मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जनकपुर अटोमोबाइल्स डिलर्स एसोसिएसनले राहतस्वरुप गत आइतबार बाँडेको पाँच किलो चामल, एक किलो दाल पोको पार्दै जलेश्वर नगरपालिका–२ का ५५ वर्षीय सियालाल पासवान ।
जिल्ला ब्युरो
२०७६ चैत २९ शनिबार ०८:२३:००
Read Time : > 10 मिनेट
पालिका अपडेट

झुपडपट्टीका भोका पेट

Read Time : > 10 मिनेट
जिल्ला ब्युरो
२०७६ चैत २९ शनिबार ०८:२३:००

हातमा पैसा हुनेहरूको भान्सामा चामलका बोरा खात लागेका छन् । ग्यासका सिलिन्डर थुप्रिएका छन् । दुई–चार महिना देश ठप्प भए पनि पेट पाल्ने जोहो गरिसकेका छन् । उनीहरूलाई लकडाउनको के फिक्री ? मारमा ती छन्, जो उही दिन मजदुरी गरेर उही दिन हात पर्ने थोरै पैसाले अँगेनो सल्काउँथे । लकडाउनसँगै काम ठप्प भएपछि विपन्न मजदुरका भान्सा रित्तिएका छन् । झुपडपट्टीभित्रै बसेर लकडाउनलाई पूर्ण साथ दिएका उनीहरूको पेट रित्तिएको भने सरकारले देखेको छैन । जिल्ला ब्युरोको रिपोर्ट :

कास्की : पोखरा–९ गणतन्त्र टोलको सुकुमबासी बस्तीकी ७२ वर्षीया वृद्धा फुलमती परियार बसपार्कमा प्लास्टिक उठाउँथिन् । बिहान–बेलुका गर्जो टार्ने आधार नै यही थियो । लकडाउनपछि पनि एक दिन उनी प्लास्टिक टिप्न बसपार्क पुगिन् । तर, प्रहरीले झपारेपछि घरबाहिर निस्कन सकेकी छैनन् । 

नयाँ पत्रिका टिम उनको झुपडीमा पुग्दा गुनासाका पोको फुकाइन्, ‘बसपार्कमा फोहोर उठाएर छोरो र आफ्नो पेट जसोतसो पालेकै थिएँ । एक दिन पुलिसले नराम्रोसँग झपारेपछि घरभित्रै छु । न हातमा पैसा छ, न घरमा अन्न । के खाने ? तत्काल राहन नपाए मर्नुको विकल्प छैन ।’

फुलमतीसहित टोलका केही परिवारलाई केही दिनअघि स्थानीय सहारा क्लबले पाँच केजी चामल, आधा किलो दाल, एक–एक पोका नुन र तेल दिएको थियो । तर, त्यो सामान सकिएको र अरू विकल्प नभएको उनीहरूको गुनासो छ ।

गणतन्त्र टोलकै ६३ वर्षीय प्रेम रानामगर ज्यामी काम गर्थे । श्रीमती लालमाया १२ वर्षदेखि प्यारालाइसिसले थलिएकी छिन् । लकडाउनसँगै मजदुरी रोकिएपछि उनीहरूको पनि बिचल्ली भएको छ । ‘सहाराले दिएको पाँच किलो चामल सकियो । अब कहाँबाट के ल्याएर खाने ? श्रीमतीको अवस्था यस्तो छ,’ उनले समस्या सुनाए । 

गणतन्त्र टोलनजिकै कृष्णटोलमा दुई सयभन्दा धेरै सुकुमबासी परिवार छन् । उनीहरूले बस्ती प्रवेश गर्ने मूलद्वारमै बार हालेर लकडाउन पूर्ण पालना गरेका छन् । सूचनासमेत टाँसेर बाहिरी मान्छेलाई सचेत गराएका छन् । तर, भित्र उनीहरूको पीडा एउटै छ, पेट कसरी धान्ने ? 

