१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नया पत्रिका बुटवल
२०७६ चैत २८ शुक्रबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

भिडियो कन्फ्रेन्समा बस्यो तिलोत्तमा नगरपालिकाको बैठक 

Read Time : < 1 मिनेट
नया पत्रिका बुटवल
२०७६ चैत २८ शुक्रबार १६:३८:००

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिका बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको छ । बैठकले कोरोना महामारीविरुद्धको पूर्वतयारीलाई अझै प्रभावकारी बनाउन लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको परिपालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

भिडियो कन्फ्रेन्समार्फत बसेको कार्यपालिकाको ८२औँ बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो । 

कोरोनाको कारण भिडियो कन्फ्रेन्सबाट गरिएको बैठकमा अधिकांश कार्यपालिका सदस्यहरू सहभागी थिए । 

नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमका अनुसार नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा नगरपालिका कार्यालयमा थिए भने अन्य कार्यपालिका सदस्यहरू आ–आफ्नो वडा कार्यालय तथा घरबाटै भिडियो कन्फ्रेन्स बैठकमा सहभागी भएका थिए । 

२८ सदस्यीय तिलोत्तमा नगरकार्यपालिकाको बैठक व्यक्तिबीचको दूरी कायम राख्ने सन्देशका लागि समेत भिडियो कन्फ्रेन्सबाट गरिएको नगरपालिकाले जनाएको छ । बैठकमा नगरप्रमुख वासुदेव घिमिरेले कोरोना पूर्वतयारीका सन्दर्भमा हालसम्म भएका कामहरूको बारेमा जानकारी गराएका थिए । उपप्रमुख जागेश्वरी चौधरीले राहत वितरणबारे जानकारी गराएकी थिइन् । 


बैठकले लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरीको क्रियाशीलता बढाउने, टोल विकास संस्थालाई परिचालन गर्नेलगायतका निर्णय गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कामहरू गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ ।

 नगर प्रमुखको अध्यक्षतामा गठित सदस्यहरूमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नेकपा तिलोत्तमा अध्यक्ष, नेपाली कांग्रेसका नगर सभापति, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख, प्रवक्ता, विपत् व्यवस्थापन समिति संयोजक, स्वास्थ्य शाखा संयोजक, तिलोत्तमा मिडिया क्लबका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा विपत् व्यवस्थापन समितिका सदस्य छन् ।