सिराहाको कर्जन्हा नगरपालिका– ९ की ६२ वर्षीया जुक्ति पासमानलाई खाना नरुच्ने र हातखुट्टाका हड्डी दुख्ने समस्या भएपछि परिवारले गत माघमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुर्याएको थियो । अस्पतालले त्यतिवेलै उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि गर्यो ।
दलित तथा विपन्न परिवार भएकाले पैसा खर्च गरेर औषधि–उपचार गराउन सम्भव थिएन । राज्यको सहयोग लिनुपर्ने भयो । अस्पतालले नगरपालिकाबाट सिफारिस लिएर आउनु भन्दै एक महिनाको औषधि लेखिदिएर घर पठाइदियो ।
नेपालको सरकारी काम न हो, नगरपालिकाबाट सिफारिस बनाउन ढिला भयो । चिट्ठी बनेपछि अस्पताल आउने भन्दाभन्दै देश लकडाउन भयो । लकडाउनकै कारण परिवारले जुक्तिलाई अस्पताल ल्याउन सकेको छैन । एउटी वृद्धा नागरिक लकडाउनकै कारण क्यान्सरको पीडा खेपेर मृत्युुसँग लडिरहनुपरेको छ ।
‘नगरपालिकाले दिएको चिट्ठी हातमा छ । तर, बन्दले गर्दा आमालाई अस्पताल लान सकिएको छैन । अहिले ओपिडी पनि बन्द छ अरे, लगेर पनि उपचार हुँदैन,’ छोरा विनोदले नयाँ पत्रिकासँग भने, ‘एक महिनाका लागि खान दिएको औषधि पनि सकियो । आमालाई धेरै पीडा भइरहेको छ । हेरेर आँसु बगाउनुको विकल्प छैन ।’
०००
जुक्तिका भाइ ५५ वर्षीय शोभित पासमानलाई पनि खुट्टामा क्यान्सर छ । उनलाई पनि दिदीसँगै अस्पतालमा जाँदा डाक्टरले क्यान्सर पुष्टि गरेका थिए । सुरुमा उनलाई चिकित्सकले ७ चैतमा शल्यक्रिया गर्ने समय दिएका थिए । तर, अन्तिम अवस्थामा दुई सातापछि आउन भने । तर, लकडाउनले उनी अस्पताल जान पाएका छैनन् । समयमा उपचार नहुँदा अहिले शोभितको खुट्टाको घाउ बढेर हिँडडुल गर्नै समस्या भएको छ ।
०००
सिराहाको अर्नामा गाउँपालिका– ५ कृष्णपुरका ४६ वर्षीय रामकुमार यादव पनि काखीमा ट्युमर बढेपछि १५ फागुनमा भरतपुर क्यान्सर अस्पताल पुगेका थिए । चिकित्सकले लिम्फोनोड ट्युमर भएको र शल्यक्रिया गर्नुपर्ने बताए ।
डाक्टरले ९ चैतमा भर्ना भएर १० चैतमा शल्यक्रिया गर्ने निश्चित गरेका थिए । यादव डाक्टरले भनेअनुसार सबै प्रक्रिया पूरा गरेर ८ चैतमा अस्पताल पुगे । तर, कोरोना भाइरसका कारण शल्यक्रिया नहुने भन्दै फिर्ता पठाइदिए ।
हुनै आँटेको शल्यक्रिया पनि रोकिएपछि यादव निराश भएर घर फर्किए । अहिले दुखाइ सहन गाह्रो भएको उनले बताए । ‘मैले शल्यक्रिया गरिदिनुस् भनेर कति आग्रह गरेँ, तर उहाँहरूले मान्नुभएन,’ यादवले नयाँ पत्रिकासँग भने, ‘अहिले टुयुमर बढेर घाँटीमुनि पनि देखिन थालेको छ । दुखाइ खप्न नसकेर अहिले इन्जेक्सनबाट मर्फिन लिँदै आएको छु ।’
०००
गत दशैँको सप्तमीको दिन वीर अस्पतालमा ब्रेनट्युमरको शल्यक्रिया गरेकी सिराहा नगरपालिका– ५ खरसल्वाकी ४२ वर्षीया फूलकुमारी यादवको पनि नियमित उपचार रोकिएको छ । वीरले एउटा औषधि लेखिदिएर रेडियोथेरापीका लागि भरतपुर क्यान्सर अस्पताल पठाएको थियो । छठपछि यादव अस्पताल पुगिन्, तर १२ फागुनमा मात्रै पालो आउने भनेर फर्काइदियो ।
यादव १२ फागुनमा अस्पताल पुगिन् । २५ दिनसम्म रेडियोथेरापी गर्नुपर्ने भयो । सातामा ५ दिन रेडियोथेरापी हुन थाल्यो । दुई सातासम्म नियमित चल्यो । तर, ६ चैतमा १२ दिन पुगेपछि चिकित्सकले कोरोनाको जोखिम बढेको भन्दै घर पठाइदिए । रेडियोथेरापीको १३ दिन बाँकी छँदै घर पठाइएकी यादव अहिले टाउको दुख्ने र खान मन नलाग्ने समस्याले सताएको बताउँछिन् ।
सोही वडाका अध्यक्षसमेत रहेका पति सुनिल वैदा यादवले भने, ‘श्रीमतीलाई साह्रै गाह्रो हुन थालेको छ । कहिले लकडाउन खुल्ने र अस्पताल जान पाउने हो ठेगान छैन, समस्या पर्यो ।’
भरतपुर क्यान्सर अस्पतालका डिपार्टमेन्ट अफ रेडिएसन अंकोलोजीका मेडिकल फिजिसिस्ट रामनारायण यादव लकडाउनका कारण उपचार प्रभावित भएको स्विकार्छन् । नयाँ बिरामीलाई १४ दिन क्वारेन्टाइनमा राखेर उपचार सुरु गर्नुपर्ने हुन्छ, तर अस्पतालसँग त्यसको पर्याप्त तयारी नभएकाले भर्ना नलिइएको उनले बताए । रेडियोथेरापी पनि लकडाउन खुलेपछि मात्रै हुने उनको भनाइ छ ।
‘नयाँ बिरामीलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै भर्ना गर्नुपर्छ । त्यसका लागि अस्पतालसँग पर्याप्त सुविधा नभएकाले नयाँ भर्ना लकडाउन खुलेपछि मात्रै लिने भन्ने छ । प्राविधिक कारणले रेडियोथेरापी रोकिएकाहरूको पनि लकडाउन खुलेपछि नै हुन्छ,’ उनले भने, ‘नियमित उपचारमा रहेका अन्य बिरामीको हकमा भने समस्या छैन ।’