‘पाँच घरपरिवारको भान्सा रित्तियो । ऐँचोपैँचो गरेर टारिएको छ । ५१ परिवारको दुई–चार दिनमै छाक रोकिने अवस्था छ, अब तिनको पनि सकिएपछि के गर्ने ?,’ टोलका निवर्तमान अध्यक्ष अग्निप्रसाद तिवारीले भने । पोखरा बसपार्कवरिपरि सात टोलमा सुकुमबासी बस्छन् । सबैको परिवार धान्ने आधार ज्याला मजदुरी नै हो । तर, लकडाउनसँगै सबै समस्यामा परेका छन् । पोखरा–१७ छोरेपाटनस्थित नमुना टोलका ७६ वर्षीय टेकबहादुर लामाले भने, ‘राहत दिन्छौँ भनेर नाम टिप्न आएका थिए, खै कहिले ल्याउँछन्, थाहा छैन । खोले खाएर धानिएका छौँ । 

महोत्तरी : जलेश्वर नगरपालिका–२ का ५५ वर्षीय सियालाल पासवानको आठजनाको परिवार छ । बूढो शरीरले दैनिक ठेला चलाएर परिवार धनेकै थिए । तर, लकडाउनसँगै उनको घरमा खाद्यसंकट निम्तियो । गत आइतबार बिहान सियालालको मुखमा अन्न पर्न पाएन । उनी बेचैन भए । छटपटीमा सोच्दै गर्दा गाइँगुइँ सुने, जलेश्वर बजारमा कुनै संस्थाले राहत बाँड्दै छ रे । उनी तुरुन्तै हान्निए । सियालालले पाँच किलो चामल, एक किलो दाल, दुई किलो आलु, एक किलो प्याज, एक पोका नुन र एउटा साबुन पाए । 

उनी थोरै भए पनि उजेलिए । तर, आठजनाको परिवारलाई पाँच किलो चामलले कति छाक टर्ला र ? उनको चिन्ता कम भएन । ‘हामीजस्तो ठूलो परिवारलाई यो राहत हात्तीको मुखमा जिरा हो, कति छाक टर्छ र ?’ बोरामा सामान पोको पार्दै उनले भनेका थिए, ‘चुलो नै निभेका वेला यति भए पनि केही त भयो ।’ 

नभन्दै उनले भनेजस्तै भयो । राहतको चामल रित्तिसकेको छ । अब उनलाई कसरी परिवारको पेट भर्ने भन्ने तनावले घेरेको छ । गत आइतबार सियालालजस्तै एक सय ६० परिवारले सोही परिमाणमा राहत पाएका थिए । स्थानीय व्यवसायी शिवचन्द्र चौधरीसँग समन्वय गरेर जनकपुर अटोमोबाइल्स डिलर्स एसोसिएसनले राहत बाँडेको थियो । तर, ती सबै परिवार सियालालजस्तै बिलखबन्दमा छन् ।

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ सालघारीका मनोज विक घर निर्माण गर्ने मिस्त्री हुन् । मजदुरी गरेर दैनिक आठ सय कमाउँथे । त्यही पैसाले जहान–छोराछोरी पाल्थे । लकडाउनले उनको जीविकामाथि प्रहार गरेको छ । ‘लकडाउनले काम बन्द भयो । घरमा रासन सकियो, किन्न पैसा छैन,’ मनोजले भने, ‘छरछिमेकबाट ऐँचोपैँचो गरेर चलाइरहेको छु । छिमेकमा पनि सकिएपछि के खाने ?’ 

