मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०६:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

फुटबल वरीयतामा नेपाल यथावत्

९ सय ७४ अंकका साथ नेपाल फिफा वरीयताको १७०औँ स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०६:५२:००

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय र घरेलु खेलकुद प्रतियोगिता ठप्प छन् । खेलकुद चलायमान नभएको अवस्थामा पनि फुटबलको सर्वोच्च निकाय फिफाले यस महिनाको वरीयता सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको वरीयतामा नेपालको स्थान अपरिवर्तित छ । फुटबलमा नेपाल १७०औँ स्थानमा छ । 

फिफाले २०२० को सिजनमा दुईपटक वरीयता सार्वजनिक गरेको छ । फेब्रुअरीमा नेपालले नौ सय ७४ वरीयता अंक बटुलेको थियो । यसपटक पनि नेपालको उही वरीयता अंक  छ । नेपालभन्दा एक स्थानमाथि सिंगापुर र एक स्थानतल इन्डोनेसिया छन् । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियाको वरीयतामा भारत शीर्ष स्थानमा छ । भारत ११ सय ८७ अंकसाथ दक्षिण एसियाको पहिलो नम्बर टोली बनेको छ । यसैगरी विश्व वरीयतामा भारत १०८औँ स्थानमा छ । 

यसैगरी माल्दिभ्स विश्व वरीयतामा १५५औँ स्थानमा छ । यसैगरी बंगलादेश नौ सय २२ अंकका साथ विश्व वरीयताको १८७औँ स्थानमा रहेको फिफाले जनाएको छ । पछिल्लो समय फिफा वरीयतामा सुधार गरेको भुटान १८९औँ स्थानमा छ । दक्षिण एसियाली राष्ट्र श्रीलंका सबैभन्दा पुछारमा छ । श्रीलंका २०६औँ स्थानमा रहँदा आठ सय ५३ अंक बटुलेको छ ।

एसियन वरीयतामा जापान शीर्ष स्थानमा छ । जापान विश्व वरीयतामा २८औँ स्थानमा छ । एसियन च्याम्पियन कतार विश्वमा ५५औँ र एसियामा चौथो स्थानमा रहेको छ । समग्रमा विश्वकै नम्बर एक टोली बेल्जियम नै बनेको छ । बेल्जियम १७ सय ६५ अंकका साथ शीर्ष स्थानमै रहेको फिफाले जनाएको छ । फिफाको शीर्ष १० मध्ये चार स्थानमा दक्षिण अमेरिकी राष्ट्रले कब्जा जमाएका छन् । त्यसपछि ६ स्थानमा युरोपियन राष्ट्रहरूले आधिपत्य जमाएका छन् ।