफूहरूले सामान्य सुरक्षा कवचका उपकरण नपाउँदा स्वास्थ्यकर्मी झनै आक्रोशित छन् । 

पाकिस्तान मेडिकल एसोसिएसन (पिएमए)ले देशका राजनीतिज्ञ र कर्मचारीहरूले बैठक र भेटघाटमा नियमितजसो एन–९५ मास्क लगाउने गरेको, तर स्वास्थ्यकर्मीले भने सामान्य मास्कमा चित्त बुझाउनुपरेको र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को चरम अभाव भएको गुनासो गरेको छ ।

चिकित्सकमाथि लट्ठी र बुट प्रहार

विश्वका विभिन्न देशमा यतिवेला कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, अस्पतालका कर्मचारीलगायत स्वास्थ्यकर्मीको प्रशंसा भइरहेको छ । आफ्नो जीवन र परिवारको परवाह नगरी स्वास्थ्यकर्मी चौबिसै घन्टा अस्पतालमा खटिएका छन् । तर, पाकिस्तानको क्वेटा सहरमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकमाथि नै प्रहरीले लट्ठी र बुट प्रहार गरेको छ । 

पिपिई अभावमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीलाई उपकरण उपलब्ध गराउनुको साटो प्रहरीले लट्ठी प्रहार गरेको हो । पाकिस्तानमा चिकित्सक र नर्ससहित २५ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । 

क्वेटा सहरमा बुधबार चिकित्सक र सरकारबीचको तनाव उत्कर्षमा पुगेको थियो । सयौँ चिकित्सक र स्वास्थ्य क्षेत्रसँग आबद्ध अन्य व्यक्तिहरूले क्वेटाको सिभिल हस्पिटलमा भेला भएर मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । मुख्यमन्त्रीको निवासतर्फ बढेको प्रदर्शनकारी चिकित्सकको समूहलाई प्रहरीले अवरोध मात्र गरेन, लट्ठी र मुक्का बर्सायो । प्रहरी दमनमा अधिकांश चिकित्सक घाइते भएका थिए भने दुई दर्जनलाई पक्राउ गरिएको थियो । पछि, उनीहरूलाई पुनः अस्पताल पठाइएको थियो । 

पिपिईको चरम अभाव

गत महिनाको अन्त्यतिर कोरोना महामारी फैलिन थालेसँगै पाकिस्तानमा पिपिईको चरम अभाव देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए । सरकारले भने स्वास्थ्यकर्मीको मागबमोजिम सामग्री उपलब्ध गराउन नसक्ने बताउँदै आएको छ ।

 चिकित्सकले सुरक्षा कवच माग गर्दा संघीय सरकारले केही उपकरण उपलब्ध गराएको थियो भने अस्पतालले चिकित्सकलाई एन–९५ मास्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘तर, सरकारले कपाल काट्ने नाई र ब्युटिसियनले प्रयोग गरेको मास्क पो उपलब्ध गरायो,’ युवा चिकित्सक डा. यासिर खान भन्छन् ।

 पाकिस्तानमा सरकार र चिकित्सकबीचको द्वन्द्व विगत सात महिनादेखि सुरु भएको थियो । महामारी फैलनु ६ महिनाअघि मात्र पाकिस्तान सरकारले देशका स्वास्थ्य व्यवसायीको नियामक निकाय पाकिस्तान मेडिकल एन्ड डेन्टल काउन्सिल (पिएमडिसी) बन्द गरेको थियो । सरकारको सो निर्णयले भर्खर पढाइसकेका १५ हजार चिकित्सक प्रमाणपत्रविहीन भएका थिए भने झन्डै ३० हजार चिकित्सक मेडिकल काउन्सिलमा आफ्नो नाम दर्ता तथा नवीकरण गर्नबाट वञ्चित छन् । सो निर्णपछि पाकिस्तानी चिकित्सक सरकारसँग रुष्ट छन् ।

क्वेटाबाट फैलिएको थियो कोरोना

पिपिईको अभावपछि देशभरका चिकित्सक आन्दोलनमा छन् भने स्वास्थ्य संकटका समयमा आन्दोलन गरेको भन्दै सरकारले उनीहरूलाई पक्राउ गर्न थालेको छ । तर, बलुचिस्तान प्रान्तको क्वेटा सहरको हिंसाले धेरैको ध्यान तानेको छ । बलुस्चिस्तान प्रान्त राजनीतिक दृष्टिले पनि पछाडि परेको क्षेत्र मानिन्छ । 

यहाँ लामो समयदेखि विखण्डनकारीले अतिवादी गतिविधि सञ्चालन गर्दै आएका छन् । पाकिस्तानमा यही प्रान्तबाट सबैभन्दा पहिला कोरोना देखिएको थियो । फेब्रुअरी र मार्चमा इरानबाट त्यहाँ जाने तीर्थयात्रीबाट क्वेटामा कोरोना फैलिएको थियो ।

कोरोना फैलिएसँगै सरकारले ताफतान क्षेत्रमा क्वारेन्टाइनस्थल खडा गरेको थियो । तर, क्वारेन्टाइनस्थलमा स्रोतसाधनको अभाव भएको विज्ञहरूले गुनासो गर्दै आएका छन् । ‘क्वारेन्टाइनस्थल नाम मात्रको छ, आवश्यक स्रोतसाधन केही छैन,’ बलुस्चिस्तानका युवा चिकित्सक डा. यासिर खान बताउँछन् । उनी थप्छन्, ‘मानिसहरू पालभित्र भिडमा बस्न बाध्य छन् । भिडका कारण संक्रमण नभएका मानिसमा समेत कोरोना भाइरस फैलिएको छ,’ उनी भन्छन् ।

क्वेटा सहरमा दुई साताअघि ९६ जनामा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरूमध्ये कसैको पनि ट्राभल हिस्ट्री नदेखिएकाले कोरोना समुदायमा फैलिन सुरु गरेको पुष्टि भएको थियो । अहिलेसम्म २५ स्वास्थ्यकर्मी संक्रमित छन् । क्वेटमा मात्र १७ चिकित्सक र पाँचजना अस्पतालका कर्मचारीमा कोरोना देखिएको छ । डा. खानका अनुसार कोरोना देखिएका उनीहरू कोही पनि बिरामीको प्रत्यक्ष उपचारमा संलग्न थिएनन् । त्यस्तै, अन्य प्रान्तमा पनि स्वास्थ्यकर्मी संक्रमित छन् ।