साहुको कपडा पसलमा लुगा सिलाउने सालघारी सुकुमबासी टोलकी जया दमाई पाँचजनाको परिवार कसरी धान्ने पिरलोमा छिन् । ‘दैनिक पाँचदेखि आठ सयसम्म कमाउँथेँ । घरखर्च चलेकै थियो,’ जयाले भनिन्, ‘हातको काम रोकिएपछि मुख पनि बन्द गर्नुपर्ने अवस्था आएको छ । छिमेकीसँग मागौँ भने सबै सुकुमबासी उस्तै गरिब हो । हामीलाई त कोरोनाभन्दा भोकले लैजाला जस्तो छ ।’ 

भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्द भने नगरका सबै वडामा राहत वितरणका लागि तयारी भइरहेको बताउँछन् । विवरण संकलन अन्तिम चरणमा पुगेको उनले बताए । सुक्लाफाँटा आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले कञ्चनपुरका आरक्षपीडितका शिविरमा पनि खाद्यान्न अभाव भएको बताए । कतिपयले घरमा अन्न सकिएपछि गहुँका बाला काटेर पोलेर खाइरहेको उनले बताए । कञ्चनपुरमा १० हजार परिवार सुकुमबासी, आरक्षपीडित, बाढीपीडित र मजदुरले वडामार्फत खाद्यान्न माग गरेका छन् । 

झापा : गौरादह नगरपालिका–२ दहलुका सुनील हेमरमको घरमा दिनमा एक छाक मात्र खाना पाक्न थालेको साता दिन नाघ्यो । सीमान्तकृत सन्थाल समुदायका सुनीलको आफ्नो नाममा एक चपरी पनि माटो छैन । सुकुमबासी बस्तीमा जसोतसो ओत लाग्ने घर बनाएका छन् । 

त्यही घरका आधारमा राज्यले उनलाई हुनेखाने दर्जा दियो । सुकुमबासीमा राहत भित्रिँदा सुनीलको परिवारले पाएन । ‘साहुको दुई बिघा खेत अधियाँ गरेको थिएँ । ८० मनजति धान फल्यो । आधा साहुलाई दिएँ । आफ्नो भागको आधा जोतिदिने ट्र्याक्टरलाई दिएँ । खेताला लगाएको पनि धान बेचेरै तिरेँ । मेरो भागमा १० मनजति परेको थियो,’ उनले गुनासो पोखे, ‘त्यो धान पनि वर्षभरि ऋण गरेर खाएको तिर्दै ठिक्क भयो । मजदुरी गरेर पाँचजनाको परिवार पाल्दै थिएँ । अहिले काम रोकिएपछि समस्या परेको छ । एक छाक खाँदा पनि अब एकाध दिन पुग्ला । त्यसपछि के गर्ने थाहा छैन ।’ नगरपालिकाले समस्या नै नबुझी आफूलाई हुनेखाने बनाएकोमा उनको चित्तदुखाइ छ । 

दहलुको सुकुमबासी बस्तीमा १८ घर सन्थाल बस्छन् । तीमध्ये १० परिवारले अधियाँ गरेको भन्दै नगरपालिकाबाट राहत पाएका छैनन् । आठ घर परिवारले १० केजी चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेल पाएका छन् । ‘हामीलाई धनी देख्ने उहाँहरूले एकपटक घरभित्र आएर हेरिदिनुस् । के हामी यो देशका नागरिक होइनौँ,’ मंगल बस्कीले भने, ‘६ जनाको परिवार छ, खाने छैन । नगरपालिकाका मान्छे आएर नाम टिप्दा आशा लागेको थियो, तर राहत दिएनन् । अब हामी याचना गर्न कहाँ जाने ?’ 

नगरपालिकाकी उपप्रमुख गीता भेटवालले भने पहिलो चरणमा राहत पाउन छुटेका विपन्नलाई पुनः राहत दिने बताइन् । कार्यपालिका बैठकबाट निर्णय गरिने उनले बताइन् । 

उता, कमल गाउँपालिका–१ किस्नीखोलाछेउमा रहेको माझगाउँका भूमिहीन सन्थालको भान्सामा पनि अन्न अभाव छ । वडा कार्यालयले नाम टिपेर लगेको पाँच दिनसम्म राहत नआएको भन्दै भूमिहीन परिवार बाटो हेरेर बसेका छन् । ‘यो सतार बूढोले ढाँटेजस्तो लाग्छ भने भित्र गएर हेर बाबु ! चुलो रित्तै भइसक्यो,’ ७० वर्षीय मंगल मुर्मुले भने । 

सुर्खेत : वीरेन्द्रनगर–९ तातोपानीका भरत टमट्टाको घरमा खाद्यान्न सकिएको साता दिन बित्यो । छिमेकबाट १० किलो पैँचो ल्याएका छन् । अब त्यो पनि सकिएपछि के गर्ने विकल्प छैन । फलाम पिटेर हँसिया बनाउने भरतको कमाइमा ६ जनाको परिवार धानिएकोमा अहिले समस्यामा परेको छ । ‘कमाउने बाटो बन्द भयो, हातमुख जोर्नै मुस्किल पर्‍यो । घरमा चामल सकिएपछि छिमेकबाट ल्याएको १० किलो चामल पनि सकिएपछि के गर्ने विकल्प छैन,’ उनले भने । 

वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा त्रिपालमुनि बसेकी मैसरा गुरुङले पनि दिदीको घरबाट ल्याएको दुई केजी चामलले चार छाक धानेको बताइन् । ‘अस्ति दिदीको घरबाट ल्याएको दुई किलो चामलले दुई दिन धान्यौँ । अब के गर्ने चिन्ता छ,’ उनले भनिन् । वडा कार्यालयले केही खाद्यान्न वितरण गर्ने भने पनि स्थानीय बसोवासको प्रमाण देखाउन भनेकाले २४ परिवारले राहत नपाएको उनले गुनासो गरिन् । 

  • लकडाउनले सुर्खेतको बराहताल–२ गिरीघाट जंगल क्षेत्रमा बस्दै आएका बाढी विस्थापित ९३ परिवारको काम मात्र होइन, माम पनि खोसिएको छ ।

बाढी विस्थापित ९३ परिवार बस्दै आएको बराहताल–२ गिरीघाट जंगल क्षेत्रमा भने शनिबार वडाले प्रतिपरिवार १५ केजी चामल, पाँच केजी पिठो र एक केजी नुन उपलब्ध गराएपछि केही राहत भएको छ । जंगल र खोला किनारमा दाउरा काट्ने, ढुंगा फोड्ने र गिटी कुट्ने यी परिवारको काम रोकिएको छ । वीरेन्द्रनगरबाट १२ किमि पश्चिममा रहेको यो बस्तीमा कसैसँग हातमा पैसा भए पनि नजिक खाद्यान्न पाइँदैन । ‘हातमा पैसा भए पनि खाद्यान्न किन्न वीरेन्द्रनगर पुग्नुपर्छ । लकडाउनमा जान पाइँदैन,’ सुक्मा नेपालीले भनिन् ।

त्यस्तै, झुप्राखोलाका बादी समुदायले नगरपालिकाबाट २५ केजीका दरले चामल पाएका छन् । यो चामल नसकिँदै लकडाउन खुलिदिए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ । १० दिनको लकडाउनमा तीन दिन खाद्यान्न अभाव बेहोरे पनि हाल नगरपालिकाले चामल, दाल र नुन दिएपछि राहत मिलेको भीमबहादुर बादीले बताए । 

सिरहा : बरियापट्टी छोटी भन्सार कार्यालयबाट सय मिटरको दूरीमा ५० दलित मुसहर परिवारको बस्ती छ । बस्तीछेवैमा रहेका खाद्यान्न गोदाम र खेतमा मजदुरी गर्ने उनीहरूले अहिले काम पाएका छैनन् । मजदुरी रोकिएसँगै छाक टार्न पनि मुस्किल परेको छ । 

कोरोना संक्रमणबाट जोगिन एक–अर्कोबीच दूरी कायम गर्नुपर्ने भए पनि उनीहरू बस्तीअगाडि चौतारामा भेला हुन्छन् । थालमा मुसुरोको उसिना खाँदै आइपुगेकी ५७ वर्षीया विन्दी सदाले भनिन्, ‘चामल सकियो, यही उसिना एक छाक खाने हो । अर्को छाक भोकै सुत्छु ।’ 

सामान लोड–अनलोड गरेर जीविका चलाउने ४० वर्षीय ठक्कु सदाले समस्या पर्दा नेताले नहेरेको गुनासो गरे । ‘उनीहरूलाई चाहिँदा भोट माग्न पटक–पटक आउँथे । अहिले हामीलाई पर्दा किन आउँथे ?’ उनले भने, ‘राहतको नाममा अहिलेसम्म पाएको एउटा मास्क मात्रै हो ।’ 

बरियापट्टी गाउँपालिकाले खाद्यान्न बाँड्न तथ्यांक संकलन गरिरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तोष महतोले भने, ‘मास्क वितरण गरियो, अब खाद्यान्न पुर्‍याउन तथ्यांक संकलन गर्दै छौँ ।’

लहान नगरपालिका–१८ भदैया बिसनपुरमा गिटी–बालुवा चाल्ने डेढ सय परिवार पनि काम रोकिएपछि समस्यामा परेका छन् । नगर प्रमुख मुनी साहले विपन्नलाई राहत बाँड्ने तयारी भइरहेको बताए । 

मोरङ : विराटनगर महानगरपालिका–१२ बखरीका महावीर कामत ठेला चलाउँथे । त्यहीँबाट हुने कमाइले ११ जनाको परिवार धान्थे । अहिले ठेला कुदाउन बन्द छ । ठूलो परिवारको पेट धान्न महावीरलाई महाभारत छ । ‘काम रोकियो, आम्दानी छैन, एघारजनाको परिवार कसरी धान्ने ?’ महावीर भन्छन् । 

विराटनगर–६ नहरडिल बस्ने मीना पासवानको हालत उस्तै छ । साहुको घरमा जुठा भाँडा माझेर परिवार चलाएकी थिइन् । लकडाउनमा मालिकले १५ दिन छुट्टी दिएपछि आयस्रोत रोकिएको छ । ‘घरमा अन्न छैन, किन्न पैसा छैन,’ मीनाले समस्या सुनाइन्, ‘आफू त केही दिन भोकै बस्न सकुँला, चार लालाबालालाई के खुवाउने ?’ उनका तीन छोरी र एक छोरा छन् । 

पाँचथर : जिल्लाको सिदिन क्षेत्रमा वडा भवन निर्माण गरिरहेका फिदिम–४ भुजेलडाँडाका ३४ वर्षीय इमिन्द्र खवासको काम लकडाउनसँगै रोकियो । काम बन्द भएपछि पाँचजनाको परिवारको छाक कसरी टार्ने समस्या परेको उनले बताए । एक्कासि फर्किंदा कामबाट पैसा पनि नआएको र लामो समय बन्द हुँदा परिवार पाल्न गाह्रो भएको उनले बताए । उनीसँगै काम गर्ने अन्य आठजनाको पनि अवस्था उस्तै छ । 

भुजेलडाँडाकै शक्ति खवास हेवाँखोलाबाट बालुवा निकाल्ने काम गर्थे । उनको परिवारमा पनि पाँचजना छन् । छोरा र उनी काम गर्थे । काम रोकिएपछि समस्या परेको उनले बताए । सोही ठाउँका होम खवास गिटी कुटेर दैनिकी चलाउँथे । अहिले गिटी–बालुवाको कामै नभएपछि उनलाई पनि समस्या परेको छ । ‘हातमा पैसा छैन, घरमा अन्न छैन,’ उनले भने, ‘परिवार कसरी पाल्ने ?’ 

कैलाली : धनगढीको विशालनगरमा डेरा बस्ने शंकर महता रिक्साचालक हुन् । त्यही आम्दानीबाट उनको पाँचजनाको परिवार चलेको छ । तर, अहिले रिक्सा थन्क्याएर घरमै बस्नुपरेपछि भान्सा पनि रित्तिन थालेको छ । ‘हामी दैनिक काम गरेर हुने आम्दानीले परिवार पाल्नुपर्नेलाई मर्नु नै भयो,’ शंकरले भने, ‘दुई हप्ता भयो रिक्सा चलाउन नपाएको । घरमा खाने सकियो, रिक्साको मासिक ६ हजार किस्ता पनि कसरी तिर्ने ?’ 

धनगढीमै रिक्सा चलाउने गौरीगंगा नगरपालिका–७ चौमालाका लालबहादुर काम पनि दैनिक छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । ‘बन्दले डेराबाट घर फर्किन पनि सकिएन, काम गर्न पनि पाइएन,’ उनले भने, ‘खाद्यान्न सकियो, अब के खाएर बाँच्ने ?’ 

धनगढीमा मात्रै दैनिक दुई हजारवटा विद्युतीय रिक्सा छन् । रिक्सा चलाउने मजदुरका परिवारलाई अहिले गुजारा गर्न समस्या परिरहेको छ । धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडले दैनिक मजदुरी गरेर परिवार पाल्ने विपन्नलाई राहत वितरण सुरु गरिएको बताए । तर, मजदुरहरूले आफ्नो हातमा आइनपुगेको बताएका छन् । 

संखुवासभा : भोजपुरबाट मजदुरीका लागि परिवारसहित केही महिनाअघि खाँदबारी आएका तीर्थ रम्तेल अहिले वित्यासमा परेका छन् । काम ठप्प भएको तीन सातामा उनलाई पाँचजनाको परिवारको पेट धान्न मुस्किल परेको छ । ‘बालबच्चा हेर्दै बुढाबुढी पालैपालो मजदुरी गथ्र्यौं, तर काम गर्न नपाउँदा खानै समस्या परेको छ,’ तीर्थले भने, ‘न गाउँ फर्किन पाइन्छ, न यहाँ काम गर्न । कसरी पेट पाल्ने ?’

खोटाङबाट मजदुरी गर्न खाँदबारी आएका रत्नमान विश्वकर्मा पनि भोकमरी लागेको बताउँछन् । उनी सडकको काम गर्थे । तर, तीन साताअघि ठेकेदारले कोरोना फैलियो भन्दै बाँकी ज्यालासमेत नदिई काम रोकेको उनले बताए । ‘ठेकेदारले पनि दिनुपर्ने ज्याला दिएका छैनन् । घरमा खाने सकियो,’ उनले गुनासो गरे । 

ओखलढुंगा : चार्खुस्थित तौलीकुलो सिँचाइ आयोजनामा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ मजदुर रुम्जाटारमा अलपत्र परेका छन् । ‘काम बन्द भयो, ठेकेदारले आयोजनाको रकम नआएको भन्दै आफ्नो व्यवस्था आफैँ गर्नु भनेर पठाइदिए । तर, घर जान पनि पाइएन,’ सुर्खेतका चन्द्रबहादुर कार्कीले भने, ‘अहिले हामीलाई खाने समस्या छ ।’ दुई साथी आफन्तकहाँ गए पनि १२ जना अलपत्र परेको उनले बताए । उनीहरूले घर जाने व्यवस्था गरिदिन या रुम्जाटारमै बसोवास र खानपानको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय सरकारमार्फत राहत वितरण भइरहेकाले सम्बन्धित तहमा सम्पर्क गर्न भनेका छन् । ‘विपन्न, गरिब, मजदुरलाई राहत सहयोग गर्ने कार्यक्रम स्थानीय तहमार्फत भइरहेको छ, नगरपालिकाले वितरण सुरु गरेको हुनुपर्छ, त्यहाँ सम्पर्क गरौँ, खान नपाएर अलपत्र नपरौँ,’ उनले भने । तर, मजदुरहरू जिल्लाबाहिरबाट आएकाले स्थानीय तहबाट अहिलेसम्म राहत पाएका छैनन् । 

तनहुँ : व्यास नगरपालिका–१३ स्थित आँपस्वाराका दलित तथा विपन्न परिवार पनि विपत्मा परेका छन् । ‘छोराले काम गरेर ल्याएको पैसाले परिवार पाल्दै आएका थियौँ, तर अहिले काम छैन,’ मेनुका विकले भनिन्, ‘घरमा भएको दाल–चामल पनि सकियो । अहिलेसम्म त छिमेकबाट पैँचो मागेर जीविका चलाएका छौँ ।’ स्थानीय मनबहादुर थापाले पनि ज्यालादारी रोकिएपछि भान्सामा अन्न जुटाउन समस्या भएको बताए । 

मकवानपुर : हेटौँडा–११ सिमलटारको सुकुमबासी बस्तीमा १७ सय परिवार छन् । अधिकांशको जीविका दैनिक ज्यालादारीबाटै चल्दै आएको छ । तर, ज्यालादारी रोकिएर खानै समस्या हुँदा पनि राहत पाएका छैनन् । 

१७ सय परिवारमा एक सय २० परिवारले मात्रै सहकारी र वडाबाट राहत पाएको सिमलटार टोल विकास समितिका अध्यक्ष मधु थापाले बताए । लकडाउन लम्बिँदा सुकुमबासी बस्तीमा भोकमरी लाग्ने सिमलटारस्थित विपन्न सहकारीका सचिव कमचन्द्र सुमनले बताए । 

बाँके : जानकी गाउँपालिका–३, इन्द्रपुरकी प्रमिला पत्थरकट्टाको परिवार सिलौटा–जाँतो बनाएर बेच्ने र आएको पैसाले पालिने गथ्र्यो । तर, अहिले काम र व्यापार ठप्प भएपछि उनको घरको चुलो निभेको छ । ‘चुलो निभेको दुई दिन भयो, कसैले दिए खान्छौँ, नत्र भोकभोकै सुत्छौँ,’ प्रमिलाले भनिन् । 

इन्द्रपुरमा मात्रै ४८ परिवार पत्थरकट्टाको बसोवास छ । समस्या सबैको उस्तै छ । ‘बिहान पाकेपछि बेलुकाको खाना पाक्दैन, बेलुकाको पाके बिहानको पाक्दैन, हामी त एक छाक मात्रै खान पाएका छौँ,’ रामवरण कुचबधियाले भने । 

जिल्लामा घाँस बिक्री गरेर जीविका चालाउने घँसियार, चरा मारेर जीविका चलाउने चिडिमार र सिलौटा, जाँतो बनाउने पत्थरकट्टाको दैनिक जीवन कष्टकर बनेको छ । 
गाउँपालिकाले तीनपटक नाम लेखेर लगे पनि अहिलेसम्म राहत नदिएको राजु पत्थरकट्टाले गुनासो गरे । ‘राहतका लागि भन्दै विवरण संकलन गरेर लैजान्छन् मात्र, दिन कोही आउँदैनन्,’ उनले भने । तर, राहतका लागि उनीहरूको विवरण संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । 

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित दलित बस्तीका परिवार छाक टार्न धौ–धौ परेको गुनासो गर्छन् । उब्जनी गरेर खाने पर्याप्त जग्गाजमिन नभएका उनीहरू दैनिक मजदुरी गरेर पेट पाल्दै आएका छन् । 

‘मजदुरी गरेको दिन अगेनोमा आगो बल्छ, नत्र भोकै बस्नुपर्छ,’ स्थानीय रुपधनी सार्कीले भनिन्, ‘अहिले हामीलाई साह्रै समस्या छ । काम गरेको ज्याला कटाएर दुई साताअघि ल्याएको एक बोरा चामल सकिन लाग्यो । त्यसपछि त भोकै भइन्छ ।’ धनचन्द्रा सार्कीको पनि पीडा उस्तै छ । ‘घरमा भएको अलिअलि पनि सकिन लाग्यो, अब के खाने थाहा छैन,’ उनले भनिन्, ‘भारी बोकेर परिवार चलाएको थिएँ, अब काम पनि छैन, माम कहाँबाट पाउनु ?’ त्रिपुरासुन्दरीका रुल्ली, गल्ली, रुमलगायत गाउँमा दलित बस्तीमा भोकमरीको समस्या निम्तिन थालेको छ । 

लमजुङ : बेँसीसहर नगरपालिका–३ गाउँसहरका ३७ वर्षीय दामराज गुरुङ भारी बोक्ने र निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन् । चारजनाको परिवारमा कमाइ गर्ने उनी मात्रै हुन् । लकडाउनले काम रोकिनु र श्रीमती पनि सुत्केरी हुनु सँगसँगै भएपछि उनलाई आपत् परेको छ । ‘सुत्केरीलाई पोषिला खानेकुरा त परको कुरा दुई छाक भात दिन पनि धौ–धौ परेको छ,’ उनले भने । उनीसँगै काम गर्ने पाँचजनाको अवस्था उस्तै छ । धादिङबाट काम गर्न आएका गोरेलाल तामाङको परिवारमा पनि चारजना छन् । ट्र्याक्टरमा बालुवा लोड गर्ने उनले पनि अहिले परिवारलाई के खुवाएर पाल्ने भन्ने समस्या परेको बताए । बेँसीसहरमा समस्यामा परेका यी प्रतिनिधि पात्र मात्र हुन् । 
रसुवा : आमाछोदिङ्मो गाउँपालिका हाकुकी छुमेन्दो तामाङको परिवार ०७२ वैशाखको भूकम्पपछि विस्थापित भएर सदरमुकाम धुन्चे आइपुग्यो । सुरुमा त्रिपालमा बस्ने परिवार पछि सेनाले बनाइदिएको सामूहिक आवासमा बस्दै आएका छन् । गिटी कुटेर दैनिक निर्वाह गर्दै आएको चारजनाको परिवार फेरि समस्यामा परेको छ ।

‘भूकम्पले विस्थापित भइयो । ६ वर्षपछि बल्ल त्यो चोट बिर्सिंदै थियौँ । फेरि कोरोनाले गाँस नै खोसेको छ,’ छुमेन्दोले भनिन्, ‘ममी बूढी हुनुहुन्छ, काम गर्न सक्नुहुन्न । बहिनी अपांग छे । मेरो पनि सानो बच्चा छ । गिटी कुटेर जसोतसो छाक टारिएको थियो । अहिले त कहिले भटमास, कहिले खोले खानुपरेको छ ।’

उनीजस्तै सामूहिक आवासको एउटा कोठामा बसेका अपांगता भएका दम्पती चिते विक र सुकुलाल विकको पनि बिजोग भएको छ । उनीहरू वार्षिक आउने भत्ता र गाउँ समाजमा मागेर गुजारा चलाउँथे । तर, बन्दले माग्ने बाटो बन्द भएको छ । भूकम्पमा परेकी चिते विक राम्ररी हिँडडुल गर्न सक्दिनन् भने सुकुलाल पनि आँखा देख्दैनन् । ‘भत्ताको पैसा पनि सकियो, माग्न जाउँ भने घरबाट ननिस्किनु भन्छन्,’ सुकुलालले भने, ‘अब के खाने त ?’